काठमाडौं- यस पटक चुनावमा देशका प्रमुख मुद्दामा व्यापक स्तरको बहस नभई मौन अवधि सुरु भएको छ । देशको समस्याग्रस्त अर्थतन्त्र, महँगी, भारत र चीनलगायत विश्वका विभिन्न देशसँगको नीति, शिक्षा, स्वास्थ्यलगायतका कयौं विषय यस पटक निर्वाचनमा मुख्य मुद्दाका साथ बहसको विषय बनेनन् । सधैं उठ्ने भ्रष्टाचार शब्द भने कयौंको भाषणमा सुनियो । ठूला मिडियाले होइन, यो निर्वाचनको सुरुदेखि नै सामाजिक सञ्जालले बहसको नेतृत्व लियो । सामाजिक सञ्जालमा सुरु भएको ‘नो नट अगेन’ आन्दोलन नै मुख्य बहसको विषय बन्यो । ६० वर्ष कटेका, पटक-पटक संसद, मन्त्री भएकालाई यस पटक बिदा गरौं भन्ने सामाजिक सञ्जालले बढाएको मुद्दा नै यो निर्वाचनभर केन्द्रमा रह्यो ।
यो चुनावमा स्टार प्रचारक भने एमाले अध्यक्ष केपी शर्मा ओली बने । सामाजिक सञ्जाल, आमसभा र अन्य माध्यममा ओली अरु नेताभन्दा अगाडि देखिए । ‘मंसिर ४ ओली सरकार’ नारामा नै केन्द्रित रहेर प्रचार-प्रसार गरियो । एमालेमा ओली मात्र प्रचार-प्रसारको केन्द्रमा रहे । भारतमा नरेन्द्र मोदी शैलीमा ओलीको प्रचार-प्रसार गरियो । तर, एमाले देशको अर्थतन्त्र र विकासका मुद्दामा बहस केन्द्रित गर्न सफल बनेन । यसो गरेको भए एमालेलाई फाइदा पुग्थ्यो । चुनावी घोषणा-पत्र पनि एमालेले राम्रोसँग प्रचार-प्रसार गर्न सकेन । ओलीले आफूले गरेका कामभित्रै निर्वाचनलाई तान्नुपर्ने थियो । तर, ओलीले एमालेले चुनाव जित्यो भने आफू प्रधानमन्त्री बन्ने स्पष्ट गरेर गए । यही भएर प्रचारमा उनी मात्रै नायक बने । त्यसपछि ईश्वर पोखरेल, शंकर पोखरेल, गोकुल बाँस्कोटा, सूर्य थापालगायत भने चर्चामा रहे ।
नेपाली कांग्रेस पार्टीमा भने यो हुन सकेन । अन्य पार्टीभन्दा हामी परिपक्व छौं भन्नका लागि केही आर्थिक र सामाजिक मुद्दालाई कांग्रेसले बहसमा ल्याउन सक्नुपर्थ्यो । कांग्रेसभित्र धेरैले म अब प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्दै भोट मागे । गगन थापा, प्रकाशमान सिंह, शशांक कोइराला, विश्वप्रकाश शर्मालगायतले मन्द रुपमा आफू प्रधानमन्त्रीको उम्मेदवार भएको बताए । चुनाव जित्न सजिलोका लागि पनि यस्तो भनिएको हुन सक्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आगोमा घिउ थप्दै भाषण गरे । तनहुँमा अत्यधिक मतले जिते रामचन्द्रजी प्रधानमन्त्री बन्न सक्नुहुन्छसम्म भन्न भ्याए । अध्यक्ष दाहालले भने धेरै ठाउँमा दौडधूपका साथै कयौं सभामा भाषण गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन सधैं रहेन भन्दै आफू नै प्रधानमन्त्री बनिरहने संकेत गरे । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले यसमा स्पष्ट पनि गरे । यो निर्वाचनले गगन थापालाई पार्टी संसदीय दलको नेतामा उठ्न दबाब भने परेको छ । गगन, रामचन्द्र पौडेललगायत कांग्रेसका वरिष्ठ नेताहरू प्राय: आफ्नै क्षेत्रमा केन्द्रित रहे । शेरबहादुर देउवा भने गठबन्धनको संयुक्त आमसभामा भाग लिन विभिन्न स्थानमा पुगे । प्रधानमन्त्रीको उम्मेदवार भनिए पनि गगन काठमाडौंविशेष आफ्नै निर्वाचन क्षेत्रमा सीमित रहे । यो उनको बाध्यता थियो वा अरु कुनै ? कांग्रेसका उम्मेदवार शेखर कोइरालाप्रति भने यस पटक चुनावमा धेरैको समर्थन देखियो । शेखर पनि आफ्नै क्षेत्रमा सीमित रहे ।
निर्वाचन क्षेत्रमा सीमित रहेर सबैभन्दा धेरै प्रचार-प्रसार भने उद्योगपति विनोद चौधरीले गरे । अर्बपति चौधरी मोटरसाइकलको पछाडि बसेर भोट माग्न पुगे । सामान्य मतदाताको घरमा गएर भात खाए । चौधरीले सकेसम्म आफूलाई मतदातामाझ सामान्य देखाउने प्रयास गरे ।
नेकपा समाजवादीका नेता माधव नेपाल पनि चर्चामा रहीरहे । विनापैसा विदेश पठाउने भाषणले उनलाई विवादमा ल्याइरह्यो । माधवले यो ठीक थियो भन्ने प्रयास गरिरहे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि चर्चित अभिनेत्री मनीषा कोइरालाले भोट मागेको प्रसंगले चर्चा पायो । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाकी नातिनी एवम् अभिनेत्री मनीषालाई राप्रपाको चुनावी सभामा देख्दा धेरैले अचम्म मानेको पाइयो ।
हार-जितको आँकडा
चुनावसम्बन्धी मिडियामा केही सर्वेक्षण, अनुमान पनि आए । यी सर्वेक्षणमा प्रत्यक्षमा कांग्रेसले सबैभन्दा बढी सिट ल्याउने देखिएको छ । कांग्रेसले करिब ६० सिट जित्छ भन्ने अनुमान पनि सर्वेक्षणका रुपमा आयो ।
सर्वेक्षणले यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टी र मिडियाबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बलियो सम्भावना देखाएको छ । यी दुई पार्टीले प्रत्यक्ष र समानुपातिक गरी ३० सिट ल्याउन सक्ने धेरैको अनुमान छ । यो अनुमान मिल्यो भने समानुपातिकमा कांग्रेसको सिट कम हुनेछ । एमाले ४५ सिट ल्याउने अनुमान सर्वेक्षणमा आएको छ ।
डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका सागर ढकाल सामाजिक सञ्जालमा चर्चित त बने, साथै उनले जिते हुन्थ्यो भन्ने धेरै युवाको चाहना पनि छ । तर, उनले शेरबहादुर देउवालाई हराउन सक्ने अवस्था देखिँदैन । शेरबहादुर देउवा, केपी ओलीलगायतका नेताको जित निश्चित जस्तै देखिन्छ ।
मतपत्रको झमेला
यस पटक चार मतपत्रमा भोट हाल्नुपर्छ । गठबन्धनका कारण कांग्रेसलाई मत दिनेले प्रत्यक्षतर्फ कतै हसियाँ-हथौडा, कलममा मत हाल्नुपर्छ । त्यसपछि समानुपातिकमा आफ्नो पार्टीको चिह्नमा मत हाल्नुपर्छ । प्रत्यक्षमा एमालेलाई भोट हाल्नेको अवस्था पनि यस्तै छ । कतै हलोमा हाल्नुपर्छ । त्यसपछि प्रदेश संसदको प्रत्यक्षमा कुन चिह्नमा मत हाल्ने हो, थाहा पाउनुपर्छ ।
त्यस्तै, प्रदेशको समानुपातिकमा कुन पार्टीलाई मत दिने हो त्यो सम्झनुपर्छ । बूढाबूढी र कम पढेलेखेकालाई चार मतपत्रले केही अन्योल बनाउने छ । त्यसैले पार्टीले पाउने मतमा भने केही गोलमाल हुने सम्भावना देखिन्छ ।
प्रतिक्रिया