मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मुख्य समाचार   

पोखरामा फागुपूर्णिमाको हर्षोल्लास, पर्यटकसमेत रमाए

पोखरामा फागुपूर्णिमाको हर्षोल्लास, पर्यटकसमेत रमाए

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रङ्गको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने पर्व फागुपूर्णिमा आज हर्षोल्लासका साथ मनाइएको छ ।

पोखरा बजारसहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशीसहित विदेशी पर्यटकले समेत एकापसमा विभिन्न रङ्ग तथा अबिर दलेर होलीमा रमाएका छन् ।

पोखरा घुम्न आएका पर्यटकले एकापसमा रङ्ग दलेर शुभकामना आदानप्रदान गरी होली मनाएका हुन् । पोखरामा विभिन्न सङ्घसंस्थाले समेत सामूहिक होली मनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले महासङ्घको भवनमा होली मिलन कार्यक्रम गरेको थियो । सञ्चारकर्मीहरुले रङ्ग दलेर शुभकामना आदानप्रदान गरी होली मनाएका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले समेत सामूहिक होली मनाए ।

पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकदेखि डिहीकोपाटनसम्मको तीन किमी क्षेत्रमा पर्यटकले रङ्ग लगाउँदै र नाच्दै गाउँदै होलीको रमाइलो गरे । फेवाताल किनारमा समेत होली मनाउनेहरुको सङ्ख्या उत्तिकै थियो ।

पर्यटकहरु ‘ह्याप्पी होली’ भन्दै रङ्ग लगाएर खुसी साटासाट गरिरहेका थिए । आन्तरिक पर्यटकसहित भारतीय र तेस्रो मुलुकबाट घुम्न आएका पर्यटकहरु होलीमा सहभागी भएका हुन् ।

फागुपूर्णिमाका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले होली महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो । पर्यटकहरु महोत्सवमा रमाएका थिए ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागी गराई नेपालको संस्कृति र पर्वका बारेमा जानकारी गराउँदै एकापसमा मित्रता र सद्भाव साटासाट गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको रेवान पोखराका महासचिव विकास भट्टराईले बताए ।

उनले भने, “आन्तरिक तथा बाह्य पर्यटकलाई सामूहिक होली मनाउने अवसर प्रदान गर्न महोत्सव आयोजना गरेका हौँ । यसले पोखराको पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुगेको छ ।”

पर्वका अवसरमा घट्न सक्ने घट्नालाई दृष्टिगत गरी बिहानदेखि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रहरीले बजारका विभिन्न क्षेत्रमा जाँच गरी अवाञ्छित क्रियाकलाप हुन नदिन सतर्कता बढाएको थियो । पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरीत जथाभावी रङ्ग दल्ने, लोला हान्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने लगायतका कार्यलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा देशभर होली पर्व मनाउने प्रचलन छ । होलीमा एकापसमा रङ्ग दलेर पर्व मनाउने गरिन्छ । तराईमा भने भोलि हर्षोल्लासका साथ होली मनाउने गरिन्छ ।