मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पार्टीभित्र विचार समूह हुन्छन्, त्यसलाई नकार्न सकिँदैन : उपसभापति खड्का

पार्टीभित्र विचार समूह हुन्छन्, त्यसलाई नकार्न सकिँदैन : उपसभापति खड्का

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विचार समूह हुने भएकाले त्यसलाई नकार्न नसकिने बताएका छन् ।

यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको प्रश्न जवाफ दिँदै उनले पार्टीमा फरक मत राख्ने अधिकार विधानमा भएको जानकारी गराउँदै उनले पार्टीले गरेको निर्णय गरिसकेपछि भने सबैले मान्नुपर्ने बताए ।

सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग सल्लाह गरेर नै बैठक फेसबुक पेजमार्फत लाइभ गरिएको बताउँदै उनले केन्द्रीय समितिको बैठक ढिलो गरी बसेको सन्दर्भमा स्पष्ट पार्दै यसबीचका भएका विभिन्न घटनाका कारण बैठक बस्न ढिला भएको जानकारी गराए ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको निर्वाचनमा तीनै तहमा कांग्रेस पहिलो पार्टी भएको बताउँदै उनले बैठकमा आएका सबै सुझावलाई सकारात्मक लिएर अघि बढ्नुपर्ने बताए । पार्टीका कार्यकारी पद भएकाले सभापतिसँग महामन्त्रीहरुको धेरैभन्दा धेरै समन्वय र छलफल हुनुपर्ने उनको धारणा थियो ।

कांग्रेसको नेतृत्वमै संविधानसभाको निर्वाचन सम्पन्न भएको र संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै उनले संविधान संशोधनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै संविधानको समसामयिक रुपमा संशोधन हुने कुरा उतिबेलै घोषणा गरिएको स्मरण गराए ।

विगत निर्वाचनमा टिकट वितरणमा आवश्यक छलफल भएको र सुझाव लिएको उल्लेख गर्दै उहाँले त्यसमा भएका कमीकमजोरीको जिम्मेवारी लिँदै आगामी दिनमा कमजोरी हुन नदिन प्रयास गर्ने बताए ।

सार्वजनिक रुपमा नेतृत्वको टिप्पणी गर्नुभन्दा पार्टीका सिद्धान्तको बहस महत्त्वपूर्ण हुने बताउँदै उपसभापति खड्काले कांग्रेसले आफ्नो एजेन्डामा कुनै सम्झौता नगर्ने र यसमा आफूहरू प्रस्ट रहेको उल्लेख गरे । सत्ता गठबन्धनका सीमा पनि आफूहरुले बुझेको उल्लेख गर्दै उहाँले यो गठबन्धन पाँच वर्ष लिएर अघि जाने र यसमा कुनै द्विविधा छैन भने ।

समाजवादी मोर्चाका सम्बन्धमा उहाँले आफूहरुको सहमति र सल्लाहमा नै गठन गरिएको जानकारी दिँदै यसलाई त्यही रुपमा बुझ्नुपर्ने बताए । उनले बैठकमा सरकारले विभिन्न कानुन निर्माणका बारेमा गरेका तयारीका बारेमा अवगत गराएका थिए । साथै उनले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका सम्बन्धमा चिकित्सकको सल्लाहअनुसार र सरकारको समन्वयमा नै विदेशमा उपचार गर्न लगिएको स्पष्ट पारे ।

सभापति देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारका सम्बन्धमा तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सहरी विकासमन्त्री सीता गुरुङले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण पेस गरेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक यही साउन १० गते अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस