मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सरकार बनाउनका लागि कठिन जनमत

सरकार बनाउनका लागि कठिन जनमत

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभा नतिजाले अब सरकार बनाउन र आगामी पाँच वर्षसम्म संसद्लाई टिकाउन निकै कठिन हुने देखाएको छ । 
 
पाँच महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, राष्ट्रिय प्रजातन्त्र पार्टीको बढ्त र सत्तामा गइसकेको पुराना राजनीतिक पार्टीभित्रको हरहिसाब हेर्दा सरकार बनाउन र टिकाइराख्न सजिलो नहुने देखिएको हो । 
 
पटकपटक चुनिएर जाँदा पनि देश र क्षेत्रका लागि केही गरेर देखाउन नसक्नेहरु यो चुनावमा तिरस्कृत भएका छन् । राजनीति भनेको झोला बोकेर कार्यकर्ता भई हिँड्ने र सधैँ त्यहीँ टाँसिइरहने होइन भन्ने सन्देश चुनावी नतिजाले दिएको छ । प्रजातन्त्रका लागि जेल नेल भोगेको, पार्टीमा यति वर्षदेखि लागेको भन्ने आधारमा पनि नहुने सन्देश यो चुनावले दिएको छ । 
 
अहिलेसम्मको नतिजाले नेपाली कांग्रेसको प्रतिनिधिसभामा सबैभन्दा बढी सिट हुने छ । तर, समानुपातिकबाट आउने पनि जोड्दा एमाले दोस्रो ठूलो दल बन्ने देखिन्छ । सिटमा पहिलो र दोस्रो ठूलो दलबीच ठूलो अन्तर हुने छैन । 
 
यी दुवै पार्टीले सरकार बनाउन त्यसपछिका ठूला साना दललाई फकाउनु पर्ने छ । यो सजिलो हुने छैन । ठूलो पार्टीभित्र अब युवालाई प्रधानमन्त्री पद दिनुपर्छ भन्ने दबाब बढेको छ । यो पार्टीभित्र निर्णय गरेरमात्र हुँदैन । यसलाई गठबन्धनले स्वीकार्नु पर्छ । जुन सहज हुने छैन । यो चुनावमा सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरी उदय भएका रवि लामिछानेले कस्तो राजनीतिक बाटो अवलम्बन गर्छन् यो कौतुहलताको विषय हो । उनले लिने निर्णयले आउने देशको राजनीति प्रभावित हुने छ । 
 
मंसिर ४ ओली सरकार भनेर एमाले चुनावमा गएको थियो । यदि ओलीलाई बहुमत जुटाउन सत्तागठवन्धनलाई टुटाउनु वा रविसहितका अन्य सांसद्लाई मनाउन सक्नुपर्छ । तर, यस्तो खिचडी सरकार धेरै दिन चलाउन सजिलो हुने छैन । 
 
यो चुनावको नतिजा आएपछि अबका केही साताभित्रै देशका लागि महत्त्वपूर्ण पदहरु प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतको चयन हुने छ । यसमा रविले कस्तो भूमिका खेल्छन् यसले पनि विशेष महत्त्व राख्छ ।  
 
चुनावमार्फत आमनागरिकले राजनीतिक परिवर्तन मात्र होइन विकास र जीवनस्तरमा पनि परिवर्तन खोजेको सन्देश दिएका छन् । प्रजातन्त्र त आयो तर, जीवनस्तर परिवर्तन हुन नसकेको, सुशासन कमजोर भएको अनुभव आममतदाताले गरेका थिए । यही कारण पुराना सत्तारुढ दलहरुप्रति मतदाता चिढिएका हुन् । यो सन्देशलाई नबुझ्ने हो भने अहिले जित्ने वा हार्नेको हालत अर्को चुनावमा यसभन्दा पनि प्रतिकूल हुने निश्चितप्रायः छ । 
 
जनताले आफ्नो अभिमत दिइसकेका छन् । यसलाई सम्मान गरेर अगाडि जानुको विकल्प छैन । 
 
सुशासन र विकासको बाधक भनेको विद्यमान कर्मचारी प्रशासन पनि हो । नेपालको कर्मचारी प्रशासनले जहिले पनि परिवर्तनमा बाधक बन्ने गरेको छ । जनताबाट आउने राजनीतिक नेतृत्वलाई पनि विभिन्न अल्झनमा पारेर व्यूरोक्रेसीले आफ्नो स्वार्थमा काम गराउँदै आएको छ । अहिलेको आएको युवा पंक्ति सफल हुने हो भने यसबाट बच्न सक्नुपर्छ । 
 
मतदाताले पुराना पार्टीका पनि केही राम्रा व्यक्तिलाई पुनः मौका दिएका छन् । यसका साथै अब देशका लागि युवा र सक्षम नेतृत्व आउनुपर्छ भन्ने पनि सन्देश पनि प्रवाह गरेका छन् । यसलाई नवुझ्नेहरु अर्को पटक फेरि बढारिनेछन् । बेलैमा चेतौँ देश र जनताका पक्षमा काम गरौँ ।