मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दानवीर र समाजसेवीका पर्याय मैयाँदेवी श्रेष्ठको निधन

दानवीर र समाजसेवीका पर्याय मैयाँदेवी श्रेष्ठको निधन


भरतपुर । वरिष्ठ राजनीतिज्ञ एवं समाजसेवी मैयादेवी श्रेष्ठको ९५ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ । नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ भई यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन् । 
 
वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्वसांसद श्रेष्ठको आइतबार बिहान निधन भएको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए ।
 
नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद् श्रेष्ठ भरतपुरस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन् । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्बभन्दा माथिको रहेको छ ।
 
को हुन् मैयाँदेवी ? 
 
मैयाँदेवी बुबा बीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठबाट तनहुँको बन्दिपुरमा विसं १९८७ असोज ५ गते फूलपातीको दिन जन्मिएकी हुन् ।   
 
वीरगञ्जमा डिठ्ठा रहेका बुबा बीरबहादुरको निधनपछि सानै उमेरबाट आमा गणेशकुमारीको माया ममतामा हुर्किएकी मैयाँदेवीले विवाह गरिनन् । उनको आइतबार बिहान ९५ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।   
 
आइतबार बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उनको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिएको थियो । त्यसपछि उनी संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा राखेर दिउँसो देवघाटमा हिन्दु धर्म संस्कारअनुसार अन्त्येष्टि गरिँदैछ । 
 
नेपाली कांग्रेसले शोक वक्तव्य जारी गर्दै आइतबारका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ ।
 
एक अर्बभन्दा माथि दान

दानवीर र समाजसेवीको पर्याय बनेकी उनले हालसम्म दान गरेको सम्पत्ति एक अर्ब रुपैयाँभन्दा माथि रहेको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले बताएका छन् । उनले नारायणगढमा हाल सञ्चालनमा रहेको बालकुमारी कन्या स्कुललाई १० कठ्ठा जग्गा दान गरी दार्जलिङ्गदेखि शिक्षक बोलाएर पठन पाठन सुरु गराएकी थिइन् । अहिले सो स्कुलमा कक्षा १२ सम्मको पढाइ हुँदै आएको छ । 
 
उनले भरतपुरको मैयाँदेवी कन्या कलेज स्थापनाका लागि करोडौँ रुपैयाँ खर्च गरेकी छन् । उनी सो कलेजको संरक्षक हुन् । हाल समुदायको व्यववस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा कक्षा ११ देखि स्नाकोत्तरसम्मको पढाइ हुँदै आएको छ ।  
 
मैयाँदेवी श्रेष्ठले विसं २०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रियसभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद् रहिन् ।  उनले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवि भवनमा तीनतले घरजग्गा पार्टीलाई दान दिएकी हुन् । यस्तै, चितवन कांग्रेसका लागि नारायणगढको मुटु कमलनगरमा रहेको जग्गा र भवन दान गरेकी छन् । 
 
नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालय निर्माणका लागि २० लाख, कांग्रेस देवघाटका लागि घडेरी दान, प्रजातन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि उनले बसेनीमा जग्गा दान गरेकी छन् । 
 
यस्तै, पिस फेडेरेसन भरतपुर ११, नारायणचारी बाबा देवघाटधाम, महेश सन्यास आश्रम देवघाट, पतन्जली योग समिति नारायणगढ, नेवा पुचः नारायणगढलगायतलाई उनले जग्गा दान गरिसकेकी छन् । 
 
यसैगरी, आफ्नो सेवामा समर्पित हुने धर्मपुत्रहरु, भतिज र अन्य सेवकहरुलाई पनि उनले जग्गा दान गरेकी छन् । सेवा गरेका छोराहरु टंकनाथ पौडेल, ऋषिराम गौतम, हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई जीवन चल्नेगरी नारायणगढ बजारमा जग्गा दान गरेकी छन् । 
 
यस्तै, दाइका छोराहरु प्रेमकुमार श्रेष्ठ, सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि उनले जग्गा दिएकी छन् । आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै घडेरी दिएकी छन् भने भान्से ईन्दिरा ढकाललाई देवघाटमा घडेरी दिएकी छन् । 
 
पूजारी रामबहादुर कार्की र उनकी श्रीमती देवीलाई देवघाटमा घडेरी दिएकी छन् भने यौवन अवस्थादेखिका साथी विष्णुमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिएकी छन् । 
 
श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुबाको अन्त्यष्टिमा पाल्पाबाट झिकाएका पण्डित शिस्वानी बाजे र बजैलाई पनि उनले नारायणगढ बजारमा घडेरी दिएकी छन् । पुरेत षडानन्द लामिछानेलाई नारायणगढमा, ट्रष्टका सचिव हरि ढकाललाई देवघाटमा, पूर्वमन्त्री चित्रलेखा यादवलाई देवघाटमा, ठूलीआमाको छोरा कृष्णभाइ प्रधानलाई देवघाटमा, नातिनी उन्नति अधिकारी र श्रेया पौडेललाई समेत उनले घडेरी दिएकी छन् ।
 
यसैगरी पूर्वप्रबन्धक खोपमबहादुर र सहयोगी काजीरामकी श्रीमतीलाई पनि बसेनी घडेरी दिएकी छन् ।  
 
पछिल्लो पटक उनले नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाका छोरा शशांक कोइरालालाई भरतपुरमा झण्डै एक करोड पर्ने जग्गा दान दिएकी छन् । उनको बचेको करोडौँको सम्पत्ति उनकै नाममा ट्रष्ट बनाएर राखिने गरी दान दिएकी छन् ।