मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आमनिर्वाचन २०७९ : युवाको विद्रोह, चर्चामा रहेका र जित्नुपर्ने उमेदवार

आमनिर्वाचन २०७९ : युवाको विद्रोह, चर्चामा रहेका र जित्नुपर्ने उमेदवार


काठमाडौँ । नेपालमा युवाहरूले विद्यमान राजनीतिप्रति विद्रोह गरेका छन् । राजनीतिक विद्रोहका लागि सडकमै जानुपर्दैन, चुनावमार्फत पनि गर्न सकिन्छ भन्ने संकेत आइतबार हुन लागेको निर्वाचनले देखाएको छ । 
 
यो निर्वाचनमा विगत ३० वर्षदेखि सत्तामा रहँदै आएका राजनीतिक पार्टी र तिनका वृद्ध नेताप्रति युवाहरू विद्रोही बनेका हुन् । अहिलेको अवस्थामा मंसिर ४ गतेको निर्वाचनपछि नेपालको राजनीतिमा केही न केही उथलपुथल गर्ने नतिजा भने आउने देखिएको छ । 
 
अहिले चल्तीका गायक प्रकाश सपुतले केही समयअघि ‘पिर’ शीर्षक गीत सार्वजनिक गरेका थिए । उक्त गीतमा देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो, तर गरिबको जीवनमा कुनै परिवर्तन आएन भन्ने देखाइएको छ । राजनीतिक परिवर्तनका लागि लडेका युवाहरूलाई नेताले नै विदेशमा श्रम बिक्रीका लागि जान बाध्य बनाएको देखाइएको छ । नेपालको अवस्था यो राजनीतिक सन्देश बोकेको यो गीत जस्तै छ । युवा विद्रोहको कारण यही हो । 
 
राजनीतिक परिवर्तन त भयो तर अधिकांश नेपाली नागरिकको जीवनस्तर माथि उठ्न सकेको छैन । काठमाडौँमा धारा छन् पानी आउँदैन, सडक छन् कुनै व्यवस्था छैन । शक्तिकेन्द्रमा हुने, यिनका निकट र बिचौलियाको बोलबाला छ । यातायात कार्यालयमा गाडी रजिस्टर गर्न गयो, बिचौलिया चाहिन्छ । जग्गा किनबेच गर्न गयो, बिचौलिया चाहिन्छ । नगरपालिकामा केही काम गर्न गयो, बिचौलिया चाहिन्छ । 
 
राजनीतिक पार्टीका कार्यकर्ता स्थानीय तहमा करोडौँको सरकारी बजेट खर्च गर्ने ठेकेदार बनेका छन् । उनीहरूले बनाउने पूर्वाधारको कुनै दिगोपना रहँदैन ।  गुणस्तर हुँदैन ।  यो आमजनताले भोगेका छन् । भ्रष्टाचार सामान्य भएको छ । गुणस्तर चेकजाँच गर्ने निकाय त छ तर नाम मात्रको बनेको छ । महँगी अत्यधिक छ । स्वदेशमा रोजगारको अवसर छैन । युवाका लागि विदेश जानुपर्ने बाध्यता बन्दै छ । कृष्णबहादुर महराजस्ता नैतिकता नभएका नेताहरू छन् । 
 
यही भएर युवाहरु यथास्थितिप्रति विद्रोही भएका हुन् । परिवर्तन खोजेका हुन् । पटक(पटक संसद र सत्तामा पुगेका नेताले अब परिवर्तन ल्याउन सक्दैनन् भन्ने पुष्टि भइसकेको छ । राजनीतिक पेसा बनाएका परम्परागत सोचका कयौँ साना ठूला उम्मेदवार यस पटक मैदानबाट बाहिर हुने देखिएको छ । म यति वर्ष जेल बसेँ, म राजनीतिमा सिनियर हुँ, पार्टीको झोला बोकेर यति वर्ष हिडेँ भन्ने कयौं अब पाखा लाग्दैछन् । 
 
यो माहोलमा नयाँ चर्चित अनुहारहरु सामाजिक सञ्जालमा छाएका छन् । चुनावमा जित हार जे पनि हुन सक्छ तर केही महिनाअघि मात्र मिडिया छाडेर राजनीतिमा आएका रबि लामिछाने अहिलेका चर्चित उम्मेदवार हुन् । 
 
राष्ट्रिय स्वतन्त्र पार्टी बनाएर रबि चुनावमा होमिएका छन् । उनको चर्चा जुन रुपमा छ त्यो हेर्दा प्रत्यक्षमा केही स्थान जित्ने र समानुपातिकमा राम्रो भोट पाउने देखिन्छ । यही चुनावका क्रममा दर्ता भएको रविको पार्टी राष्ट्रिय पार्टी हुने देखिन्छ । 
 
अर्की चर्चित उम्मेदवार हुन्, डा. तोशिमा कार्की । ललितपुरबाट उम्मेदवारी दिएकी कार्की स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्छु भन्ने नाराका साथ चुनावमा छिन् । डा‍. कार्कीको उम्मेदवारीमा आएको विवादले पनि उनलाई थप चर्चा मिलेको छ । 
 
काठमाडौ क्षेत्र नं १ भित्र चर्चामा रवीन्द्र मिश्र छन् । उनले यसअघि पनि राजनीतिक विरासत बाकेका परम्परागत सोच राख्ने प्रकाशमान सिंहसँग तगडा प्रतिस्पर्धा गरेका थिए । करिब ८ सय मतान्तरले उनले पराजय भोगेका थिए । यस पटक उनी जित्ने संकल्पका साथ उम्मेदवार छन् । 
 
यस पटकको निर्वाचनमा जित्नै पर्ने उम्मेदवारको सूचीमा डा. शेखर कोइराला पनि परेका छन् । शेखरले यस पटक जित्नुपर्छ भन्ने धेरैको चाहना छ । राजनीतिमा आउनुअघि शेखर चिकित्सक थिए । यसअघि एमालेका लालबाबु पण्डितले शेखरलाई हराएका थिए । तर, पण्डितको सस्तो लोकप्रियता फुस्किसकेको छ । 
 
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाबाट उम्मेदवारी दिएका सागर ढकाल समाजिक सञ्जालमा सबैभन्दा चर्चित छन् । कयौँ समर्थक उनका पक्षमा भोट माग्दै समाजिक सञ्जालमा प्रस्तुत भएका छन् । पाँच पटक प्रधानमन्त्री भएका देउवाले अब पनि जितेर के हुन्छ भन्ने प्रश्नको कुनै उत्तर नै छैन । सागरलाई जित्न त्यति सजिलो त छैन तर देशभर अधिकांशमा सागरले जिते हुन्थ्यो भन्ने छ । 
 
जुम्लाबाट उम्मेदवारी दिएका ज्ञानेन्द्र शाही पनि अहिले चर्चामा छन् । खरो बोल्ने शाही प्रतिस्पर्धामा अघि रहेको देखिन्छ । भ्रष्टाचारविरुद्ध प्रखर रुपमा कुरा राख्न सक्ने शाही जुम्लाकै हुन् । उनले जुम्लाको चुनावमा एउटा तरंग नै ल्याएका छन् । 
 
यो निर्वाचनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, रामकुमारी झाँक्री, मानुषी यमी, सुमन पाण्डे, विनोद चौधरी, डा. विश्व पौडेल, राजेन्द्र लिङ्देन, मिलन पाण्डे, सीके राउत, पुष्कर ओझा, सुरेन्द्र चौधरी जित्नुपर्ने उम्मेदवार हुन् ।