मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण, मधेशकेन्द्रित दलहरुको स्वागत

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण, मधेशकेन्द्रित दलहरुको स्वागत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकामा तराई–मधेश केन्द्रित राजनीतिक दलहरूले स्वागत गरेका छन् ।

राष्ट्रपतिले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेकामा स्वागत गर्दै ती दलले राष्ट्रपतिको सराहनीय कार्य रहेको भन्दै धन्यवाद पनि व्यक्त गरेका छन् । सम्बन्धित दलले छुट्टाछुट्टै विज्ञप्ति निकालेर राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको स्वागत जनाएका हुन् । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै विभिन्न मधेस केन्द्रित दलका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरणसँगै नागरिकतासम्बन्धी सबै समस्या समाधान हुने विश्वास व्यक्तसमेत गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागत योग्य रहेको भन्दै यसले नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुने विश्वास व्यक्त गरे । उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष यादवले नागरिकताका लागि लामो सङ्घर्ष गर्नुपरेको भन्दै मधेसमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति सडकदेखि सदनसम्म सङ्घर्ष गरेको उल्लेख गरे । उनले भने, “संसद्बाट दुईरदुई पटक पास भएको विधेयक राष्ट्रपतिकहाँ पुगेर अड्किएको थियो । अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकाले अब नागरिकतासम्बन्धी सबै समस्या समाधान हुने विश्वास लिएको छ ।”

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपतिबाट प्रमाणित भएको नागरिकता विधेयक स्वागतयोग्य काम भएको बताए । उनले भने, “राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको छ, यो सराहनीय कार्य हो । यो पहिल्यै हुनुपर्ने थियो, ढिलो भए पनि राम्रो भएको छ ।” नेता महतोले संविधानले नै कल्पना गरेको विषय समयमा कार्यान्वयन हुँदा नागरिकताविहीनले धेरै समस्या भोग्नुपरेको उल्लेख गरे ।

लोसपाका अर्का नेता राजकिशोर यादवले नागरिकता नपाएर पीडामा रहेका नागरिकले नागरिक पाउने गरी नागरिकता विधेयक प्रमाणीकरण राम्रो काम भएको भन्दै नेपाल सरकार र राष्ट्रपतिलाई धन्यावाद ज्ञापन गरे । “संविधानमा रहेको व्यवस्थाअनुरुप संसद्बाट दुई–दुई पारित भएर गएको नागरिकता विधेयक अड्किएको थियो, अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेर सराहनीय काम गर्नुभएको छ, यसले नागरिकतासम्बन्धी समस्या समाधान हुने विश्वास छ”, नेता यादवले भने ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकामा पार्टीले स्वागतसहित धन्यवाद दिएको बताए । “सरकारले चालेको यो राम्रो कदमबाट अनागरिकले नागरिकता पाउने भएका छन् । संविधानप्रदत्त धकिारको कार्यान्वयन भएको छ । ढिलै भए पनि हामी खुसी छौँ”, उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हालसम्म उक्त विधेयक ऐन बन्नका लागि प्रमाणीकरण नभएकाले विभिन्न अवस्था र स्थितिसमेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको यही जेठ १२ गतेको निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्को कार्यालयको पत्रबाट लेखी आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गत २०७९ साउन १५ गते प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको थियो ।

प्रतिनिधिसभाका तत्कालीन सभामुखबाट साउन १५ गते प्रमाणित गरी तत्कालीन राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको थियो । केही विषयमा ध्यानाकर्षणसहित पुनः विचारका लागि सङ्घीय संसद्मा फिर्ता पठाइएकामा ध्यानाकर्षण गराइएका विषयमा सङ्घीय संसद्का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः भदौ २० गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । रासस