मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तीन दशकको लगानी राष्ट्रहितमा लगाउन चाहन्छु : डा. स्वर्णिम वाग्ले

तीन दशकको लगानी राष्ट्रहितमा लगाउन चाहन्छु : डा. स्वर्णिम वाग्ले

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको क्षेत्र नं- १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट उमेदवार सिफारिस भएका अर्थविद् डा. स्वर्णिम वाग्लेले आफ्नो तीन दशकको अनुभव र लगानीलाई राष्ट्रका लागि योगदान गर्न चाहेको बताएका छन् । 
नेपाली कांग्रेस रत्ननगर–१६ द्वारा आयोजित अन्तर्संवाद कार्यक्रममा उनले मंसिर ४ मा हुने आमनिर्वाचनका लागि पार्टीले आफूलाई टिकट दिए जनताको मत जितेर आफूले आर्जन गरेको लगानी राष्ट्रहितमा लगाउने बताएका हुन् । आफूले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदा गर्व गर्नलायक काम गरेको उनले स्मरण गरे । 
२०७२ सालको भूकम्पपश्चात् नीतिगत निर्णय, पूर्वाधार विकास र कृषि क्षेत्रका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले बताए । उनले भूकम्पले पुर्‍याएको क्षतिको यथार्थपरक आँकलन गरी अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत चार खर्ब लगानी भित्र्याएर पूर्वाधार, ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरुको पुनर्निर्माण र भूकम्प प्रभावितको पुनस्र्थापनाका लागि अभूतपूर्व सफलता हासिल गरेको उल्लेख गरे । 
देशले युवा र स्पष्ट दृष्टिकोण भएको जनप्रतिनिधि खोजेको अवस्थामा आफूमा जनअपेक्षा बमोजिमको योग्यता र विज्ञता रहेको उनले बताए । विश्व बैंक, युएनडिपीजस्तो गैरसरकारी संस्थामा नीति विशेषज्ञको रुपमा रहेर ६५ देशमा काम गरेको अनुभव आफूसँग रहेकोले देशको नीतिनिर्माण तथा योजना तर्जुमा गर्न आफू सक्षम रहेको उनले बताए । 
मतदातामा गर्विलो महसुस हुनेगरी देशकै हितमा काम गर्न आफू वरिष्ठ अर्थशास्त्रीको जागिर छाडेर स्वदेश फर्किएको उनले सुनाए । समुन्नत नेपाल निर्माणका लागि लोकतन्त्रको स्वास्थ्य सुधारगरी खर्चिलो चुनावको पद्दति हटाउने, आर्थिक समृद्धिका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने, समन्यायिक समाज स्थापनाका लागि कोखदेखि शोकसम्म अर्थात जन्मदेखि मृत्युसम्म राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने, सांस्कृतिक सहअस्तित्व बोध गराउने र परराष्ट्र सम्बन्धमा स्पष्ट दृष्टिकोण बनाउनेलगायतका आफ्ना एजेन्डा उनले प्रस्तुत गरे । 
अन्तर्संवाद कार्यक्रममा वडा नं–१६ का सभापति देवबहादुर रानामगर र चितवन क्षेत्र नं १ प्रदेशसभा ‘ख’का सभापति गोविन्द गौतमले सहजीकरण गरेका थिए । 
को हुन् डा. स्वर्णिम वाग्ले ?
विसं २०३१ सालमा गोरखाको बुङ्कोटमा जन्मिएर २०४० सालदेखि पूर्वी चितवनको रत्ननगर–४, भोकाहाको एक जमिन्दारको बस्तीमा रहेर विद्यालय शिक्षा आर्जन गरेका स्वर्णिम वाग्ले २०४६ सालको एसएलसी परीक्षामा बोर्ड द्वितीय भएका थिए । उनको सम्मानमा सोही बेलादेखि नै भोकाहा बस्तीको नाम ‘स्वर्णिम बस्ती’ नामाकरण भएको थियो । 
नेपालकै बोर्ड द्वितीय भए पनि उनले अर्थशास्त्र विषय रोजे । र, बुढानिलकण्ठ स्कुलमा प्रमाणपत्र तह सकेर उनी लन्डनको प्रतिष्ठित लन्डन स्कुल अफ इकोनोमिक्स कलेजमा स्नातक पूरा गरे । त्यसपछि अध्ययनसँगसँगै उनले एसिया र प्रशान्त क्षेत्र हेर्नेगरी युएनडिपीमा काम गरे । अमेरिकाको हाबर्ड युनिभर्सिटीमा स्नातकोत्तर पूरा गरे । 
भियतनाम, कोलम्बो र काठमाडौँ हेर्नेगरी युएनडिपीमा नीति विशेषज्ञका रुपमा काम गरेका उनले अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा विकास अर्थशास्त्रमा पिएचडी गरे । तत्कालीन मुख्य सचिव रामेश्वर खनालको आग्रहमा सन् २०१४ मा उनी वरिष्ठ अर्थशास्त्रीको जागिर छाडेर नेपाल आएका हुन् । त्यसयता उनले राष्ट्रिय योजना आयोग र सर्वाङ्गीण विकास संस्थाको अध्यक्ष पदमा रहेर नीतिनिर्माण, कानुन, जलवायुलगायतका क्षेत्रमा आफ्नो विज्ञता प्रदर्शन गरिरहेका छन् । 
कोभिड–१९ को महामारीका समयमा उनले एसिया र प्रशान्त क्षेत्रका ३६ वटा देश हेर्नेगरी कोरोना प्रभावित देशहरुका लागि युएनडिपीको नीति विशेषज्ञ भएर काम गरे । स्थानीय तहको निर्वाचनमा पनि उनले पार्टी र विभिन्न जिल्लाका उमेदवारका लागि मार्गनिर्देश गरिसकेका छन् । 
विभिन्न समयमा अर्थसरोकारका विषयमा उनले आफ्ना दृष्टिकोण विभिन्न पत्रपत्रिका, अन्तर्राष्ट्रिय जर्नल र टेलिभिजनहरुमा अभिव्यक्त गर्दै आएका छन् ।