मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अब मुलुकको नेतृत्व युवाले जिम्मा लिनुपर्छ : डा. स्वर्णिम वाग्ले

अब मुलुकको नेतृत्व युवाले जिम्मा लिनुपर्छ : डा. स्वर्णिम वाग्ले

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका युवा नेता अर्थविद् डा. स्वर्णिम वाग्लेले अबको मुलुकको नेतृत्व युवापुस्ताले जिम्मा लिनुपर्ने बताएका छन् । चितवन क्षेत्र नं १ को पर्साबजारमा बाम–लोकतान्त्रिक गठबन्धनले बुधबार आयोजना गरेको आमसभामा पाका नेताहरुको मार्गनिर्देशलाई शिरोधार्य गर्दै मुलुकलाई यो ठाउँमा ल्याई पु¥याउने नेताहरुलाई धन्यवाद दिएर आराम गर्न लगाउने र मुलुकको निकासका लागि युवाले नेतृत्व गनुपर्ने बताएका हुन् ।  
चितवनलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा कसरी अगाडि बढाउने भन्नेमा स्पष्ट खाका तयार गरेर सुशासन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए । नेपाली कांग्रेसले पाँच वर्षमा गर्नुपर्ने विकासका एजेन्डाहरुलाई आत्मसात् गरेर युवाहरु अगाडि बढ्नुपर्ने र आफू पनि यसलाई सफल बनाउन पंक्तिवद्ध भएको स्पष्ट पारे । पछिल्लो समय पार्टीहरुप्रति वितृष्णा पैदा भएकाले नयाँ शिराबाट काम गर्नुपर्ने बेला भएको उनले बताए । 
कोरोनाकालपछि मुलुकको अर्थतन्त्र डामाडोल भएकाले चुनावपछि यसलाई उकास्ने खालका योजना तथा उपाय सोच्नुपर्ने डा. वाग्लेले बताए । ‘अर्थतन्त्र कता जाँदै छ भन्ने अनिश्चितता छ’, वाग्ले भने, ‘आर्थिक एजेण्डाको काम गरेर अर्थतन्त्र सुधार गर्नुपर्छ । त्यसका लागि मंसिर ४ मा स्पष्ट दृष्टिकोण भएका नेतालाई जिताउनुपर्छ ।’ 
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका डा. वाग्लेले भने, ‘चितवन–१ का उमेदवार विश्वनाथ पौडेल युवा, विज्ञ, शोधकर्ता र यही क्षेत्रका हुनुहुन्छ । उहाँलाई भोलिको अर्थमन्त्रीका रुपमा हेरिएको छ । प्रदेश १ (ख) का उमेदवार कृष्ण खनाल एक शालिन, भद्र र विकासप्रेमी नेता हुनुहुन्छ । प्रदेश (क) का उमेदवार किरणभूषण ओली संगठनको नेतृत्वकर्ता र यहाँको समस्या बुझेका नेता हुनुहुन्छ । उहाँहरु तीनै जना उमेदवारलाई भारी मतले जिताउन आग्रह गर्छु ।’     
डा. वाग्लेले भने, ‘अहिले घन्टी बजेको सुनिन्छ । कुनै कालखण्डमा राजनीतिक पार्टीप्रति वितृष्णा हुनसक्छन् । जनताले रुचाएको उमेदवारलाई छान्ने नयाँ शिराबाट मत राख्ने छूट पनि छ । तर, क्षणिक असन्तुष्टिलाई कहीँ घोप्टाएर उपलब्धि डिरेल हुनसक्ने कुरालाई मनन गरेर गलत ठाउँमा मतको दुरुपयोग हुन दिनुहुँदैन ।’ 
‘राजनीतिक पार्टीहरु लामो आयु लिएर आएका हुन्छन्’, उनले भने, ‘पार्टीहरुले नै देशको निकास दिनसक्छन् । राजनीतिक दल र नेताहरुले केही गर्न सकेनन् भनेरमात्र हुँदैन, कुन उमेदवार कुन पृष्टभूमिबाट आएका छन् भन्ने पनि ख्याल गर्नुपर्छ ।’ गलत ठाउँमा आफ्नो मतको दुरुपयोग भयो त्यसले झन् देशलाई समस्या सृजना गर्न सक्ने उनको भनाइ थियो ।
उनले प्रतिस्पर्धी एमालेका उमेदवार सुरेन्द्र पाण्डेप्रति लक्षित गर्दै भने, ‘उहाँ तीनचोटि सांसद् भएर थकित हुनुभएको छ, उहाँलाई धन्यवादसहित विश्राम दिनुपर्ने बेला भएको छ ।’ 
डा. वाग्लेले भने, ‘अहिलेको सिस्टमबाट केही हुँदैन भन्ने भनाइ ठीक होइन ।’ ७५ वर्ष वर्षअगाडि विपी कोइरालाले परिकल्पना गरेको अवधारणाबमोजिम कांग्रेसको घोषणापत्रको संयोजकका रुपमा आफूले देशको सामाजिक तथा आर्थिक रुपान्तरण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाका लागि एजेन्डा प्रस्तुत गरेको र आगामी गठबन्धन सरकारले त्यसलाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । 
सभालाई सम्बोधन गर्दै चितवन–१ मा बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेदवार डा. विश्वनाथ पौडेलले अघिल्ला प्रतिनिधिबाट यो क्षेत्रको विकास हुन नसकेको भन्दै नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । आफूले योजना आयोगका उपाध्यक्षको हैसियत र उमेदवारका रुपमा यहाँका जनजाति, आदिवासी, चेपाङ जातिको समस्याबारे जानकार रहेकाले उनीहरुको सामाजिक रुपान्तरणमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
सभामा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश–१ का उमेदवार किरणभूषण ओली, प्रदेश–२ का उमेदवार कृष्णप्रसाद खनालले सम्बोधन गर्दै यो क्षेत्रको विकास र राजनीतिक निकासका लागि गठबन्धनका उमेदवारलाई जिताउन आग्रह गरे ।  
नेपाली कांग्रेस क्षेत्रीय कार्यवाहक सभापति गणेश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, नेकपा समाजवादीका अध्यक्ष कुलप्रसाद लामिछानेलगायतले मन्तव्य राखेका थिए ।