मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राष्ट्रपति पौडेलद्वारा आफ्नो प्रतिबद्धता पूरा, तामझाम नगरी गरे कुमारीको दर्शन

राष्ट्रपति पौडेलद्वारा आफ्नो प्रतिबद्धता पूरा, तामझाम नगरी गरे कुमारीको दर्शन


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् ।

उनले शीतल निवासबाट बाहिर निस्कँदा सडक खाली गराउन दिएनन् । सडक खाली नगराइ हनुमानढोकास्थित कुमारी घर पुगेर दर्शन गरे । पौडेल साँझ चार बजे शीतलनिवासबाट कुमारी घरमा कुमारीको दर्शन गर्न पुगेका थिए । राष्ट्रपति पौडेलले बाटो खाली नगराई कुमारीको दर्शन गरेर फर्केका छन् ।

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फकिएका थिए । राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिएका हुन् । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।

यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।

राष्ट्रपति पौडेलले आफ्नो सवारीका क्रममा सडक खाली नगराइकन कुमारीको दर्शन गरेकोमा चौतर्फी प्रशंसा भएको छ । पौडेलले राष्ट्रपति पदमा निर्वाचित हुनुअघि ‘राष्ट्रपति र जनताबीचको सम्बन्ध कस्तो हुनुपर्छ म देखाउँछु’ भनेका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना सवारीका क्रममा सडक पूरै खाली गराएर तामझामका साथ हिँड्ने गरेकी थिइन् । भण्डारीको शैलीलाई लिएर आमजनतामा निकै विरोध भएको थियो । भण्डारीलाई धेरैले आलोचना गर्ने क्रममा ‘महारानी’को संज्ञा दिएर विरोध जनाउने गरेका थिए ।

जनतालाई दुःख नदिईकन सामान्य तरिकाले पनि कुमारीको मन्दिरमा पुगेर दर्शन गर्न सकिँदो रहेछ भन्ने दृष्टान्त पौडेलले पेश गरेका छन् । त्यसैले उनको यही साद्गीपनको प्रशंसा भएको छ ।

पौडेल प्रजातान्त्रिक संस्कार र सिद्धान्तलाई अंगालेर आएका नेता हुन् । भण्डारी कम्युनिस्ट विचारधारा बोकेकी नेत्री हुन् । भण्डारीले राजपरिवारकै झल्को दिनेगरी तामझाम चाहन्थिन् । पौडेलले तामझाम गर्न नदिएकै कारण उनी जनताको अभिभावकका रुपमा आफ्नो गरिमा कायम राख्न सफल भए ।