मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मुख्य समाचार   

प्रसाद २ : मायाभन्दा ठूलो नै के छ र…!

प्रसाद २ : मायाभन्दा ठूलो नै के छ र…!

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ । सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि उनीहरूले माया नै ठूलो ठान्छन् । यद्यपि उनीहरूको अन्तरजातीय प्रेमलाई समाजले स्वीकार्दैन । पेसागत रूपमा कपडा सिलाउने बाबुरामसँग गाउँले मुखियाले आफ्नी छोरी नारायणीको सम्बन्ध स्वीकार्दैनन् । फलतः प्रेमलाई संसार मानेको जोडी गाउँबाट सहर पस्छन् ।

शिक्षित समाज भनिएको सहरमा सामाजिक विभेद र निःसन्तान दम्पतीको पीडाबाट गुज्रिएका बाबुराम र नारायणीले नसोचेको घटनाको सामना गर्छन् । आफ्नै गाउँलेबाट सहरमा बलात्कृत भएकी नारायणीको जीवनमा झनै पीडा थपिन्छ । नारायणीबाट जन्मिएको बच्चालाई बाबुरामले ‘प्रसाद’ को रूपमा ग्रहण गर्छन् ।

चलचित्रका लेखक सुशील पौडेलले नारायणीबाट जन्म भएको सन्तान बाबुरामले प्रसादको रूपमा स्वीकारेको बताए । “मन्दिरमा चढाइएको फलफूल कसरी त्यहाँसम्म आइपुग्यो भन्ने सोचिँदैन, तर मन्दिरबाट दिइने त्यही फल भक्तजनका लागि प्रसाद हुन्छ । बाबुरामले पनि नारायणीको कोखलाई मन्दिर मानेका छन्”, लेखक पौडेलले भने । उनको लेखन रहेको ‘प्रसाद’ को दोस्रो शृङ्खला प्रदर्शनको तयारीमा छ । निर्माणको समयदेखि नै विभिन्न कठिनाइलाई झेल्दै यो आउँदो वैशाख १५ मा प्रदर्शन हुँदैछ ।

‘प्रसाद २’ मा निर्देशक फेरिएका छन् । कलाकार पनि फेरिएका छन् । यसको कथा अघिल्लो चलचित्र सकिएकै स्थानबाट अगाडि बढेको लेखक पौडेलले जानकारी दिए । “अनुहार फेरिएका छन् । तर पात्र र परिवेश उही हो । त्यसैले हामीले यसलाई शृङ्खलाबद्ध रूपमै अगाडि बढाएका छौँ”, लेखक पौडेलले भने । त्यसो त ‘प्रसाद’ का निर्देशक दिनेश राउतले कथा अगाडि बढ्ने परिस्थिति नरहेको भन्दै निर्देशन नगर्ने घोषणा गर्नुभएको थियो । त्यही कारण दोस्रो शृङ्खलालाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

“पहिलो शृङ्खलामा प्रेम गरेवापत जातीय विभेदकै कारण चलचित्रको मुख्य पात्र बाबुराम र नारायणीले गाउँ छोडेर सहर बसाइँ सर्न बाध्य भए । तर सहरमा घटेको घटनाले उनीहरूलाई भाग्नु समाधान होइन भन्ने ज्ञान दियो”, लेखक पौडेलले भने, “देशमा राजनीतिक परिवर्तन आइसकेपछि राज्यको भरोसामा उनीहरू गाउँमा गएर आफ्नो अस्तित्वलाई परिभाषित गर्न खोजे । उनीहरूको अन्तरजातीय र वर्गीय सङ्घर्ष तथा बाँकी जीवनलाई देखाउन हामीले दोस्रो शृङ्खला तयार गरेका हौँ ।”

चलचित्रमा अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेकी छन् । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् ।

देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिएता पनि त्यहाँ विभेद कायम नै छ । कानूनीरूपमा अधिकार प्राप्त गरेता पनि सामाजिक हिसाबले बाबुराम र नारायणीलाई सहज छैन । “प्रसादमा दम्पतीको आन्तरिक कथा थियो भने दोस्रो शृङ्खलामा सामाजिक कथा देखाएका छौँ । गाउँमा सामाजिक चेतनाको स्तर बढाउन आएका दम्पतीले के कस्ता समस्याको सामना गर्छन् भन्ने घटनाक्रम देखाएका छौँ”, लेखक पौडेलले भने, “हामीले पहिलो चलचित्रको सफलताले नयाँ बनाएका होइनौँ । यो कथा भन्नुपर्छ भन्ने लागेर तयार गरेका हौँ ।” मूलकथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ ।

यो कथा आफूद्वारा भनिनुपर्छ भन्ने लागेर नै निर्देशनको लागि सहमत भएको निर्देशक थापाले जानकारी दिए । “मेरो लागि पात्र, परिवेश सबै नयाँ थियो । यो कथालाई मैले न्याय दिनसक्छु भन्ने लागेर नै निर्देशन गरेको हुँ । संविधानतः नेपाल सबै जातको फूलबारी भनिए पनि व्यवहारतः त्यसो हुन सकिरहेको छैन । यसलाई हामीले प्रस्तुत गरेका छौँ”, निर्देशक थापाले भने । प्राय सहरिया प्रेमकथालाई चलचित्रमा प्रस्तुत गर्नुहुने निर्देशक थापाले यसपटक भिन्न परिवेशलाई पर्दामा देखाउनु हुनेछ ।

उनले चलचित्र बनाउने प्रक्रियामा आफ्नोपन दिएको बताए । “यसको निर्माणशैली मेरोअनुसार छ । तर, कथामा मौलिकता छ । यसमा हाम्रै समाजलाई चित्रण गरेका छौँ । सरल कथा र प्रस्तुति छ”, निर्देशक थापाले भने, “बाहिरी रूपमा देखिएका उतारचढावले चलचित्रलाई असर गरेको छैन । मैले सोचे जस्तो चलचित्र बनाउन सफल भएको छु । धन्दापछि मैले फरक शैली रोजेको हुँ ।”

गाउँ पुगेर बाबुराम राजनीतिमा होमिनुको कारण नै परिवर्तनलाई संस्थागत गर्नु रहेको लेखक पौडेलले जानकारी दिए । चलचित्रमै सत्ताले शक्ति निर्माण गर्छ भनिएको छ । “शक्ति आर्जन गरेर न्यायको बाटो छोटो बनाउने प्रयासमा बाबुराम रहेका छन् । उनी गाउँ फर्किंदा राजनीति गर्ने उद्देश्य बोकेर आएका होइनन् । तर लक्ष्य पूरा गर्न त्यही बाटो हिँड्न बाध्य हुन्छन्”, लेखक पौडेलले भने । यसको मूलकथा राजनीति होइन । यो यात्राको सहयात्रा मात्र हो । सहरमा विभिन्न घटनाक्रमलाई झेलेका बाबुराम दम्पतीले गाउँको सामाजिक विभेदको सामना कसरी गर्छन् ? उनीहरू सामाजिकसँगै पारिवारिक लडाइमा सफल हुन्छन् वा असफल ? यो थाहा पाउन चलचित्र नै हेर्नुपर्छ ।

“बाबुराम दम्पती बलियो बनेका छन् । अडानका साथ जन्मथलो फर्किएका छन् । त्यो अडानलाई सामाजिक विभेदले टिक्न दिन्छ त ? यहाँ बाबुराम दम्पतीले आफ्नो मात्र नभई धेरै प्रसादको लागि सङ्घर्ष गरेका छन् । त्यसलाई हामीले चलचित्रको स्वरूप दिएका छौँ”, निर्देशक थापाले भने ।

कलात्मक पक्ष सशक्त रहेको चलचित्र ‘प्रसाद २’ को सार्वजनिक प्रचार सामग्रीले व्यावसायिक पाटोलाई उत्तिकै सवाल रूपमा उजागर गरेको छ । यसमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपालले अभिनय गर्नुभएको छ । चलचित्रमा राजेश श्रेष्ठले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन, राजनराज सिवाकोटीले सङ्गीतको जिम्मेवारी सम्हालेका छन् । सुदर्शन बस्नेत निर्माता रहेको चलचित्रको प्रस्तुतकर्तामा सुभाष थापा छन् । रासस