भुटानी शरणार्थी काण्डले हामीलाई ऐना उपहार दिएर गएको छ। त्यसको प्रयोग गर्नु नगर्नु हाम्रै हातमा छ। ऐना त हामीलाई लाउडा काण्डले पनि दिएको थियो। ऐना त हामीलाई ओम्नीले पनि दिएको थियो। ऐना त हामीलाई बाइडबडीले पनि दिएको थियो,ऐना त हामीलाई केन्टोनमेन्टले पनि दिएको थियो। ऐना त हामीलाइ कोविडका बेला थर्मामिटर काण्डले पनि दिएको थियो। ऐना त हामीलाई कोविड पछी रिइन्सुरेन्स कम्पनीले पनि दिएको थियो,ऐना त हामीलाई १२ भाइ कान्डले पनि दिएको थियो,ऐना त ऐनसेल पनि दिएको थियो,ऐना त हामीलाई अब धेरै चाडै नया स्टक एक्सचेन्स कम्पनीको ठेक्काले पनि दिनेछ,ऐना त हामीलाई…( लिस्ट जति तन्काए हुन्छ )
नेपालमा ऐनाको न कुनै कमी थियो। न छ। कुन ऐना हेर्ने ? कुन नहेर्ने ? सवाल त्यतिमात्र हो।
ईतिहासको बोध भएको हुनाले मलाई हतारो हुन्न। म ती अगुवाहरुमा पर्न सक्दिन जो केही बर्ष अघि संवैधानिक निकायका प्रमुख वा सदस्य भए बापत सुविधा भोग गर्दै थिए । र आज ‘अभियुक्तलाई सडकमा घिसारेर न्याय दिने’ कुरा गर्छन ।
के यो संविधानको आयु सकिन लागेको हो ? के न्याय दिने संस्थाहरु मरीसकेका हुन ? कुनै युवाले वा कहिल्यै कुनै संवैधानिक पदमा नबसेको मान्छेले ‘सडकमा धिसार्ने’ कुरा गर्दा उस्को आवेगलाई बुझ्न पनि सकिएला । तर ‘ओहदाधारी’ र राज्यकोषबाट पेन्सन पट्टाधारीबाट समाजले न्युनतम अपेक्षा राखेको हुन्छ।
न्याय म पनि चाहन्छु। तर न्याय मेरो लागी संज्ञा (Noun) होइन, क्रिया (Verb) हो। त्यसैले त २०४६ सालको आन्दोलन अघि आफ्नो बिवेकको आवाजमा नेपाल टेलिभिजन स्वेच्छाले छोडे । ६२ सालमा सरकारी टेलिभिजनको छदाखादाको काम आफै छोडे ।
यतिका बर्ष पछी, जब आज म सक्रिय पत्रकारितामा छुइन, अर्ध-अवकाश जीवनको आनन्द लिदैछु – कयौ जिज्ञाषा छन मेरो मनमा पनि – शुशासन र भ्रष्टाचार बिषयमा ।
आजको खुल्ला र अराजक वातावरणमा यस बिषयमा चर्को लेख्ने बोल्ने कयौ त सायद जन्मेका पनि थिएनन, जब हामी ‘साप्ताहिक बिमर्श’ मा थियौ। जब बिसंगति बिरुद्ध आवाज उठाए बापत हाम्रा सम्पादकलाई गोली हानिएको थियो। जब म बीर अस्पतालमा उनको बेड छेउ स्टुलमा रातभर कुरेर बसे। वा , जब कालान्तरमा हामीले कान्तिपुर प्रकाशनको ‘नेपाल’ पत्रिका को संस्थापक सम्पादकका हैसियतले ‘लाउडा प्रकरण’ मा निरन्तर आवाज उठायौ ..
‘लाउडा’ कुनै सामान्य प्रकरण थिएन, बहालवाल प्रधानमंत्री मुछिएका थिए त्यसमा । बिगतका धेरै उदाहरण दिन सकिन्छ यस्तै खाले .. तर बिगत जतिसुकै सौर्यवान भए पनि त्यसले वर्तमानको बोझ थाम्न सक्दैन। बर्तमानको बोझ बर्तमानले नै थाम्नु पर्छ। यो नै प्रकृतिको रित हो ।
तर एउटा कुराको हेक्का राख्नु पर्छ – जिम्मेवारीको बोझ एक कांधबाट अर्को कांधमा सार्ने बेला सहजतापुर्वक त्यो गर्न सकिएन भने – पुरै घैटो फुटने जोखिम पनि हुन्छ । नया र पुराना दुबै कांध बेकम्मा , जिल्लाराम र चिल्लाराम हुन सक्छन । दुधको मलाई खाने बेला , न ‘नया’ , न पुरानो ; कुनै तेस्रो आइपुग्छ ..
अ , सुनयनाको लामो पत्र आएको छ । उनको आग्रह छ – म भुटानी शरणार्थी प्रकरणबारे केही लेखौ , पोडकास्ट गरौ । मलाई लाग्छ उनको अपेक्षा जायज़ हो ।
प्रिय सुनयना, तिम्रो अनुरोध टार्न मलाई गाह्रो लाग्छ । तिमी उदाउन लागेको सुर्य हौ । म अस्ताउन बेलाको घाम हु । तर मलाई सिकाइएको छ – ‘ उदाउन लागेको सुर्यको रंग रातो हुन्छ। अस्ताउन थालेको सुर्यको रंग पनि रातै हुन्छ । प्रज्ञावान मान्छेका लागी, उदाउनु र अस्ताउनु एकै हो । ‘
भुटानी शरणार्थी प्रकरणबारे लेख्न तिमीले गरेको अनुरोध मलाई स्विकार्य छ, सदा झै । चार , छ दिन लाग्ला । अल्छी छु । आलस्य पछी जति समय बाकी रहन्छ – त्यो पनि मेरा अन्य प्राथमिकताहरुमा खर्च हुन्छ ।
तर पनि केही यस्तो लेखौला, तिमीलाई बिर्सन अलि समय लाग्नेछ । शिर्षक चाही आजै भनी हालौ । यसै पनि टेलर र फिलिम देखाउनेको जमाना छ। एउटा टेलर हाम्रो पनि जाओस न । मेरो शिर्षक हुनेछ– सत्य सहने साहस छ भने !
आजलाइ यत्तिनै । आज मरनिङ वाक जान बाकी छ । छानामा परेवा दाना पर्खी बसेका छन , मलाई देख्ने बित्तिकै खुसी हुन्छन । मेरो स्वान्तसुखायका लागी त्यो बढी महत्वपूर्ण छ …
प्रतिक्रिया