मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबको मिसन ‘सुशासन’ : मन्त्री गुरूङ

अबको मिसन ‘सुशासन’ : मन्त्री गुरूङ

हिमालय खबर

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले अबको बाटो सुशासनको भएको बताएका छन् ।

कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई शुक्रबार स्याङ्जाको बयरघारीमा सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

“भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ, कारबाही हुनैपर्छ”, उनले भने, “अनुसन्धानलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाऔँ, दोषी कोही उम्किन नपाउन् ।” भुटानी शरणार्थीलगायत फाइलमा आफूहरुले प्रधानमन्त्रीलाई साथ दिएको दाबी गर्दै उनले यस अभियानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

“भ्रष्टाचार प्रवृत्तिको अन्त्य गर्दै देशलाई अब सुशासनको बाटोमा लैजानु आवश्यक छ”, उनले भने, “देशमा सुशासन भएको प्रत्याभूति जनतालाई दिनुपर्ने भएकाले अब बोलेर हैन कामबाट देखाउनुपर्ने बेला आएको छ ।”

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैरआवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुरा समेटिएको उनले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य राजु थापाले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि कांग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारबाही भएरै छाड्ने बताए । भ्रष्टाचारीलाई कांग्रेसले ढाकछोप गर्ने, बोक्ने होइन, बरु अनुसन्धान प्रक्रियामा सघाउने उनले बताए ।

नागरिकता विधेयक अहिलेको आवश्यकता भएको दाबी गर्दै यसबारे पढेर, बुझेरमात्रै गाउँगाउँमा रहेका नागरिकलाई बुझाउन उनले आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, नगर तहका नेता कार्यकर्ताले आ–आफ्नो धारणाहरु व्यक्त गरेका थिए । रासस