काठमाडौँ । शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
“आत्मदाह गर्नुभएका प्रेमजीले गम्भीर विषय उठाउनुभएको थियो, उहाँले आफू अन्यायमा परेको विषय पनि उठाउनुभएको थियो”, गृहमन्त्री लामिछानेले भने, “ती विषयमा गृह मन्त्रालयले नै तदारुकताका साथ छानबिन गर्ने र सत्यतथ्य बाहिर आइसकेपछि आवश्यक कदम चाल्ने निर्णय भएको छ ।”
गृहमन्त्रालयले यस विषयमा काम अघि बढाउने उनले जानकारी दिए । छानबिनका लागि समिति गठनको आवश्यकता अहिले नदेखिएको उनले स्पष्ट पारे । “समिति गठन गर्नुपर्ने आवश्यकता अहिले नै छैन तर आवश्यक परेको खण्डमा समिति गठन गरिनेछ”, उनले भने ।
इलामका व्यवसायी आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी र्कीतिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा बुधबार बिहान ५ बजे निधन भएको थियो ।
उनले आफ्नो शरीरमा आगो लगाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर आफूले भोगेका घटना उल्लेख गरेका थिए । अब उनले उठाएका विषयबारे गृहमन्त्रालयले छानबिन गर्नेछ ।
प्रतिक्रिया