मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

लोकतन्त्र क्षयीकरण हुन थालेकोप्रति नागरिक अगुवाको चिन्ता

लोकतन्त्र क्षयीकरण हुन थालेकोप्रति नागरिक अगुवाको चिन्ता

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नागरिक समाजका अगुवाले भ्रष्टाचारका कारण लोकतन्त्र क्षयीकरण हुनथालेकाले लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि भ्रष्टाचारविरुद्धको अभियानमा सहभागिताका लागि आह्वान गरेका छन् ।

मानवअधिकार तथा शान्ति समाजद्वारा २८औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेले भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयीकरण हुन थालेकोप्रति चिन्ता व्यक्त गरे ।

“मानवअधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयक गोष्ठीमा उहाँले लोकतन्त्रको विकल्प खोज्न नहुने र भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्न ढिलो गर्न नहुने बताए ।

नागरिक अगुवा कृष्ण पहाडीले शीर्ष नेता भ्रष्ट भएका कारण नागरिकमा निराशा बढ्दै गएको भन्दै भ्रष्ट नेतालाई कारबाही गरी लोकतन्त्र बचाउनुपर्ने बताए। समाजका कावा सभापति कृष्णबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव रेनुका पौडेलले शान्ति समाजद्वारा तयार गरिएको “मानवअधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” शीर्षकको अवधारणापत्र प्रस्तुत गरेका थिए ।

अवधारणापत्रमा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय, जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य, स्वयंसेवी÷स्वाबलम्बी अन्दोलन, मानवताको उच्चतम अभिव्यक्ति उपशीर्षकमा शान्ति समाजको कार्यक्षेत्र र वर्तमान सन्दर्भमा केन्द्रित अभियानबारे प्रकाश पारिएको छ ।

कार्यक्रममा नागरिक अगुवा डा केदारनरसिंह केसी, समाजका पूर्वसभापति तथा सल्लाहकारद्वय उत्तम पुडासैनी र गोविन्द खनाल, पूर्वसभापतिहरु डा गङ्गाधर अधिकारी र होमकान्त चौलागाई, कोषाध्यक्ष किरण ढकालले भ्रष्टाचार न्यूनीकरण अभियानमा सबैको एक मत हुनुपर्नेमा जोड दिए । स्रष्टा अर्जुन पराजुली, रामबहादुर पहाडी, रामेश्वरी पन्त र रत्ननीधि रेग्मीले भ्रष्टाचारविरुद्ध कविता प्रस्तुत गरेका थिए ।

शान्ति समाज स्थापना दिवसका अवसरमा जेठ १६ गतेदेखि विभिन्न जिल्लामा सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान, पुस्तकदान, वस्त्रदानलगायत दर्जनौँ कार्यक्रम सम्पन्न भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्न जोड दिँदै शान्ति समाजले सुरु गरेको अभियानअन्तर्गत विभिन्न जिल्लामा प्रदर्शन भइसकेको छ । शान्ति समाज पाल्पा शाखाले निरन्तर १७ वटा प्रदर्शन गरेको छ । विसं २०५३ जेठ १९ गते मानवअधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । यसको संस्थापक सभापति कृष्ण पहाडी हुन् ।