काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रको अवलोकन गरेका छन् । पहिलो खप्तड अन्तर्राष्टिय अध्यात्मिक सम्मेलनको उद्घाटन गर्न खप्तड क्षेत्र पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रलाई अन्तर्राष्ट्रिय महत्त्वको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुदूरपश्चिमाञ्चल प्रदेशको समग्र विकासका लागि नयाँ ढङ्गले लागिपरेको बताउँदै उनले खप्तडको विकासका लागि प्रतिष्ठान वा कोष बनाउने घोषणा गरे ।
सुदूरपश्चिमको विकासका लागि स्वास्थ्यविज्ञान विश्वविद्यालयको मन्त्रीस्तरीय निर्णयदेखि सीपमा पुलहरु, सुक्खा बन्दरगाहदेखि अन्य आयोजनाहरुलाई महत्त्व दिएको बताउँदै उनले पर्यटनको उच्च सम्भावना बोकेको सुदूरपश्चिमका विभिन्न क्षेत्रहरुको विकासमार्फत प्रदेशको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।
‘बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने छ’, उनले भने, ‘खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिसकेको छ । खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ । त्यसपछि पर्यटकको ओइरो लाग्नेछ ।’
प्रतिक्रिया