मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा

सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा

हिमालय खबर

शेयर गर्नुहोस:

324
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झरेकी सीताको यही विवाह भयो । सन्तान यहीँ जन्मिए उनका उर्जाशील धेरै समय पनि चितवनै बित्यो ।

बाहिर चर्चा निकै कम भए पनि सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता प्रचण्डलाई सफल बनाउन सीता दाहालको भूमिका महत्त्वपूर्ण थियो । चितवन सीताका लागि माइती र घर दुवै थयो । यस हिसाबले उनी चितवनको छोरी मात्रै होइन बुहारी र आमा पनि थिइन् । दाहालकी माइली छोरी रेनु दाहाल यतिबेला भरतपुर महानगरपालिकाका प्रमुख रहेकी छन् ।

विसं २०११ साल असार २१ गते कास्कीको हेम्जामा (हालको पोखरा महानगरपालिका वडा नं २५) मा जन्मिएकी सीता छ वर्षको उमेरमा बुबाआमासँगै चितवन झरेकी थिइन् । पटिहानीको सुन्दरबस्तीमा उनीहरु बसोबास गरे । नजिकै शिवनगरको भीमसेन नगरका पुष्पकमल दाहालसँग उनको २०२६ सालमा विवाह भयो । तत्कालीन समयमा दाहाल प्रवेशिका परीक्षा मात्रै दिएका थिए ।

सीताका भाइ हेमराज पौडेलका अनुसार विसं २०३० सालमा प्रचण्ड गोरखा पढाउन जाँदै गर्दा सीता भने सासुससुरासँगै भीमसेननगरमै रहिन् । पौडेलका भनाइमा २०३० सालदेखि ३८ सालको बीचमा तीन छोरी र एक छोरालाई उनले जन्मदिइन् ।

पौडेलले भने “यही समयमा भिनाजु प्रचण्ड अर्धभूमिगत भएपछि निकै संघर्षका साथ दिदीले भान्जाभान्जी हुर्काउनुभयो ।” घरका सासु ससुरासँगै माइतकी आमाको सहयोगले छोरीछोरी हुर्काउन उनले सकिन् । संघर्षकै क्रममा २०४२ सालतिर प्रचण्ड परिवार काठमाडौँमा बस्न थाल्यो । माइली छोरी रेनु भने दुई वर्षको उमेरदेखि एसएलसीसम्मको पढाइ नसकिँदासम्म मामाघरमै बसिन् । ललितपुरको पाटन, गोङ्गबुलगायतका क्षेत्रमा भाडाका घरमा सङ्घर्षका साथ दिदीले भान्जाभान्जी हुर्काएको पौडेल स्मरण गर्छन् ।

“धनसम्पत्ति आर्जन गर्नेतर्फ कहिल्यै ध्यान नदिने सीता सर्वहारा वर्गको हितका लागि जहिल्यै पनि लाग्नुपर्छ भन्नुहुन्थ्यो”, पौडेलले स्मरण गर्दै भने, “दिदीले कहिल्यै आफ्नो दुःख सम्झनुभएन । सधैँ सर्वहारा वर्ग र महिलाका हकहितका पक्षमा कुरा गर्नुहुन्थ्यो ।”

जीवनको उत्तराद्र्धमा सीतालाई बुबाआमा बसेको र आफू हुर्किएको सुन्दर बस्तीमा घर बनाएर बस्न मन थियो । भान्जा भान्जीका लागि जग्गा पनि दिएको भन्दै पौडेलले पछि आफ्नै पैत्तृक सम्पत्तिमा घर बनाए पनि दिदी बस्न नपाएको बताए ।

भरतपुर महानगरपालिका वडा नं १४ भीमसेन नगरमा दाहाल परिवारले घर बनाएको छ । अघिल्लो निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि आफ्नै गृहजिल्लालाई राजनीतिक थलो बनाउन चाहेर घर बनाइएको थियो । श्रीमती सीताको इच्छासमेत पूरा गर्दै नयाँ घर बने पनि सीताले उक्त घरमा जम्मा तीन रात मात्रै बिताउन पाइन् । पौडेलले भने “घर बनाउने दिदीको इच्छा पूरा भए पनि बस्ने इच्छा पूरा हुन पाएन ।”

देश र विदेशले प्रचण्डलाई चिन्दै गर्दा सीतालाई धेरै कमले चिने । तर, चिन्नेहरु उनीसँग निकै निकट भएको देखिन्छ । विस २०५३ मा माइली छोरी रेनुसँग विवाह बन्धनमा बाँधिएका अर्जुन पाठक सीता आमाले तल्लो वर्गका नागरिकको पक्षमा लाग्न सबैलाई प्रेरणा दिने गरेको स्मरण गर्छन् ।

आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै नलाग्ने सीताले जनताको अधिकार प्रत्याभूतिका लागि सधैं लाग्न उत्प्रेरणा दिने गरेको उनको भनाइ छ । संविधानसभामार्फत् संविधान बनेपछि पनि संविधान प्रदत्त अधिकार आमनागरिकलाई दिलाउन लाग्न सबैसँग उनको आग्रह हुने गरेको पाठकले बताए ।

सादा र सादगी जीवन बिताउने सीता हक्की स्वभावकी थिइन् । प्रचण्डका बहिनी ज्वाई भक्तिराम अधिकारीले भने, “परिवारका सबैसँग उत्तिकै राम्रो सम्बन्ध दिदीले गर्नुहुन्थ्यो ।” परिवारको एउटा मियोका रुपमा दिदी सीता रहेको अधिकारीले स्मरण गरे । प्रचण्डलाई सफल बनाउनुको पछाडि सीताको महत्त्वपूर्ण साथ रहेको उनको बुझाइ छ ।

पछिल्लो एक दशकयता प्रचण्ड परिवारसँग निकट भएर काम गर्दै आएका पत्रकार सुरेशचन्द्र अधिकारीको बुझाइमा परिवारदेखि आमनागरिकसम्ममा सीताले प्रत्यक्ष अप्रत्यक्षरुपमा पुर्‍याएको योगदान आफैँमा महत्त्वपूर्ण छ । उनले भने, “आमा सीताले कहिल्यै कसैको कुभलो चिताउनु भएन ।”

प्रचण्डले महत्त्वपूर्ण निर्णय गर्नुपर्दा सीताकै सुझाव लिने गरेको अधिकारीको भनाइ छ । सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वाभावको असङ्ख्य पीडा सहन सक्ने महिला भएको अधिकारीको भनाइ छ ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको उनका निकटस्थहरु बताउँछन् । विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।

जनयुद्धसँगै उनका धेरै समय नेपालका ग्रामीण क्षेत्रसँगै भारतीय भूभागमा पनि बितेका छन् । ती अतितका सङ्घर्षका समयलाई सामना गर्दै आफ्नो जीवनको उत्तराद्र्धसम्म उनी अविचलित रहिन् ।

पछिल्लो समय बिरामी भएपछि भने उनी थलिएकी थिइन् । दुई साताअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारिवारिक सन्दर्भका कुरा गर्दैगर्दा भनेकी थिइन्, “काठमाडौँबाट साँझ बिहान बुबाको फोन आउँदै गर्दा झसङ्ग हुने गर्दछ । कतै आमालाई केही भयो कि भनेर झस्काइरहन्छ ।” नभन्दै बुधबार बिहान त्यही नमीठो खबर प्राप्त भयो । रासस