अमेरिका समाचार

मलाई ‘दाइ’ भन्ने कृष्ण लामिछाने दाइका नाममा

मलाई ‘दाइ’ भन्ने कृष्ण लामिछाने दाइका नाममा


कृष्ण लामिछाने दाइबाट भौतिक देह त्याग भएको पनि आज अप्रिल ३ तारिक ठ्याक्कै १४ दिन पुगेछ । भौतिक शरिर त्यागेको मार्च २१ तारिक यता अमेरिकाको नेपाली समुदायमा सर्वाधिक चर्चाको शिखरमा लामिछाने छन् । सामाजीक सञ्जालमा सर्वाधिक चर्चामा छ यो आत्महत्या प्रकरण । एनआरएनमा त चर्चा हुने नै भयो । त्यसभन्दा पनि अझै एक तहमाथि नेपालको राजनीतिक दल कांग्रेसभित्र समेत चर्चाले प्रवेश पाएको छ । संभवत यो चर्चा सेलाउने संकेत छैन, अझै केही समय निरन्तर रहनेछ ।

चर्चा हुने दुई कारण छन् । पहिलो, उनले देहत्याग गर्नुपर्ने परिस्थिती जसका बारेमा व्यक्ति पिच्छेका अड्कलबाजी, अनुमानका बारेमा अनेकन कोणबाट कुराकानी भइरहनेछन् । दोस्रो, उनले ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको नेपाली समुदायमा बनाएको पहिचानका कारण उनको अभाव हरेक कार्यक्रममा हुनेछ । एकलाखको हाराहारीमा रहेका मेट्रोप्लेक्सबासीले उनलाई आफ्ना आँखाले, मनले खोजिरहनेछन् ।

Advertisement

मानव शरिर अस्थायी हो । हरेकले एक दिन यो सृष्टि, आफूले रचेको संसार, परिवार, समाज सबैलाई चटक्क छाडेर कहिल्यै फर्किन नपाउने बाटोमा जानैपर्छ । अर्को सत्य के हो भने अहिले संसारमा सात अर्बको हाराहारीमा मानिस छन् । यी सात अर्ब मानिस अबको सय वर्षमा कोही बाँकी रहनेछैनन् । जसरी वृक्षमा हरेक वर्ष पुराना पात झरेर वसन्त ऋतुमा नयाँ पात पलाउँछ । त्यसैगरि मानिसको पनि पुस्तान्तरण हुँदैगर्छ । यो जीवनको अर्को सत्य हो । जसरी जन्म सत्य हो, मृत्यु पनि सत्य हो । हरेकका जीवनमा यो भएरै छाड्छ ।

तर लामिछानेको हकमा अलिक फरक छ । उनले समाजलाई दिन धेरै बाँकी थियो । परिवारमा निभाउनु पर्ने दायित्व अझै बाँकी थियो । नेपालमा रहेका वृद्ध मातापिताको भरोसा थियो । एनआरएन अभियन्ताको आशा थियो । उनले समय र स्रोत लगानी गरेको नेपाली कांग्रेस पार्टीको पनि उनीप्रति अपेक्षा थियो ।

यी सबै आशा, अपेक्षा, चुक्ता गर्नुपर्ने दायित्व सबैलाई पन्छाउँदै दिमागमा जागेको एक सनकका भरमा उनले जीवन त्याग्ने जुन निर्णय गरे त्यसले परिवारलाई वर्षौसम्म अमिट चोट दिइरहनेछ । समाजले त बिस्तारै भुल्दै जाला, तर जीवन बसाउन अझै बाँकी छोरीहरुका मनमा कहिल्यै निको नहुने चोट उनले पुर्याएर प्रस्थान गरे । आध्यात्मिकताको जगतमा प्रवेश गरेकी कृष्ण दाईकी पत्नी मालाले त जीवन यस्तै हो भनेर मन बुझाउलिन् । तर बुढेकशालको सहारा गुमाएका मातापिताले कसरी मन बुझाउने ?

हिजो १३ औं दिनसम्म त मानिसहरु परिवारका सदस्यहरुलाई भेट्न जाने, बोलाउने, सम्झाउने गरिरहेका थिए । हामी छौ नि भनेर सम्झाउने धेरै थिए । ढाँढस दिनेहरु पनि थिए । सहयोगको आश्वासन दिनेहरु पनि कम थिएनन् ।

तर अाजदेखि परिवार एक्लो हुनेछ । पहिलो त यो प्राकृतिक नियमै हो । मानिसहरु सुरुमा जान्छन्, वचन दिन्छन् । तर बाँच्नुपर्ने, जिउनुपर्ने परिवारलेनै हो । आश्वासन दिनेहरु पनि लाखापाखा लाग्छन् । अर्को, प्रवासको जीवन सबैको व्यस्तता, चटारो, आफ्नै पारिवारिक दायित्वले थिचिएकाले अरुलाई समय दिन्छन् भनेर पत्याउने आधार नै छैन ।
जे हुनु नहुने थियो । त्यो भइनै सक्यो । कृष्ण दाई समाजको सफल व्यबस्थापक त भए, तर परिवारको र आफ्नै समस्याको व्यबस्थापन गर्न नसक्दाको पीडा यतिखेर परिवार, साथीभाई, इष्टमित्र सबैले भोगिरहेका छन् ।

‘दाइ’ भन्ने ती दाइ : 


कृष्ण लामिछानेसँग चिनजान त्यति लामो छ होइन । नौ वर्ष अर्थात सन् २०१४ मा अघि नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अधिवेशन ह्युस्टनमा आयोजना भएको थियो । त्यसबेला पहिलो भेटघाट भएको थियो । म क्यालिफोर्निया बस्थेँ त्यतिखेर । उनी नेजाको अधिवेशन हेर्न त्यहाँ पुगेका थिए ।

अर्को वर्ष म टेक्ससको छिमेकी राज्य ओक्लाहोमा सरेँ । ड्यालस आउने जाने क्रम सुरु भयो । सन् २०१५ मा नेपाली समाज टेक्ससको अध्यक्ष भएपछि समाचार तयारको क्रममा उनीसँग धेरै पटक कुराकानी भयो । कहिले मैले कल गरेँ, कहिले उनले ।

केही काम नपरेपनि हालखबर सोध्नकै लागि मात्र भएपनि कल गरिरहने, सम्पर्कमा रहिरहने बानी थियो उनको । एक हिसाबले उनको पब्लिक रिलेसनसिप निकै राम्रो थियो ।

टेक्सस सरिसकेपछि सम्बन्ध बाक्लो भयो । म साँझको सिफ्टमा काम गर्ने भएकोले हरेक दिन बिहान स्टोर पुगेपछि उनी फोन गर्थे । समाजका गतिविधि, एनएसटीका कृयाकलापका बारेमा जानकारी दिन्थे । सोही आधारमा समाचार तयार पारिन्थ्यो । उनी पछिका एनएसएसटीका अध्यक्ष लगायत पदाधिकारीहरुले हिमालयखबर प्रति निरन्तर गुनासो गरिरहेका छन् । ‘पहिले एनएसटीका समाचार हिमालयखबरमा धेरै आउँथ्यो । हामी आएपछि समाचारनै दिन कम भयो’ भनेर उहाँहरुको नियमित गुनासो रहि आएको छ ।

आज त्यो रहस्य खोल्छु । कृष्ण दाई अध्यक्ष हुँदा उनी आफैंले फोन गरेर हुन लागेका कार्यक्रमका बारेमा, भैसकेका कार्यक्रमका बारेमा, कसैको अकालमा निधन हुँदा, समाजमा कुनै राम्रो काम हुँदा, नराम्रो घटना हुँदा उनले सूचना दिन्थे । एक हिसाबले न्यूज सेन्स थियो कृष्ण लामिछानेमा । कुन कुरा समाचार बन्छ ? कुन बन्दैन भन्ने कुरा राम्रो हेक्का थियो।

तर उनीपछिका पदाधिकारीहरु शायद व्यस्तताले हो ? पत्रकारहरु भनेका समाचार खोज्दै आउनुपर्छ भन्ने मान्यताले हो खासै सूचना बाहिर आएनन् । जसले गर्दा कम्युनिटी जर्नालिज्म (सामुदायिक पत्रकारिता) गरिरहेका हामीलाई फलोअप गरिगरि समाचार लेख्नैपर्ने वाध्यता पनि थिएन ।

एनएसटीको अध्यक्षबाट बिदा भएपछि पनि सातामा कम्तिमा दुईपटक फोन हुन्थ्यो । ‘दाई के हुँदैछ’ उनले सोध्ने प्रश्न हुन्थ्यो । के हुँदैछ भनेर सोधेपनि जे भैरहेको छ त्यसका बारेमा सूचना, जानकारी भने उनैले विस्तारमा दिन्थे । उमेरले म भन्दा कृष्ण दाई चार वर्ष जेठो थिए । तर मलाई ‘दाई’ भन्थे । कहिलेकाँही आइडी कार्ड भिडाउँ पनि भन्थेँ म ।

तर मलाई दाई भन्नुमा उनले दिएको सम्मान थियो । मैले कहिल्यै अन्यथा लिइन पनि ।

हिजोमात्र युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल दाई भन्दैथिए-‘साह्रै मज्जाको मान्छे थियो । साह्रै रमाईलो । के गर्नु यस्ता मान्छे समय नभैकन जाँदा रहेछन् ।’

टीका दाई सम्झिदैथिए-‘घरमा केही प्रोग्राम भएर जाँदा आमा, दिदी बहिनी, छोरीहरुसँग गएर यो बिग्रिएला नि । सम्हाल्नु है भनेर जिस्किने बानी थियो ।’

आमा, भाउजु, बुहारी, छोरीहरु जो सँग पनि राम्रो व्यबहार गर्ने उनको बानी थाहा पाएका महिलाहरु अहिले नेपालमा रहेकी भनिएकी उनकी प्रेमिकाको कुराले चित खाएका छन् । कुनै कोणबाट पनि अमेरिकामा रहेका नेपाली महिलाहरुलाई उनले अर्को दृष्टिले कोही महिलालाई हेरेको महसुस कसैले गरेका छैनन् ।

अझै घटनाभित्र छिर्दाः


डेढ दशक अघि स्नातकोत्तर तह सँगै अध्ययन गर्दाका एक सहपाठी छन् । चार दिन अघि उनले मेसेन्जरमा फोन गरे ।’ के भएको हो ड्यालसमा ?’ उनी जिज्ञासा राख्दैथिए -‘हिमालयखबरमा आएको समाचार टिप्पणी त पुरै हेरेँ ।’ ती महिलाले टिकटक प्रतिवन्धका लागि नेपाल प्रहरीसँग हारगुहार माग्दै रहिछन् ।

स्वर्गीय कृष्ण लामिछाने र ती महिला बीच भएका टेलिफोन वार्तालापका रेकर्डहरु छरपष्ट भैसकेका छन् । अडियो रेकर्डहरुमा आर्थिक लेनदन, अवैध सम्बन्धका विषयमा गरिएका विवाद परिवारसँग बसेर सुन्नै नसकिने शव्दहरुले भरिएका छन् । दुबै पक्षले सीमा नाघेर शव्दको प्रयोग गरेका छन् । एउटा रेकर्डमा त नाम मुछिएकी महिलाकी छोरी समेत बोलेकी छिन् । यसले अझै के खुलाउँछ भने स्व. लामिछाने र ती महिलाका बीचमा सन् २०१५ यता भएका यो सम्पर्क अनि सम्बन्धका बारेमा महिलाका परिवार समेत जानकार हुनुपर्छ । कांग्रेसको राजनीति मार्फत भएको चिनाजानी पछिल्ला केही समय यता दुबै परिवारबीच पारिवारिक सम्बन्धमा परिवर्तन भैसकेको थियो । लामिछाने पत्नी माला नेपाल जाँदा पनि भेटघाट, लञ्च/डिनरसम्म भएका थिए ।

‘टिकटककै कारण मलाई बाँच्न नदिने भए । जथाभावी बोलिएका अडियोक्लिपहरु छरपष्ट भएका छन्’ भन्दै उनी प्रहरीसँग सहयोग माग्न पुगेको खबर प्राप्त भएको छ ।

यसबीचमा अनेक शंका उपशंका, चर्चा उपचर्चा, वहश उपवहशहरु भए । भएका कुरा पनि भए । त्यो भन्दा बढी नभएका कुरा भए । भएका कुरा भन्दा नभएका कुराले सुरुमा विश्वास आर्जन गर्यो । तर अहिले प्रष्ट खाका देखिइसकेको छ लामिछानेले आत्महत्या जस्तो बाटो रोज्नुपर्नाको प्रमुख कारण बाहिरी महिलासँगको सम्बन्ध र ठूलो मात्रामा रकम त्यता फँस्नुनै हो । समाजको डर, परिवारको चिन्ताले डिप्रेसनका पुगेका लामिछानेलाई समयमै ढाढस दिदै समाज, परिवारले उद्धार गर्न सकेको भए उनको जीवन रहने थियो । तर उनैले आफ्नो इज्जत जाने, प्रतिष्ठा गुम्ने डरले घटनालाई लुकाएर राख्दा यो जघन्य घटना हुन पुगेको हो ।

बाहिरी महिलासँगको नाजायज सम्बन्धका कारण कृष्णले पारिवारिक पीडा र समाजले के भन्लान् ? साथीहरुले कुन नजरले मलाई हेर्लान् ? संस्थाहरुले कसरी मूल्यांकन गर्लान् भन्ने चिन्तै चिन्ताले सहज बाटोका रुपमा जीवन परित्याग गरे । उता उनीसँग सम्बन्ध गाँसिएको भनिएकी महिलाको अवस्था पनि सहज छैन ।

कांग्रेसको राजनीतिमा पिताको बिँडो थाम्छु भन्दै लोग्नेको गृहजिल्ला समेत नझरेर माइती जिल्लामै राजनीति गर्दै आएकी उनको यात्रा अब सहज छैन । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । लामिछानेले आत्महत्या गरेको केही दिनपछिनै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उनको गोरखा नाम्जुङ्ग स्थित घरमा पिता रामप्रसादलाई सान्त्वना दिन पुगेका थिए । त्यतिखेर पक्कै लामिछानेसँग नाम जोडिएकी महिलाका बारेमा प्रसङ्ग निस्किएको हुनुपर्छ । लामिछानेले एक पटक दिएको सातलाख रुपैयाँ ती महिलाका पिता पाँच वर्ष अघि प्रदेश सभाको उम्मेदवार हुँदा पठाएको तथ्य पनि छरपष्ट भैसकेको छ ।

सुरुका केही वर्ष दुई पक्षबीच पारिवारिक रुपमा सुरु भएको सम्बन्ध पछिल्ला वर्षहरुमा गोप्य लेनदेन, अनुचित सम्बन्धमा बदलिएको तथ्य बाहिरिएका अडियो संवादले पुष्टी गरेका छन् ।

अविश्वासै अविश्वासः


लामिछाने आत्महत्या प्रकरणमा भित्र पसेर हेर्ने हो भने सबैतिर अविश्वासै अविश्वास र धोकाघडी भेटिन्छ । यताबाट नेपाल पैसा पुग्छ । पठाइएका सबै रकम संभवत बैंकिंग च्यानल, मनी ट्रान्सफर सेवा (मनीग्राम, वेस्टर्न युनियन) मार्फत नगएर कतिपय साथीभाईको हातबाट, कतिपय हुण्डी मार्फत पुगेको संकेत अडियो वार्ताले दिएको छ । त्यही भएर महिलाले आवाज सुनिन्छ-‘पैसा दिएको प्रमाण के छ ?’ यताबाट लामिछानेले बोलेको सुनिन्छ-‘ए तँलाई अब प्रमाण चाहियो ? तेरो लोग्नेलाई पठाइदिउँ सबै प्रमाण ?’

उता दाजु भाई र भाउजु बीचको वार्ताको समेत अडियो रेकर्ड गरिन्छ । यता लामिछाने र सम्बन्धमा रहेकी महिलाबीचको वार्ताका अडियो रेकर्ड हुन्छ । लामिछानेले दिदी भन्दै संबोधन गरेकी महिलासँगको वार्तालाप पनि रेकर्ड हुन्छ । लामिछाने र उनकी पत्नी मालाबीच भएको कुराकानी पनि रेकर्ड गरिन्छ ।

के सबै यी कुराहरु रेकर्ड गर्न आवश्यक छन् ? अनि बाहिर छरपष्ट गर्न जरुरी छ ? यो सबै अविश्वास र धोकाघडीका उपज होइनन् । परिवार भनेको विश्वासमा चल्ने विषय हो । जब जे पायो त्यही, जसले मौका पायो उसैले पारिवारिक सीमालाई नाघेर कुराकानीहरु रेकर्ड हुन्छ त्यसपछि स्वभाविक रुपमा सम्बन्धहरु सुपरग्लुले टाँसेजस्तो मात्र हुन्छ । जुनैबेला पनि उप्किनसक्छ ।

अनुमति बिना, कसैलाई थाहै नदिई यस्ता कुराहरु रेकर्ड गर्नु कानुनी दृष्टिले अमेरिकामा दण्डनीय विषय पनि हो । टेक्ससको कानुनमा संबन्धित पक्षको सहमति बिना अडियो रेकर्ड गरेको खण्डमा पाँच वर्षसम्म जेल सजायँ हुनसक्ने प्रावधान छ ।

पाठ कि प्रोत्साहनः


टेक्ससको नेपाली समुदायका एकजना अगुवाका अनुसार यो घटनाले दुईवटा संकेत दिएका छन् । पहिलो, जसजसका दम्पत्तीबीच वेमेल, असमझदारी रहेका छन् तिनीहरुका बीच पारिवारिक बेमेललाई तुरुन्त समाधान गरेर वारपार गर्नेतर्फ धेरै अग्रसर भएका छन् । अर्को अहिलेसम्म लुकेर भैरहेका सम्बन्ध, त्यसलाई अन्त्य गर्ने वा वैधानिकता दिने तर्फ त्यस्ता कार्यमा संलग्नहरु अगाडी बढेका छन् ।

परिवारमा अविश्वासको वातावरण ल्याउने अवस्था बनाउन हुँदैन भन्ने भन्दा पनि त्यस्ता घटनामा परिहालियो भने सम्बन्ध विच्छेद गरेर बस्नुपर्ने रहेछ भन्ने खालको सन्देश प्रवाह भएको छ । पछिल्ला केही दिनयता पारिवारिक इस्यु, सम्बन्ध विच्छेदका प्रकृयाका लागि कानुन व्यबसायीमा पुग्ने नेपाली समुदायको संख्या बढेको अगुवाहरुले बताएका छन् ।

अन्त्यमा,


समाजले गुमाउन नहुने एउटा पात्र गुमाएको छ । परिवारले अभिभावक गुमाएको छ । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा निकै समय उनको अभाव झल्किनेछ । निर्माणाधिन मन्दिरको आर्थिक समितिका संयोजकको रुपमा उनको अभाव देखिनेछ ।

मान्छे कोही पनि शतप्रतिशत पूर्ण हुँदैन । कोही मानिस आर्थिक पक्षमा कमजोर हुन्छन्, कोही स्त्रीका विषयमा कमजोर हुन्छन् । कोही बाहिर असल चरित्रको भएर पनि घरमा हिंशा गर्ने चरित्रका हुन्छन् त कोही समाजलाई जसरी हुन्छ दुःख दिने पीडक स्वभावका हुन्छन् । यी मान्छेका आम चरित्र र स्वभाव हुन् । कृष्ण लामिछाने पनि एकजना मानिस थिए । उनको पनि आम मान्छे जस्तै केही कमजोरी पक्कै थियो । कमजोरी बिनाको मान्छे हुँदै हुँदैन । यिनै मान्छेलाई फेरि पनि एकपटक हार्दिक श्रद्धाञ्जली । परिवारजनमा फेरि पनि हार्दिक समवेदना ।

शेयर गर्नुहोस:

43.4k
Shares