काठमाडौँ । सरकारी वार्ता टोलीले आइतबारदेखि मिटरव्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरू गरेको छ ।
शान्तिबाटिकास्थित मिटरव्याजी पीडित रहेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
“आज दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, भोलि १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ, कोइरालाले भने, “दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान गर्न सकन्छि भन्नेमै रहेकाले प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मुख्य छ ।”
यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरव्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् । उनीहरुले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको आजै वार्ता टोली गठन गरेका थिए ।
मिटरव्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरव्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरुको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए ।
प्रतिक्रिया