विचार / ब्लग

आसन्न निर्वाचन र मतदाताको दायित्व

प्रकाशित |
यतिबेला नेपालमा निर्वाचनको निकै रोचक माहोल बनेको छ । यही मङ्सिर ४ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदै छ भने यही निर्वाचनपछि देशले नयाँ सरकार पनि प्राप्त गर्नेछ । यसैगरी, विश्वको शक्तिशाली राष्ट्र अमेरिकामा पनि मध्यावधि निर्वाचन भइरहेको छ । अमेरिकाको निर्वाचनका लागि अन्तिम मतदान गर्ने दिन यही नोभेम्बर ८ तारिख रहेको छ । हाल अमेरिकामा भइरहेको निर्वाचतप्रति यहाँका जनताप्रति त्यति धेरै चासो छैन जति नेपालको निर्वाचनप्रति चासो र रौनक छ । अमेरिकामा प्रत्येक दुई वर्षमा हुने मध्यावधि चुनावमा सिनेटका एक तिहाइ सदस्य निर्वाचित हुने गर्छन् । यो चुनाव राष्ट्रपतीय चुनावजस्तो आमचासोको विषय नभए पनि राष्ट्रिय राजनीतिलाई भने प्रभाव पार्ने गर्छ अथवा यसले राष्ट्रपतीय चुनाको भविष्यवाणीसमेत गर्नमा सघाउ पुर्याउने गर्छ ।
 
अमेरिकाको निर्वाचनको बारेमा यहाँका नागरिकलाई खासै चासो हुँदैन । यहाँको चुनावमा न कसैले कसैलाई गालीगलौज गरेको सुनिन्छ नत ठूलो स्वरमा झूटा आश्वासन नै बाँडेको सुनिन्छ । चुनाव हुँदैछ भन्ने कुरा कि त ‘मेलबक्स’ मा चिठीमार्फत थाहा हुन्छ कित घरको ढोकामा झुन्ड्याइदिएको पर्चा देखेर । त्यसरी थाहा पाइहाले पनि निर्वाचनप्रति चासो र सक्रियता भने एकदम थोरैको हुने गरेको पाइन्छ । पछिल्लो समयमा अमेरिकाको चुनावमा नेपालीको केही मात्रामा उपस्थिति तथा सहभागिता देखिन थालेको छ । सायद, नेपालको हावापानीले होला, अमेरिकामा पनि नेपालीले गर्ने राजनीति अरूले गर्नेभन्दा केही फरक अथवा धेरथोर ‘नेपालीपन’ भने देखिने गरेको पाइन्छ ।
 
राज्यको सबैभन्दा सुन्दर र महत्त्वपूर्ण पक्ष एउटै मात्र हो - राजनीति । राजनीतिमा आबद्ध सबै व्यक्ति नेता बन्न सक्दैनन् भने नेता आफैंमा सर्वगुणसम्पन्न पनि हुन सक्दैन । नेतृत्वले जोखिम मोल्ने र यथास्थितिलाई चुनौतीका साथ सुमार्गतर्फ लैजानका लागि आफू तल्लीन हुने तथा अरूलाई नयाँ उपलब्धि हासिल गर्न उत्प्रेरित गर्छन्, जसलाई नेता भनिन्छ । यस्तै, वैज्ञानिक तरिकाले तर्जुमा गरिएका नीति-नियम एवम् आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि उपयुक्त र सही तरिकाले जिम्मेवारी बाँडफाँट गरी नियमभित्र रहेर पालना गर्नु/गराउनु व्यवस्थापकीय जिम्मेवारी हो, जसलाई व्यवस्थापक भन्ने गरिन्छ । अत: नेतृत्वलाई सफल बनाउनमा महत्त्वपूर्ण भूमिका व्यवस्थापकीय संरचनाको हुने गर्छ । यसकारण एउटा असल तथा सफल नेता हुनका लागि एक्लै होइन विविध विषयमा विज्ञ व्यक्तिको साथ र सहयोगमा विश्वास राखेर अगाडि बढ्नु आवश्यक छ । तसर्थ, एउटा असल व्यवस्थापक सफल नेता नबन्न सक्छ किनकि उसमा नेतामा जस्तो जोखिम मोल्ने हिम्मत कम हुने गर्छ ।
 
मैले अमेरिकाको राजनीतिलाई नजिकबाट नियाल्न र बुझ्न कोसिस गरिरहेको परिप्रेक्ष्यमा नेपालको राजनीतिक गतिविधि र त्यहाँका राजनीतिक कार्यकर्ता वा उनीहरूकै शब्द सापट लिने हो भने ‘नेता’ भनाउन इच्छुक व्यक्तित्वहरूको क्रियाकलाप हेर्दा आँफैलाई असजिलो महसुस हुने गर्छ । किनकि, नेपालको परिवेशमा आमनेपालीबीच सबैभन्दा गुमेको र उकास्न गार्हो वस्तु भनेको “अनुसाशन” नै हो । र, आफूलाई युवानेता भन्नेहरूले यो बुझ्न अत्यन्तै जरुरी छ कि “अनुशासन र आदर-सम्मान” विनाको व्यक्ति ‘धुन्धुकारी’ समान हुन्छ । यसले आफू पनि अगाडि बढ्न सकिँदैन र अरुको लागि पनि केही गर्न सकिँदैन । अहिले नेपालको सबैभन्दा भयावह स्थिति भनेको अनुशासनको अधोगति नै हो र यसलाई समयमै  सुधार्नुपर्ने आवश्यकता देखिएको छ । 
 
कसैले मोटो स्वरमा आफूभन्दा अग्रजहरूलाई तथानाम गालीगलौज गर्दैमा नेता हुने भए, एउटा राजनीतिक पार्टीको कार्यकर्ताले अर्को राजनीतिक पार्टी तथा कार्यकर्तालाई विनाआधार, कपोलकल्पित, भ्रामक प्रचार-प्रसार गर्दैमा नेता हुने भए, लामो समय कुनै राजनीतिक दलमा आबद्ध भएको तथा जेल बसेको भरमा ठूलो स्वरमा, विनाआधार र असम्भवप्राय: आश्वासनका साथ भाषण गर्न सिपालु व्यक्ति नेता हुने भए, अनि शैक्षिक एवम् व्यावहारिक ज्ञानविना अरुको झोले एवम् हनुमानचरित्र वहन गर्ने व्यक्ति नेता हुने भए नेपाल ‘नेतैनेता’को देश भनेर विश्वमाझ परिचित हुने थियो । विडम्बना, देश अधोगतितर्फ जानुको एक मात्र कारण विकासका पूर्वाधार युवाहरू विदेश पलायन हुनु र देशमा भएका युवाजति सबै नेता बन्नु नै हो । अन्य देशमा नेता भेट्टाउन गार्हो हुन्छ भने हाम्रो देशमा कार्यकर्ता भेट्टाउन गार्हो हुन्छ । यही फरक छ नेपाल र अन्य देशमा । 
 
एउटा बुवासमानको अग्रज व्यक्ति जो लामो समयदेखि राजनीतिमा क्रियाशील छ, जो राष्ट्रको उच्च पदमा रहेर राष्ट्रको सेवा गरिसकेको छ, उनीहरूलाई आफूलाई सर्वसम्पन्न व्यक्ति ठानेर तिनै अग्रजहरूलाई तथानाम गालीगलौज अनि विषयलाई तोडमोड गरेर गलत प्रचारप्रसार गर्ने विनाअनुभवी र योजनाविहीन युवाद्वारा कुनै पनि हालतमा देशको विकास र विस्तार हुनै सक्दैन । आफूलाई युवानेता भनाउन चाहनेले थोरै समय निकालेर भए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट राजनीतिक संस्कार सिक्दा कुनै हानि हुँदैन । यहाँ युवाको मात्र दोष होइन, दोष अग्रजहरूको पनि त्यतिकै छ । आफ्नो पार्टीभित्र आबद्ध नेता तथा कार्यकर्तालाई नियम-कानुनको पालना गराउन नसक्ने, अनुशासन कायम गर्न नसक्ने, पार्टी र व्यक्तिको स्वार्थमा परेर राष्ट्रलाई योजनाविहीन र गतिहीन बनाउने व्यक्तित्वहरूले स्वविवेक पार्टीबाट बाहिर बसेर आफ्नो पार्टी र नेतृत्वलाई स्वच्छ नबनाउने हो भने देश झन् दिशाविहीन एवम् अस्तव्यस्त बन्नेमा शंकै छैन ।
 
ठूलो स्वरमा भाषण र गालीगलौजको प्रवृत्तिले न समाज समृद्ध हुन्छ नत राष्ट्र नै । हामी स्वविवेक प्रयोग गर्न सक्दैनौं । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्दैनौं । सहीलाई सही र गलतलाई गलत भन्न सक्दैनौं । हामी राम्रोलाई होइन, हाम्रोलाई प्राथमिकता दिन्छौं । हामी वैज्ञानिक आधारलाई होइन, भावनात्मक क्रियाकलापलाई प्राथमिकतामा पार्छौं । त्यसैले अब हामी “जो ‘नेता एवम् कार्यकर्ता’ होइन, ‘जनता’ जो भोटको मात्र अधिकार राख्छौं” ले अब सोच्ने मात्र होइन, यो चुनावमा सक्षम र योग्य व्यक्तिलाई भोट दिएर जिताउने र देशलाई समृद्धितर्फ लैजाने सुनौलो अवसर हाम्रै अगाडि छ । अहिले युवाको नाममा युवाले युवालाई नै बदनाम गराइरहेको पनि देखिन्छ । यसप्रति पनि हामी ‘मतदाता’ले सजगता अपनाउनु आवश्यक छ । नेपाल अहिलेको यो अवस्थामा पुग्नुमा हामी ‘मतदाता’को पनि ठूलो हात रहेको छ । किनकि, हामीले स्वविवेक प्रयोग गरेनौं । चुनावको बेलामा कुनै राजनीतिक पार्टीको भोजमा गएर एक छाक खाना र मादक पदार्थको लोभमा केवल झूटा आश्वासनमा परेर गलत व्यक्तिलाई भोट दिएर हामीले आफ्नो र आफ्नो सन्ततिको भविष्यमाथि खेलबाड गरिरह्यौं । आजैबाट यो स्थितिलाई सुधार्ने आँट गर्नु आवश्यक छ । 
 
हामीले आजैबाट राष्ट्रको असल नागरिक बन्नेतर्फ सोच्नुपर्ने बेला आएको छ । अनुशासनको पालना आफैंबाट सुरुवात गर्ने समय आएको छ । एकअर्काप्रति आदर-सम्मान आफैंबाट सुरुवात गर्ने समय आएको छ । अरूलाई नकारात्मक गालीगलौज र समस्या मात्र थोपर्ने होइन, वैज्ञानिक आधारसहितका समाधानका उपाय र योजनाका साथ अगाडि बढ्ने समय आएको छ । गालीगलौज र नकारात्मक प्रतिक्रियाका लागि गहन अध्ययनको आवश्यकता पर्दैन र यसले समाज र राष्ट्रको भलाइ पनि गर्दैन । अहिले नेपालमा सकारात्मकभन्दा नकारात्मक प्रवृत्तिको विकास तिव्रगतिमा भइरहेको देखिन्छ । यसो हुनुमा विशेषगरी केही सञ्चारमाध्यम एवम् सामाजिक सञ्जालमा आबद्ध व्यक्तिहरूको पनि उत्तिकै भूमिका रहेको छ । सीमित स्वार्थका कारण सामाजिक सञ्जालमार्फत नकारात्मक तथा भ्रामक गतिविधिलाई बढावा दिने सञ्चालनकर्ता र यसलाई उपयोग गर्ने उपभोक्ताहरूले पनि सही र गलत नबुझीकन विनाआधारका सूचनालाई विश्वास गर्ने गरेका कारण नेपाली समाज एवम् सिङ्गो राष्ट्र नै उथलपुथल हुन पुगेको छ । यसकारण, यो परिस्थितिलाई सही मार्गमा ल्याउँदै राष्ट्रलाई समृद्धितर्फ लैजानका लागि पनि हामीले सही एवम् सक्षम नेतृत्व, शिक्षित एवम् अनुभवी तथा राष्ट्रप्रेमी एवम् निष्ठावान् व्यक्तित्वलाई मतदान गरेर विजय गराउनु हाम्रो कर्तव्य हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया