मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नवलपरासी १ : विनोद चौधरी र हृदयेश त्रिपाठीबीच प्रमुख प्रतिस्पर्धा

नवलपरासी १ : विनोद चौधरी र हृदयेश त्रिपाठीबीच प्रमुख प्रतिस्पर्धा


नवलपरासी । पश्चिम नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ यतिबेला विशेष चर्चामा छ । उद्योगपति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी सांसद् बन्नका लागि पहिलोपटक प्रत्यक्ष रूपमा निर्वाचन लडेका कारण पनि यस क्षेत्रले चर्चा पाएको हो । 
विश्वकै धनीभित्र सूचीकृत एवं चौधरी उद्योगका मालिक विनोद चौधरी नेपाली कांग्रेसलगायत पाँच दलीय गठबन्धनबाट यस क्षेत्रको चुनावी मैदानमा छन् भने नेकपा एमालेको समर्थनसहित यस क्षेत्रबाट पटक–पटक निर्वाचन जित्दै आएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी चुनावी मैदानमा छन् ।
अघिल्लो पटक नेकपा एमालेको चुनाव चिह्नबाट निर्वाचित भएका त्रिपाठी अहिले आफ्नै पार्टीको चुनाव चिह्नबाट नेकपा एमालेको समर्थनसहित चुनावी मैदानमा छन् । अहिलेसम्म ६ पटक निर्वाचन लड्दा त्रिपाठीले २०७० को संविधानसभाको निर्वाचनमा मात्र पराजय बेहोरेका थिए । 
राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका पार्टी र केही स्वतन्त्र गरी १६ जना चुनावी मैदानमा रहेको यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धा विनोद चौधरी र हृदयश त्रिपाठीबीच नै हुने देखिन्छ ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी यस क्षेत्रमा लामो समयदेखि राजनीतिमा पकड जमाएका मधेसीका नेता हुन् भने चौधरी एकपटक नेकपा (एमाले) र एकपटक नेपाली कांग्रेसको समानुपातिकबाट गरी दुई पटक सांसद् हुँदै तेस्रो कार्यकालको लागि पहिलोपटक प्रत्यक्षरूपमा जनतामाझ मत माग्न गएका नयाँ अनुहार हुन् ।
दुवै उमेदवार अहिले मतदाताको मन जित्ने अभियानमा घरदैलो गरिरहेका छन् । चौधरी अहिले हृदयशले पटक पटक यस क्षेत्रबाट निर्वाचन जितेर पनि केही गर्न नसकेको भन्दै आफू विकासको एजेन्डा बोकेर मत माग्दै आएको बताउने गरेका छन् भने त्रिपाठीले विगतमा आफूले गरेको कामको जस लिने र गर्न नसकेका कामहरू पूरा गर्ने प्रतिबद्धताका साथ घरदैलोमा पुगेका छन् । त्रिपाठीले चौधरीलाई भन्सार छलेर गरेर देशलाई नोक्सान पु¥याउनेले देश विकास नगर्ने भन्दै जनताको मत आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।
 
त्रिपाठीका चुनौती
 
त्यसो त २०७० सालको संविधानसभाको निर्वाचनमा पहिलोपटक नेपाली कांग्रेसका उमेदवार देवकरण कलवारसँग पराजित भएका त्रिपाठीले २०७४ को निर्वाचनमा नेकपा एमालेकै चुनाव चिह्न लिएर निर्वाचन जितेका कारण उनको वास्तविक मत कति हो आँकलन गर्न गाह्रो छ । अहिले त्रिपाठीले एमालेको समर्थनमा निर्वाचनमा सहभागी भएका भए पनि उनले सूर्य चुनाव चिह्न नलिएका कारण यस पटक २०७४ को निर्वाचनमा जस्तो सजिलै जित हात पर्न सकिने अवस्था देखिँदैन । 
त्रिपाठीलाई जित निकाल्नका लागि एकातिर नेकपा (एमाले)का कार्यकर्ताहरुलाई रिझाउन आवश्यक रहन्छ भने अर्कोतिर उनकै चुनाव चिह्नको प्रचारमा पनि थप समय खर्चिनु पर्ने देखिन्छ भने नेकपा एमालेका कार्यकर्ता सबैले उनलाई नै मत हालिहाल्छन् भन्ने आधार त्रिपाठीले अझै बनाउन सकेका छैनन् । 
२०७४ सालको निर्वाचनमा नवलपरासी १ (ख) बाट त्रिपाठीको समूहबाटै जितेका अजयबहादुर शाही हाल लुम्बिनी प्रदेशका उद्योगमन्त्री छन् । उनले प्रतिनिधिसभातर्फ अहिले नवलपरासी–१ बाटै स्वतन्त्र उमेदवारी दिएका छन् ।
प्रतापपुर निवासी शाहीको स्थानीयस्तरमा राम्रै प्रभाव छ । शाही आफ्नो अस्तित्वका लागि चुनावी मैदानमा गएको दाबी गर्दछन् । विगतमा त्रिपाठीकै समूहमा रहेका कारण उनले यस पटक त्रिपाठीकै केही मत काट्ने अनुमान गरिएको छ । तथापि शाहीले कांग्रेसको पनि मत काट्ने भएका कारण शाहीको उमेदवारी त्रिपाठी र चौधरी दुवैलाई भारी पर्ने देखिएको छ ।
चौधरीका चुनौतीहरु
निर्वाचन प्रचार अवधि सुरू हुनुअघि नै निकै तामझामका साथ चुनावी प्रचारमा जुटेका चौधरीले पश्चिम नवलपरासी १ मा कांग्रेसको झण्डा गाड्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । चुनावी प्रचारका क्रममा अन्य उमेदवारहरुले लगाउने गरेको आरोपको मतदातामाझ चित्तबुझ्दो जवाफ चौधरीले दिनु पहिलो आवश्यकता देखिन्छ । जुन चौधरीले दिन आवश्यक ठानेको देखिँदैन ।
२०७० को निर्वाचनमा कांग्रेसले जित हात पारेको क्षेत्रमा २०७४ को निर्वाचनमा हृदयशले सूर्य चुनाव चिह्नकै सहारा लिएर भए पनि पुन जित हात पारेका थिए । स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुले पाएको मतलाई आधार मान्ने हो भने यहाँ कांग्रेस अगाडि देखिए पनि स्थानीय तहको निर्वाचनमा पाएको मत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आँकलन गर्दा ठूलो जोडघटाउ बिग्रने राजनीतिज्ञहरु बताउँछन् ।
चौधरी पहिलोपटक निर्वाचनमा होमिएका कारण पनि उनलाई थप चुनौती छ भने उक्त क्षेत्रमा अझै पनि गठबन्धनबीचको तालमेल पूर्णरूपमा मिलिनसकेको नेकपा माओवादी केन्द्रको मत उनले पाउने कि नपाउने यकिन भइसकेको छैन । जुन विषय चुनावअघि नै मिलाउनु चौधरीलाई अर्को चुनौती छ ।
नवलपरासी प्रतिनिधिसभा १ को निर्वाचनमा गठबन्धनबीच बाहिर सतहमा विवाद नदेखिए पनि विनोद चौधरीकै निर्वाचन क्षेत्रसँग जोडिएको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ ख मा भने गठबन्धनबीच विवाद कायमै छ ।
यहाँ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष रामानन्द यादवलाई टिकट दिएको भए पनि नेपाली कांग्रेसबाट देवकरण कलवारले पनि उमेदवारी दिएका छन् । जुन उमेदवारी उनले समयभित्र फिर्ता लिएनन् भने अझै निष्क्रिय पारेको घोषणा गरेका छैनन् ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष एवम् प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (ख) का उमेदवार रामानन्द यादवले आइतबार केही स्थानीय पत्रकारसँग पत्रकार सम्मेलन गरी देवकरण कलवारले उमेदवारी निष्क्रिय पारेर आफूलाई समर्थन नगरे पश्चिम नवलपरासी जिल्लाभर नै गठबन्धन तोड्ने चेतावनी दिएका छन् ।
गठबन्धनभित्र चौधरीलाई सीतादेवी वौडेलले उमेदवारी निष्क्रिय पारेर समर्थन जनाए पनि कलवारले निष्क्रिय नपारेका कारण केही दिनयता नेकपा (माओवादी केन्द्र)का पार्टी नेता तथा कार्यकर्ताहरु चौधरीको चुनावी अभियान तथा घरदैलोमा सहभागी हुनसमेत छाडेका छन् ।
नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले अनधिकृत टिकट ल्याई उमेदवारी दिएको भन्दै पार्टी आन्दोलनको रक्षा गर्नको निम्ति सीतादेवी वौडेल र चन्द्रकान्त ढकालले स्वतन्त्र उमेदवारी दिएको बताएका थिए । निर्वाचन आयोगले उनलाई पुतली चुनाव चिह्न प्रदान गरेको थियो ।
कार्तिक ११ गते बसेको सत्ता गठबन्धनको केन्द्रीय बैठकको निर्णयअनुसार आफूहरुले उमेदवारी फिर्ता लिएको वौडेलको भनाइ छ । माओवादीका नेताहरुले उमेदवारी निष्क्रिय पारेपछि चौधरीलाई सहज भएको भए पनि कलवारको कायम रहेको उमेदवारीले माओवादी केन्द्र पुनः हच्केको छ ।
स्थानीय अंकगणित
२०४८ सालदेखि लगातार चुनावी मैदानमा गएका त्रिपाठी २०७० सालमा नेपाली कांग्रेसका देवकरण कलवारसँग पराजित भएका थिए । २०७४ सालमा उनै कलावरलाई हराउन एमालेको सूर्य चुनाव चिह्न लिएर मैदानमा गएका त्रिपाठीले ५ हजार १ मतान्तरले जित हासिल गरेका थिए । कलवार अहिले प्रदेशसभामा उमेदवार छन् ।
नवलपरासी १ मा हालै सम्पन्न स्थानीय तहको चुनावमा वडाध्यक्ष पदका उमेदवारले पाएको मतका आधारमा कांग्रेसको ३० हजार ३४२, एमालेको २६ हजार ७७९, राप्रपाको ६ हजार ६८७, माओवादीको ५ हजार ३४७, जसपाको ३ हजार ५५९, नेकपा (एकीकृत समाजवादी)को एक हजार १४१, लोसपाको १०० मत छ ।
यहाँ त्रिपाठीको दल जनता प्रगतिशील पार्टीले स्थानीय चुनावमा प्रतापपुर गाउँपालिकाबाहेक अन्यत्र उमेदवारी दिएको थिएन । प्रतापपुर गाउँपालिका अध्यक्षमा उक्त पार्टीका उमेदवारले ३ हजार ८०८ मत पाएका थिए ।
यही मतलाई आधार मानेर एमालेसँग जोड्दा त्रिपाठीभन्दा चौधरी अगाडि देखिन्छन् । क्षेत्र नम्बर १ मा पर्ने सुस्ता, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका स्थानीय चुनावमा नेपाली कांग्रेसले जितेको थियो भने सरावल गाउँपालिका नेकपा (एमाले)ले जितेको थियो ।
अन्य दलको चुनौती
स्थानीय तहको निर्वाचनमा काठमाडौँ र धरानमा स्वतन्त्र उमेदवारहरुले मेयरमा जित निकालेसँगै हौसिएर उमेदवारी दिएका स्वतन्त्र उमेदवारहरु, लौरो चुनाव चिह्न कब्जा गरेर चुनावमा होमिएको नेपाली जनता पार्टी, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरु विनोद चौधरी र हृदयश त्रिपाठी दुवैको साझा टाउको दुखाइको विषय बनेका छन् ।
चुनावमा जित हात पारिहाल्न सक्ने अवस्थाको आँकलन गर्न नसकिए पनि ती उमेदवारहरुले ठूलै दलको मत घटाउने र आफ्नो मत बढाउने भएकोले चौधरी र त्रिपाठी दुवैलाई उनीहरु आफ्नो कति मत काट्छन् भन्ने चिन्ता रहिरहने देखिन्छ ।