मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पछिल्ला प्रकरण सरकारको सुशासनका पाइला हुन् : प्रधानमन्त्री

पछिल्ला प्रकरण सरकारको सुशासनका पाइला हुन् : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयमा सरकारले भुटानी शरणार्थी प्रकरणदेखि लिएर ललिता निवास हुँदै ठूलो मात्रामा अवैधरूपमा विमानस्थलबाटै बाहिरिएको सुन पक्राउ प्रकरण सबै वर्तमान सरकारले सुशासनमा गरेको प्रत्याभूतिको सुरुआत भएको बताएका छन् ।

मंगलबार सरकारी निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले नेपाली नागरिकलाई विदेशी बनाएर विदेश पठाउनेजस्ता जघन्य अपराधका घटनामा संलग्न मानिसलाई पक्राउ गरी कारबाही गर्न नै सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको स्पष्ट पारे । उनले यस्तो अपराधमा संलग्नलाई सरकारले कारबाही गर्ने र यसको अनुसन्धानमा कुनै पनि कसर बाँकी नराख्ने पनि स्पष्ट गरे ।

प्रधानमन्त्री दाहालले भने, “म तेस्रो पटक प्रधानमन्त्री भएदेखि नै मुलुकमा जनतालाई सुशासन, न्याय र सेवाको प्रत्याभूति गर्छु भनेर प्रतिबद्धता व्यक्त गरेको हुँ र सरकारको सुशासनको अभियानको सुरुआत यस्ता भ्रष्टाचारका प्रकरणको छानबिनबाट नै थालेको हो, यसमा जनताले सरकारलाई धन्यवाद दिएकै छन् भन्ने मेरो बुझाइ छ ।”

त्यस्तै ललिता निवासको जग्गामा भएको अनियमितताको अर्को फाइल खोल्नुको कारण पनि त्यही भएको उनको भनाइ थियो । उनले भने, “पहिला नक्कली भुटानी प्रकरणको फाइल खोल्यौँ र त्यसबाट यस्तो अपराधमा समेत राज्यका कस्ता कस्ता निकाय, कर्मचारी तथा नेताहरू स्वयं संलग्न हुँदारहेछन् भन्ने देखियो र त्यसपछि देशमा भूमाफियाको जालो कस्तो रहेछ भन्ने कुराको अध्ययन ललिता निवासको फाइलबाट देखियो ।”

देशमा सरकारी जग्गालाई व्यक्ति व्यक्ति मिलेर, सेटिङ गरेर निजी बनाई कसरी अनियमितता गर्दा रहेछन् भन्ने कुराको अध्ययन गरी त्यस्ता व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गरेर यस्तो प्रवृत्तिलाई नै परास्त पार्नका लागि ललिता निवासको जग्गा अनियमितताको फाइल खोलिएको उनले बताए ।

यो अनुसन्धान देशमा भूमाफियाको चलखेललाई पूर्णतः रोक्ने र उनीहरूको जालो तोडेर सरकारी जग्गाको संरक्षण गर्ने अभियानको थालनीका लागि पनि ललिता निवासको जग्गा अनियमितता फाइल खोलिएको उनको स्पष्टीकरण थियो ।

प्रधानमन्त्री दाहालले भने, “यो त सरकारको सुशासनको थालनी हो र आगामी दिनमा यस्ता सरकारी जग्गा या अन्य अनियमितता जोडिएका धेरै फाइल खुल्न सक्छन् ।” त्यसपछि पछिल्लो पटक सुन प्रकरण आएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यी सबै प्रकरणमा सरकारले यो गर्नु या त्यो नगर्नु नभनेको र राज्यका सम्बन्धित निकायले बिना कुनै पक्षपात अनुसन्धान गरिरहेकाले दोषी पत्ता लगाएरै छोड्ने विश्वासमा आफू रहेको बताए ।

प्रधानमन्त्री दाहालले जनतालाई सुशासनको अनुभूति हुने गरी कार्यक्रम सरकारले ल्याएको, आफू पनि सोही कामका लागि दिन रात खटेको र जनताले सुशासन र सेवाको अनुभूति हुने गरी सरकारले काम गरेको उल्लेख गरे ।