मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

देश चुनावी सँघारमा, सोमबार बिहान प्रारम्भिक अनुमान आउने

देश चुनावी सँघारमा, सोमबार बिहान प्रारम्भिक अनुमान आउने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आमजनताले आफ्नो नेतृत्व छान्नका लागि अब केही घन्टा मात्र बाँकी छ । आइतबार साँझसम्म आमनागरिकको अभिमत मतपेटिकाभित्र परिसक्ने छ । सोमबार बिहानदेखि प्रारम्भिक नतिजा आउन सुरु हुनेछ । सोमबार साँझसम्म आउने प्रारम्भिक नतिजाले देशको अभिमत के रहेछ भन्ने संकेत आइसक्ने छ । 
 
विगतका प्रत्येक चुनावमा जित्नेले माला र अबिरजात्रा गर्दै निस्कने र हार्ने पक्ष भने धाँधली भयो भन्ने आरोप लगाउने गरेका थिए । यस पटक पनि यही भयो भने नौलो मान्नुपर्दैन । दोस्रो संविधानसभा चुनावमा माओवादीले त निर्वाचन परिणाम नै नस्वीकार्ने सार्वजनिक गरेको थियो । 
 
गत स्थानीय चुनावमा कयौं स्थानमा हारेपछि एमालेले पनि धाँधली भएको आरोप लगायो । सत्तारुढ दलले चुनाव जितेमा पुलिस प्रशासन र राज्य शक्तिको दुरुपयोग गरेको आरोप हार्ने पक्षले लगाउने परम्पराजस्तै बसेको छ । 
 
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव निष्पक्ष गराउन कुनै कसुर बाँकी नराख्ने बताएका छन् । प्रमुख आयुक्तको यो भनाइसँग विमति जनाउनुपर्ने कुनै कारण छैन । निष्पक्ष चुनाव मात्र सर्वस्वीकार्य हुन्छ । आशा गरौं, निर्वाचन धाँधलीरहित हुनेछ । प्रत्येक मतदाताले दिएको मतको सही गणना हुनेछ । 
 
चुनावमा भाग लिएका उम्मेदवारले पनि यो प्रकृयामा सहभागी भइसकेपछि निर्वाचन नतिजा स्वीकार्ने आँट देखाउनुपर्छ । यसको विकल्प पनि छैन । कहीँकतै त्रुटि देखियो भने यसलाई कानुन, नियम र विधिसम्मत् रुपमा सच्च्याउन सहयोग गर्नुपर्छ । 
 
यो चुनावमा केही अप्रत्याशित नतिजा पनि आउन सक्छ । कसलाई जिताउने, कसलाई हराउने यो जनताको निर्णय हो । यसलाई हल्का रुपमा लिनुहुँदैन । यो स्वीकार्नुको विकल्प पनि छैन । 
 
प्रतिनिधि सभा र प्रदेश सभा दुवैका लागि एकै पटक चुनाव हुँदै छ । मतदाताले छुट्टाछुट्टै ४ वटा मतपत्रमा छाप लगाउनुपर्ने हुन्छ । कतिपय ठाउँमा राजनीतिक पार्टीबीच गठबन्धन भएकाले कुन चिह्नमा भोट हाल्ने हो भनेर अलमल पनि हुन सक्ने अवस्था छ । 
 
यो चुनावमा देशले भोग्दै आएका महँगी, अर्थतन्त्रमा देखिएको समस्या, रेमिट्यान्स, छिमेकी देश चीन र भारतलगायत नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता पेचिला विषय खासै मुद्दा बन्न सकेनन् । 
 
समाजिक सञ्जालमा पुरानालाई भोट नदिऊँ भन्ने अभियान चल्यो । पुरानाले पनि यसको प्रतिवाद गरे । आममतदातालाई विकल्प कम भए पनि चुनावी लहर राजनीतिक पार्टीको विपरीत दिशामा चल्यो । सामाजिक सञ्जालमा देखिएको युवाको जोसलाई आमनागरिकले कसरी लिए, यो चुनावको नतिजाले देखाउने छ ।