मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
मुख्य समाचार   

एनआरएनभित्र अर्को गन्धे खेल

एनआरएनभित्र अर्को गन्धे खेल

क्षेत्रीय पदाधिकारीहरुको सदस्यता रद्ध गराउने प्रपञ्च


अमेरिका ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र अर्को गन्धे खेल सुरु भएको छ ।

एनआरएन अमेरिकाज क्षेत्रका तीन जना पदाधिकारीहरुको सदस्यता नवीकरण सिफारिस रोकेर वर्तमान एनआरएन अमेरिकाको कार्यसमितिले दुर्गन्धित खेलको सुरुवात गरेको छ । एनआरएन अमेरिकाज क्षेत्रका संयोजक प्रकाश सापकोटा र सहसंयोजकद्वय पुरुषोत्तम बोहोरा र पशुपति पाण्डेको सदस्यता नवीकरणको सिफारिस रोकिएको छ ।

तीनैजना विगतदेखिनै संघको आजीवन सदस्य छन् । एनआरएनको नयाँ सदस्यता नीति अनुसार आजीवन सदस्यहरुको अद्यावधिक रिपोर्ट राष्ट्रिय समितिले अन्तर्राष्ट्रिय समितिलाई पठाउनुपर्ने हुन्छ । यसरी विवरण पठाउँदा तीनजनाको नाम नियतवशः छुटाएर पठाएको पाइएको छ ।

उल्लेखित पदाधिकारीहरुमध्य पाण्डे पूर्ब कार्यसमितिका महासचिव समेत हुन् । ‘यो हदैसम्मको पूर्वाग्रही सोच हो । यसले एनआरएनप्रति अहिले जनमानसमा व्याप्त गुनासो, घृणालाई अझै मलजल गर्ने काम बुद्धि सुवेदी नेतृत्वको एनआरएनए अमेरिकाले गरेको छ’ अमेरिकाज क्षेत्रका सहसंयोजक बोहोराले भने ।

विशेषगरि एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, महासचिव अञ्जनकुमार चौलागाई र कोषाध्यक्ष राजीव श्रेष्ठले नियतवशः तीनजनाको सदस्यताको विवरण नपठाएर निहुँ खोजेको पाइएको छ । ‘यति महत्वपूर्ण विषयमा नत बैठकमा कुरा उठेको थियो, नत कुनै निर्णय भएको मेरो जानकारीमा छ’ संघका उपाध्यक्ष विकास उप्रेतीले भने ।

विगतमा सदस्यता शुल्क तिर्न आनाकानी गर्दा आइसिसीमा कारवाहीका लागि सिफारिस गरेको पूर्वाग्रह साँध्ने नियतले सदस्यता नविकरणका लागि विवरण नपठाएको तथ्य बाहिरिएको छ । एनआरएनले सधैंभरि झैझगडा र विवाद गर्ने संस्थाका रुपमा आम प्रवासी नेपाली समुदायबीच पहिचान बनाइरहेको छ । विगतमा न्यूयोर्कमा भएको झगडा, काठमाडौंमा भएको आइसिसी सम्मेलनका क्रममा देखिएको विवाद र त्यसले निम्त्याएको तीन अध्यक्षको प्रावधानले संस्थाप्रति धेरैको निराशा र व्यापक गुनासो छ । पटक पटक निम्तिने विवाद र नेपालको राजनीतिक दलका नेताहरुको इसारामा हिँड्ने कारणले गर्दा एनआरएनको सदस्यताप्रति प्रवासीहरुले खासै चासो देखाउन छाडेका छन् ।

हालैमात्र सतहमा आएको एनआरएनका तीनजना पदाधिकारीहरुको सदस्यता नियतवशः रद्ध गराउने कार्यले संस्थाप्रति एकातिर विवाद बढ्ने संकेत देखिएको छ भने अर्कातिर आइसिसीले समेत कारवाहीको डण्डा बर्षाउने संभावना बढेको छ ।

यो विषयमा प्रतिकृयाका लागि एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीसँग पटक पटक फोन सम्पर्क गर्दा पनि उनले रेस्पोन्स गरेनन् । उपाध्यक्ष विकास उप्रेतीले भने यो विषयमा अाफूलाई जानकारी नभएको बताए । ‘मलाई यो विषयमा कुनै जानकारी छैन, यदी हामी पदाधिकारीलाई समेत गुमराहमा राखेर कुनै कचहरीले अवान्धित निर्णय गरेको रहेछ भने त्यो कार्य संस्थाका लागि दुर्भाग्य हुनेछ’ उनले भने । वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्त र उपाध्यक्ष सुमन थापाले समेत यो घटना देखिनु दुःखद भएको उल्लेख गर्दै बैठकमा कुनै एजेण्डा समेत नभएको बताए । ‘चुनावको मुखमा आएर आजीवन सदस्यहरूको सदस्यता नवीकरण गर्न सिफारिस नहुनु दुःखद हो । यदी नियतसाथ गरिएको हो भने यसमा संलग्नहरूका लागि यो घटना भारी पर्नेछ’ दुबैले भने ।

स्रोतले उपलव्ध गराएको विवरण अनुसार संघका कोषाध्यक्ष राजीव श्रेष्ठले आइसिसीका सूचना प्रविधि प्रमुख महेश श्रेष्ठलाई पठाएको इमेलमा क्षेत्रीय संयोजक सापकोटाले विधान र संस्थाको हित विपरित कार्य गरेको आरोप लगाइएको छ । उक्त इमेलको भाषा बुझ्दा उपाध्यक्ष श्रेष्ठले सोधेको स्पष्टीकरणको जवाफ दिएको जस्तो देखिन्छ ।