मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सदियौँदेखि कायम एकता भाँड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली

सदियौँदेखि कायम एकता भाँड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाडपर्व मनाएको देख्न नसक्ने तत्त्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन् ।

शनिबार अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातजाति, भाषाभाषी, धर्म, संस्कृति, पर्व, चाडपर्वका नाममा सदियौँदेखि कायम रहँदै आएको एकतालाई भाँड्ने तत्त्व सक्रिय रहेको बताएका हुन् ।

“यस्ता चाडपर्व मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्ने सल बलाएका छन्”, एमाले अध्यक्ष ओलीले भने, “यसरी सबै जातजातिका मानिस मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु र साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेसँग सचेत हुनुपर्छ ।”

सबै जातजाति एकै ठाउँ बसेको मन नपराउने, झगडा गराएर मारामार गर्न गराउन खोज्ने एकता विरोधीसँग सचेत हुँदै यस्ता साझा चाडपर्व उत्सवका रुपमा मनाउनुपर्ने उनले बताए । उनले हामी आफैँ आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने उल्लेख गर्दै देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड दिए ।

उनले भने, “हामीले आफैँले आफ्नो खुसी ल्याउनुपर्छ, अरुसँग खुसी सापटी खोजेर पाइँदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैँले ल्याउनुपर्छ, हाम्रो खुसी अरुले ल्याउँदैन, हामी सबैले चाह्यौँ भने हाम्रो खुसी आफैँ ल्याउन सक्छौँ ।”

मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द आउने क्षण रहेको भन्दै उनले खुसी देख्न नसक्नेसँग सचेत हुँदै सबै खुसीले मुस्कुराउने अवस्था ल्याउनुपर्ने बताए ।

अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाति एकै ठाउँमा बसेर रमाउँदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताइन् । कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुति प्रर्दशन गरिएको थियो ।