लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताएका छन् ।
लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको उद्घाटन गर्दै मन्त्री गुरूङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताए । “सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको छ”, उनले भने ।
धेरै व्यक्तिमाथि प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको मन्त्री गुरूङले बताए । सरकार अहिले कुनै पार्टीको नेतालाई समात्ने र फसाउने पक्षमा नरहेको उल्लेख गर्दै मन्त्री गुरूङले सही गलत छुट्टयाउने जिम्मा न्यायालयको भएको बताए । सरकारको कामलाई अतिरञ्जित गरेर सरकारलाई गाली गर्नु जायज नभएको उनको भनाइ थियो ।
“प्रतिवेदनमा कांग्रेस, एमालेलगायत अन्य राजनीतिक दलका व्यक्तिको नाम आएको छ भने पनि उनीहरुमाथि पनि अनुसन्धान हुन्छ”, मन्त्री गुरूङले भने, “केही दिनअघि मात्र कांग्रेस उपसभापति धनराज गुरूङसँग सोधखोज गरिएको छ ।”
देशमा भ्रष्टाचार मौलायो भन्नेहरु नै भ्रष्टाचार हो कि होइन भनेर छानबिन गर्दैगर्दा अनुसन्धान प्रभावित पार्नेगरी नाराजुलस लगाइरहेका मन्त्री गुरूङले बताए ।
फरक प्रसङ्गमा मन्त्री गुरूङले देशको सूचना प्रविधि आइटी क्षेत्रको विकासको सुरुआत लमजुङबाट गरिने बताए । नेपाललाई आइटी क्षेत्रका लागि उद्योगका रुपमा विकास गरेर करिब तीन लाख युवालाई रोजगार दिने काममा आफू लागिरहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया