काठमाडौँ । नेकपा (एमाले)ले मुलुकको पछिल्लो शान्ति सुरक्षाबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।
एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुर्व्यवहारको प्रयास र काठमाडौँ वडा नं ६ सरस्वतीनगरमा एक जना महिलाको हत्या भएको सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।
नेता भट्टराईले गृहमन्त्री श्रेष्ठलाई भेटी अध्यक्ष ओलीमाथि दुर्व्यवहारको प्रयास गर्नेलाई छिटोभन्दा छिटो कानुनी दायरमा ल्याएर कारबाहीको माग गरे । उनले अध्यक्ष ओली आफ्नो गृहजिल्ला जाँदा गरिएको दुर्व्यवहार सम्बन्धमा गृहमन्त्री श्रेष्ठसँग आपत्ति जनाएकोसमेत बताए ।
यसैगरी काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा यही वैशाख ७ गते दिनदहाडै एक जना महिलाको हत्या गरिएको सम्बन्धमा चाँडै सत्यतथ्य ल्याउनसमेत मन्त्री श्रेष्ठसँग माग गरिएको उनले बताए ।
नेता भट्टराईका अनुसार भेटमा गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि दुर्व्यवहार गर्नेलाई खोजी कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । गृहमन्त्रीले घटनाका सम्बन्धमा चाँडै नै सत्यतथ्य बाहिर ल्याउने वचन दिएको उनले बताए ।
“गृहमन्त्रीले दुवै विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ । कानून हातमा लिनेलाई मेरै पार्टीका व्यक्ति भए पनि छुट दिने छैन भनेर हामीलाई वचन दिनुभएको छ”, नेता भट्टराईले भने ।
गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीमाथि हिजो बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उछृङ्खल समूहबाट दुर्व्यवहारको प्रयास भएको थियो ।
प्रतिक्रिया