मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

महिला औद्योगिक पार्कको सञ्जाल देशैभर आवश्यक : अर्थमन्त्री डा महत

महिला औद्योगिक पार्कको सञ्जाल देशैभर आवश्यक : अर्थमन्त्री डा महत

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा निर्माण भइरहेको नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्रामको सञ्जाल देशैभर विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

दक्षिण एसियाली महिला मञ्चले शुक्रबार काठमाडौैँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र यसको काम प्राथमिकताका साथ अघि बढाइने बताए । “महिला औद्योगिक पार्क निर्माणको काम अघि बढिसक्यो । यसलाई अब कसैले रोक्न सक्दैन । हेर्दा सामान्यजस्तो लाग्ने यो दूरगामी अवधारणासहितको परियोजना हो”, अर्थमन्त्री महतले भने, “महत्त्वपूर्ण सुरुआत भएको छ । यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।”

नेपालको ठूलो श्रमशक्ति विदेशिरहेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न र उत्पादन बढाउनका लागि यो औद्योगिक पार्कले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको उनको भनाइ थियो । ग्रामीण र आधुनिक अर्थतन्त्र निर्माणमा महिलाको भूमिका बढिरहेको र यसलाई राज्यले पनि प्राथमिकताका साथ प्रवद्र्धन गर्ने नीति लिएको अर्थमन्त्री डा महतले बताए ।

“देशैभरि लघुउद्यम व्यवसायमा महिलाको सहभागिता छ । घरघरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि सहभागिता बढ्दै गएको छ”, उनले भने, “अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । सूचना प्रविधि अर्को अवसरको क्षेत्र हो । महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।”

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क निर्माण भइरहेको छ । गत जेठ दोस्रो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो ।

नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूल बनाउनका लागि ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ लाई ब्रान्डका रुपमा प्रचार गरिने जनाइएको छ । यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो । यो औद्योगिक पार्कमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रित सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने जनाइएको छ । रासस