मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको माथिल्लो सदन डेमोक्रेटको नियन्त्रणमा

अमेरिकाको माथिल्लो सदन डेमोक्रेटको नियन्त्रणमा


टेक्सस (अमेरिका) – आउँदो दुई वर्षको लागि संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेट सत्तारुढ दल डेमोक्रेटिक पार्टीको नियन्त्रणमा गएको छ ।
 
चुनाव सकिएको चार दिनपछि पश्चिमी–दक्षिणी राज्य नेभाडाको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक पार्टीले जितेको छ । सो राज्यबाट लेटिनो समुदायकी क्याथरिन मास्टो विजयी भएको घोषणा गरिएको छ । यो नतिजा रिपब्लिकन पार्टीका लागि अप्रत्याशित हुन पुगेको छ । संसारमै जुवाको शहरको रुपमा ख्याति कमाएको लसभेगास शहर नेभाडा राज्यमा पर्छ । 
 
अमेरिकाभरि ‘रातो सुनामी’ ल्याउने घोषणा गरेका विशेषगरि ट्रम्प मार्काका रिपब्लिकनहरु सिनेटमा आफ्नो वर्चश्व गुमाएपछि आहत हुन पुगेका छन् । 
 
इतिहासमै पहिलोपटक राष्ट्रपति यति धेरै अलोकप्रिय हुँदाहुँदै भएको मिडटर्म चुनावमा रिपब्लिकनले क्षती व्यहोर्नु नपरे पनि चाहेको सफलता पाउन सकेनन् । राष्ट्रपति जो बाइडेनको एप्रुभल रेट ४४ प्रतिशतभन्दा तल छ । 
 
एकसय सिटको सिनेटमा डेमोक्रेटले ५० सिट जितिसकेका छन् । कुनै विषयमा मत बराबर हुँदा उपराष्ट्रपतिले निर्णायक मत दिन पाउने व्यवस्था छ । उपराष्ट्रपति कमला ह्यारिसको मत समेत जोडिँदा सिनेटमा डेमोक्रेटिक पार्टीको सिट संख्या ५१ पुगेको छ । 
 
चुनावी नतिजा आउन अब एक सिटमात्र बाँकी छ । पूर्वी राज्य जर्जियाको एक सिटमा आउँदा डिसेम्बर ६ तारिकमा चुनाव हुँदैछ । त्यो चुनावलाई आफ्नो पक्षमा पार्न दुवै दलले भएभरको शक्ति त्यहाँ खर्चिने संकेत देखिएको छ । 
 
नोभेम्बर ८ मा भएको चुनावको हालसम्म प्राप्त परिणामअनुसार तल्लो सदनका चारसय ३५ सिटमध्ये चारसय १४ को नतिजा आइसकेको छ । त्यसमध्ये रिपब्लिकनले दुईसय ११ सिट जितेका छन् । डेमोक्रेटिक पार्टीले दुईसय तीनसय सिट जितिसकेको छ । 
 
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इण्डोर्स गरेका उम्मेदवारमध्ये सिनेटका तीन, हाउसका सात र गभर्नरका ६ जना पराजित भएका छन् । तल्लो सदनमा बहुमत हुन दुईसय १८ सिट जित्नुपर्छ । तल्लो सदनमा रिपब्लिकन पार्टी बहुमतको नजिक पुगिसकेको छ । तल सुविधायुक्त प्रचण्ड बहुमत भने रिपब्लिकन पार्टीको पक्षमा जाने संकेत देखिएको छैन ।
 
राष्ट्रपतिका नीति, कार्यक्रमहरु दुवै सदनबाट पारित हुनुपर्छ । तल्लो सदनमा विपक्षी दलको बहुमत पुगेको अवस्थामा राष्ट्रपतिलाई काम गर्न अप्ठेरो हुनेछ । तर माथिल्लो सदनमा विपक्षी दलको बहुमत नहुँदा उसले चाहेअनुसार पनि हुन सक्दैन ।
 
अमेरिकामा माथिल्लो सदन सिनेटलाई निकै महत्त्वपूर्ण रुपमा लिइन्छ । किनकी सिनेटका सदस्यहरु राजनीतिमा खारिएका र अनुभवी हुन्छन् । सिनेटरको पदावधि ६ वर्षको हुन्छ । हरेक दुई वर्षमा एक तिहाईका पदावधि सकिन्छ । 
 
तल्लो सदन हाउसको पदावधि भने दुई वर्षको मात्र हुन्छ । त्यसले गर्दा हरेक दुई वर्षमा हाउसका सदस्यहरुको चुनिने गर्छन् ।