मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भोकभोकै परिणामको पर्खाइ

भोकभोकै परिणामको पर्खाइ


मलेखु । ‘के हुँदै छ सर ? कसले जित्यो ? कति भोट गनियो सर ? अहिले को अगाडि छ ?’  मतगणना केन्द्रबाट बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट सोधिने गरेको प्रश्न यही हो ।
 
मत गणनास्थलबाट बाहिर जो देखा पर्छ, ‘आयो.. आयो..’ भन्ने हर्सित आवाज ठूलै स्वरमा सुनिन्छ, दशौँ प्रश्नहरु तेर्सिन थाल्छन् । भित्र भइरहेको मतगणनाको परिणाम सुन्न आतुर दलका समर्थकलाई भोक र निन्द्राको भन्दा मत परिणामको चिन्ता छ । रुविभ्याली गाउँपालिकाको मतगणना केन्द्र बाहिर परिणाम कुरेर बसेका समिर गुरुङ भन्छन्–“भोट त हालियो, जित्ला कि नजित्ला सुन्न हतार छ । जित्छ कि भनेर कुरिरहेको छु ।”
 
मतगणनास्थल बाहिर करिब दुई सय जनाले घेरेर बसेका छन् । झार्लाङ, सत्यदेवी, दार्खादेखि परिणाम थाहा पाउन यहाँ आएका छन् । युवायुवती र वृद्धवृद्धा सबैको सहभागिता उत्साहजनक छ । सोमबार दिउँसो मतगणना सुरु भएदेखि नै कुरिरहनुभएको छ, नीलकण्ठ–१२ का हरि लम्साल पनि । अघिल्लो चुनावको मतगणनाभन्दा यसपटक उनलाई छुट्टै उत्सुकता छ । लम्साल भन्छन्, “भित्र मतगणना भइरहेको छ, मत परिणाम सुन्न यही बसिरहेको छु ।” सबैको हारजित सुनेर मात्रै अरु काममा लाग्ने लम्सालले सुनाए । 
 
रुवि भ्यालीका दिलबहादुर घलेले भोट खसाल्नुभएको यो पहिलो पटक हो । विसं २०७० र २०७४ मा भोट हाल्न पाउनुभएको थिएन । त्यत्ति चासो पनि उनलाई लागेन । अहिले चिनेकै मान्छे प्रदेशसभाको उम्मेदवार भएकाले सोमबारदेखि गणनास्थल आसपासमै खाने बस्ने गर्दै परिणाम कुरिरहेका छन् । 
 
निर्वाचन अधिकृतको कार्यालयले एक हजार पाँच सय मत गनेपछि सार्वजनिक गर्छ । एक पटक सुनेपछि अर्कोपटक सुन्न करिब २ घण्टा कुर्नुपर्छ । “तै पनि यो ठाउँ छोडेर अन्त जानै मन छैन”, घलेले भने । 
 
मत गणना भइरहेका स्थानमा स्पिकर छ । गणनास्थलका कर्मचारीले त्यसैबाट परिणाम सुनाउँछन् । परै बसेर पनि सजिलै सुन्ने व्यवस्था मिलाइएको छ । बसेरीका खड्ग बहादुर अधिकारी भन्छन् “मत गणना सुरु भयो, कसैले छोडेकै छैनन्,” उनले भने, “मतपेटिका आइपुगेदेखि भोकभोकै पनि नतिजा सुन्न बसेका छन् । हातहातमा मोबाइल भए पनि आफैँले सुनेको जस्तो विश्वास नभएकाले गणनास्थलमै कुरेर बसेका छौँ ।”   
 
सदरमुकाम धादिङबेसीस्थित जिल्ला समन्वय समितिको भवनमा मत गणना भइरहेको छ । मत गणनास्थलमा पनि परिणाम कुर्नेको उत्साह उस्तै छ । नीलकण्ठ नगरपालिका–८ का सरोज कोइरालालाई पनि पहिलेको चुनावको भन्दा अहिलेको चुनाव बेस्सरी लागेको छ । 
 
काठमाडौँमा सञ्चालन गर्दै आएको व्यवसाय नै छोडेर जिल्ला समन्वय समितिको अगाडि मतपरिणाम कुरेर बसेका उनी भन्छन्, “मैले भोट दिएको मान्छेले पाएको मत परिणामको नजिता कस्तो आइरहेको छ भनेर सुन्न बसिरहेको छु ।”
 
रुविभ्यालीका दिलबहादुर र बसेरीका खड्गबहादुर जस्तै हरेक मत गणना भइरहेको स्थलमा एक सयदेखि तीन सय हुन्छन् । उनीहरु प्राय आफ्ना समर्थक र आफूले मतदान गरेको उम्मेदवारले पाएको मत सुन्न चासोका साथ गणनास्थलमा पुगेरै परिणाम सुन्न लालाहित भएका हुन् । रासस