मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ड्यालसमा वृद्ध बा-आमाको पिकनिक

ड्यालसमा वृद्ध बा-आमाको पिकनिक

'यहाँ पनि अर्को नेपालनै रहेछ'


ड्यालस (अमेरिका) । त्रिभुवन विश्वविद्यालयको जनसंख्या शिक्षा विभागको प्राध्यापकबाट उमेर हदले अवकाश पाएका प्रोफेसर डा. रामशरण पाठक शनिबार असाध्यै रमाइलो महसुस गरिरहेका थिए । आफ्नै उमेर समूहका व्यक्तिहरु र नेपालमा सरकारी सेवामा बिभिन्न पदमा रहेर सेवा गरिरहेका व्यक्तिहरुसँग घरि एउटा कुना र घरि अर्को कुनामा पुग्दै डा. पाठक गफिदै थिए ।

हिजोआज अधिकांश समय डा. पाठकको अमेरिकातिरै बितिरहेको छ । छोराबुहारी अमेरिकामै रहेका कारण विगतमा पनि आवत जावत गरिरहने डा. पाठक शनिबार भने अरु बेला भन्दा निकै फुर्तिलो मुद्रामा भेटिए ।

‘आफ्नो उमेर समूहका नेपालीहरुसँग भेटेर गफ गर्न पाउँदा छुट्टै आनन्दको महसुस हुने रहेछ’ उनले भने । पाठकका सम्धी गोपाल शर्मा, जेठान विश्वमणि पोखरेल पनि समान उमेर समूहका व्यक्तिहरुसँग चिया पिउँदै आफुले बिताएका समयका गफ गर्दै थिए । शर्मा लामो समयसम्म राष्ट्रिय बाणिज्उ बैंकमा सेवा गरेर नायव महाप्रवन्धकबाट अवकाशप्राप्त हुन् भने पोखरेल लामो समय टिम्बर कर्पोरेसनमा काम गरेर अवकाश जीवन बिताइरहेका छन् ।

डा. पाठक र पोखरेल मात्र होइन । शनिबार ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेका झण्डै सातसय नेपाली जेष्ठ बा-आमाले आफ्नो उमेर समूहका व्यक्तिहरुसँग एकै ठाउँमा भेट गरे । भलाकुसारी गरे । बिहानको खाजादेखि लिएर खाना समेत एकै ठाउँमा सँगै बसेर खाए । म्युजिकल चेयर, बाघचाल, तातोआलु जस्ता खेलहरु खेले । मन खोलेर नाचे अनि गीत पनि खाए । खेलमा जित्नेहरुले आकर्षक पुरस्कार पनि पाए ।

यो सबै कार्यक्रमको व्यबस्थापन मेट्रोप्लेक्समा बस्दै आएका युवाहरुको समूहले गरेको थियो । ‘वाक फर नेपाल’ नामक अभियानले नेपाली नयाँवर्षको अवसर पारेर जेष्ठ बा-आमा पिकनिकका नाममा यो कार्यक्रम गरेको थियो । प्रदीप गिरी, जीवन घिमिरे, जुविन राजभण्डारी, सुमन कार्की लगायतका दर्जनौ युवाहरुले कार्यक्रम आयोजना मात्र गरेनन् । बा आमाहरुालाई कुनै शुल्क बिना खाने, पिउने, मनोरञ्जन दिलाएर एक दिनभरि आफ्नो पुरानो समयको याद हुने वातावरण मिलाएका थिए । नेपाली समाज टेक्ससका कार्यसमिति सदस्य विजय भुसाल बा-अामालाइ नचाउन र खेल खेलाउने कामको संयोजन गरिरहेका थिए ।

समुदायमा युवा, महिला, व्यवसायी, विद्यार्थीलाइ समेट्नेगरि अनेकन कार्यक्रम हुने गरेका छन् । तर जेष्ठ नागरिकका रूपमा समाजले लिने बा-आमाका लागि भनेर उनीहरूको भावना बुझ्ने खालका कार्यक्रमहरू हुने गरेका थिएनन् । यस्तो खालको कार्यक्रम नेपाली समुदायबाट अमेरिकामै पहिलो खालको हो ।

शनिबार उहाँहरूलाइ दिनभरि कुनै कुराको अभाव हुन दिइएन। चिया, पानी, खाजा, शाकाहारी वा मांसाहारी खानाको चासो दिएर स्वमयसेवहरूले सोधीखोजी गरिरहे । यसका लागि झण्डै तीन दर्जन स्वयमसेवकहरू परिचालित थिए ।

पाँच वर्ष अघि अर्थात सन् २०१८ मा सुरु भएको यो कार्यक्रम कोरोनाका कारण केही वर्ष यता स्थगित थियो । ‘अब यो कार्यक्रम हरेक वर्ष हुनेछ’ कार्यक्रम संयोजक जुविन राजभण्डारीले घोषणा गरे । यतै अमेरिकामा बस्दै आएकादेखि लिएर छोराछोरी भेटघाट, ग्राजुएसनका लागि आएका झण्डै सातसय बा आमा कार्यक्रममा सहभागी थिए ।

‘छोराको परिवारलाई भेट्न अमेरिका आएका एक महिना जति भयो । छोरा बस्ने टोलमा नेपाली खासै भेटिदैनन्। यहाँ आएर आफ्नै उमेरका नेपालीहरुसँग भेट्दा दमकै भएको जस्तो लाग्यो’ पिकनिकस्थलमा भेटिएका लक्ष्मणराज न्यौपानेले भने । झापाको दमक निवासी उनी यतिका नेपालीहरु देख्दा नेपालनै बिर्सिएको अनुभव सुनाउँछन् ।

नेपालमा हुँदा लामो समयदेखि भेटघाट नभएका केही साथीहरुलाई पिकनिकस्थलमा भेट्न पाएकोमा उनी निकै खुशी थिए ।

यस्तै अनुभव पाल्पाका लक्ष्मण खनालको पनि छ । ‘मलाई त नेपालमै छु कि जस्तो पो लाग्दैछ । नेपालमा हुँदा एकै पटक यसरी पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसलाई कहाँ भेट्न पाइन्थ्यो र ?’ उनले भने ।

भरतपुरकी गोमा पौडेल पनि शनिबार औधी खुशी थिइन् । ‘यहाँ त कति धेरै नेपाली भेटिएका ? नेपालमा भन्दा पनि धेरै नेपाली यता छन् कि जस्तो पो लाग्यो’ उनले धेरै नेपाली देखेर ठट्टा पनि गरिन् ।

नेपालका बिभिन्न जिल्लाबाट ड्यालस आएर बसोबास गरिरहेका, कोही घुम्न, कोही परिवार भेटघाटका निम्ति आएकाहरुलाई एकै ठाउँमा भेटेर भलाकुसारी गर्दै थिइन् उनी ।

नुवाकोट ककनी गाउँपालिकाकी गोमादेवी भेटवाल उस्तै खुशी हुनेमा पर्छिन् । नुवाकोटकै आफ्नै उमेर समूहका महिलाहरुसँग गाउँठाउँका कुराकानी गर्दै उनी नाती नातिनाका रमाइला सन्दर्भहरु सुनाइरहेकी थिइन् ।

‘यहाँ आएर पनि म सरहका यतिका धेरै नेपालीसँग भेट होला भनेर चिताएको पनि थिइन’ भेटवालले भनिन् । नुवाकोटकै बेलकोटगढी नगरपालिका मदानपुरका नवराज पाण्डे दम्पत्तीसँग भेटवाल पुरानो कुराहरु सम्झिदै थिइन् ।

ड्यालस फोर्टवर्थको सुन्दर सिटीहरु मध्यमा पर्ने कोपेलको एन्ड्रु ब्राउन पार्कको हरियाली चौरमा राखिएका सेता कुर्सीमा बस्दै वृद्धवृद्धाहरु एक आपसमा परिचय आदान प्रदान गरिरहेका थिए । कतिले त ‘काठमाडौं गएपछि भेटघाट गर्नुपर्छ है’ भन्दै फोन नम्बर समेत एक आपसमा साटिरहेका थिए । ‘हजुरको पहाड घर चाँही कहाँ पर्यो ?’ भन्दै पुर्ख्याैलीजरो पहिल्याउने प्रयास समेत गरिरहेका थिए । ‘म त यति नम्बरको भट्टराई’ भन्दै कोही चाँही हजुरबा र नातीको नाता केलाउँदै थिए ।

छोराछोरी भेट्न, नाती नातिनाका मायाँले डोर्याएर अमेरिका आएका बा आमाको पीडा पनि थियो । ‘आँत खोलेर नाती नातिनासँग बोल्न नपाउँदा भने असाध्यै दुःख लाग्ने रहेछ’ बाँके कोहलपुरका गौरीशंकर गिरीले पीडा पोखे । नाती नातिनाहरुले नेपाली नबोल्ने, तर आफूले अंग्रेजीमा राम्रोसँग कुराकानी गर्न नसक्दा नाती नातिनासँग अात्मियता साट्न गाह्रो परेको भनाई उनको थियो ।

पुनरावेदन अदातलको मुख्य न्यायाधीशबाट अवकास पाएका कुमार पोखरेल असाध्यै भावुक रुपमा प्रस्तुत भए । ‘जहाँ सन्तान छन्, दशैं तिहार जस्ता पर्व पनि त्यही हुने रहेछ । छोराछोरी जहाँ रमाए, खुशी भए, आफ्नो मन पनि त्यही रमाउने रहेछ’ उनले अनुभव शेयर गर्दा धेरैले टाउको हल्लाएर सहमति जनाएको देखिन्थ्यो ।

उता गान्धीवादी तुलसी मेहरकी भतिजी राधा राजभण्डारीले मन्दिर जाँदा धेरै नेपाली भेटेपनि आफ्नो उमेरका व्यक्तिहरु भेटेर आफ्नो समयको कुराकानी गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।

वाक फर नेपालले आयोजना गरेको वयोवृद्ध बा आमा पिकनिक कार्यक्रममा वर्षौदेखि अमेरिकामा बस्दै आएकादेखि लिएर घुम्नका लागि दुई साता अघिमात्र अमेरिका आएकाहरु समेत सहभागी थिए।

आफ्नो उमेर समूहसँग भेट्न पाउँदा बा आमालाई छुट्टै ऊर्जा प्राप्त हुने हुँदा समुदायमा नयाँ काम गर्ने उत्साह बोकेका युवाहरुले यो कार्यक्रम आयोजना गरेका हुन् । ‘यता हुने अधिकांश कार्यक्रमहरु स्वार्थ प्रेरित देखिन्छन् । तर यी युवाहरुले गरेका कार्यक्रम स्वार्थ रहित देखिन्छ’ कोपेल निवासी शारदाप्रसाद रिमालले प्रतिकृया व्यक्त गरे । उनको अनुभवमा यी युवाहरुले प्रवासको नेपाली समुदायको नेतृत्व गरेको दिन असाध्यै राम्रो नतिजा निस्कने र समाजमा सुधार पनि हुनेछ ।

आयोजक समितिमा रहेका अधिकांश युवाहरु विद्यार्थीका रुपमा अमेरिका आएर संघर्ष गरेकाहरुको बाहुल्यता छ । अहिले उनीहरु प्रोफेनल र हाइपेड पेशामा संलग्न छन् । त्यही भएर नै यतिका ठूलो सहभागिता रहेको र ठूलो खर्च भएको प्रोग्राममा समेत एक पेनी पनि प्रवेश शुल्क लगाइएको थिएन ।

शनिबार बिहान १० बजे सुरु भएको बा आमाको पिकनिक साँझ ६ बजेसम्म निरन्तर चलेको थियो । छोराछोरीले आफ्ना बा आमालाई पिकनिकस्थलसम्म ल्याएर दिनभरि छोडेका थिए । साँझ उनीहरुले आफ्ना बा आमालाई लिएर गएका थिए । अपरान्हको समयमा गायक भीम चापागाइले गीत गाएर एकैछिन नचाएका थिए ।

बा आमाको लागि मात्र पिकनिक आयोजना गरिएकोले स्वयम्सेवक बाहेक अरुलाई प्रवेश अनुमतिमा कडाई गरिएको थियो । ड्यालस फोर्टवर्थमा अप्रिल महिना न गर्मी, न जाडो हुने भएकोले पिकनिकका लागि उपयुक्त मानिन्छ । त्यही भएर अबदेखि हरेक वर्ष यो कार्यक्रमलाई ब्राण्ड र बार्षिक कार्यक्रमका रुपमा गर्ने तयारीमा वाक फर नेपालका युवाहरु छन् ।