मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न एनसिसीका अध्यक्षको आग्रह

एनआरएनको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न एनसिसीका अध्यक्षको आग्रह


काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का अध्यक्षले सङ्घको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह गरेका छन् । एनआरएनएका पूर्वअध्यक्ष शेष घले तथा देवमान हिराचनले संस्था गम्भीर सङ्कटमा परेको भन्दै बोलाएको बैठकमा सहभागी ४५ भन्दा बढी एनसिसी अध्यक्ष तथा पदाधिकारीलाई एनसिसीका अध्यक्षले त्यस्तो आग्रह गरेका हुन् ।  
 
एनसिसी अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीले कोरम नपुगेको मार्च २ मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भङ्ग गर्ने भन्ने निर्णय विधानविपरीत भएकाले त्यसको कुनै कानूनी हैसियत नभएको बताए । उनले एनसिसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियालाई शुल्क नतिरे भङ्ग गर्ने भनी पत्राचार गरेकोमा आपत्ति व्यक्त गरे । “त्यो पत्र फिर्ता लिनुपर्छ । संरक्षक परिषद् भङ्ग गर्ने निर्णय फिर्ता लिनुपर्छ’’, उनले भने ।  
 
सङ्घका पूर्वअध्यक्ष घलेले एनसिसीलाई एकताबद्ध र बलियो बनाउने नै आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै एनसिसीहरुलाई भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिन आग्रह गरे । उनले एनसिसीहरु स्वायत्त र सार्वभौम हुन् भन्दै एनसिसीहरुलाई राम्रो काम जारी राख्न पनि आग्रह गरे । 
 
पूर्वअध्यक्ष हिराचनले सङ्घको वर्तमान स्थितिप्रति अत्यन्तै चिन्तित भएकाले बैठक बोलाएको बताए । “यो कुनै व्यक्तिगत स्वार्थका लागि बनाएको संस्था होइन, संसारभरिका नेपालीको हितका लागि बनाइएको संस्था हो ।  हामीले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्नोस् । कुनै पनि हालतमा यो संस्थालाई बचाउनु पर्छ”, उनले भने । 
 
सङ्घका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले यो सत्य र असत्यबीचको लडाइँ हो भन्दै उच्चस्तरीय समिति र संरक्षक परिषद् चाहिएको बेला खारेज गर्ने भन्ने निर्णयले संस्थालाई विभाजनतर्फ धकेलेको जनाए । “अहिलेको नेतृत्वले गलत काम गर्दै जाने हो भने हामी पनि चुप लागेर बस्न सक्दैनौँ । हामीले पनि केही कदम चाल्नै पर्छ”, आचार्यले भने ।
 
बैठकले पारित गरेको चार बुँदे प्रस्तावमा संरक्षक परिषद् तथा उच्चस्तरीय समितिलाई पूर्ववत्रूपमा काम गर्न आह्वान गरिएको छ । “सङ्घलाई विभाजनको सङ्घारबाट जोगाएर सहमति र सहकार्यको आधारमा दशौँ महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै पहल गर्न पनि यो बैठक प्रमुख संरक्षक डा शेष घले, संरक्षक तथा उच्चस्तरीय समितिलाई आह्वान गर्दछ”, प्रस्तावमा भनिएको छ । 
 
मार्च २, २०२२ मा बसेको आइसीसी बैठकले एनसीसी अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा तथा जापानलाई सदस्यता शुल्क बुझाउन दबाब दिँदै अध्यक्ष कुमार पन्तको नाममा हजारौँ पञ्जीकृत सदस्यलाई सोझै इमेल पठाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एनसीसीहरुलाई दबाब र धम्की दिने काम तत्काल बन्द गर्न बैठकले माग गरेको छ ।
 
उच्चस्तरीय समितिका संयोजक घलेले निर्वाचन समितिले प्रकाशित गरेको मतदाता नामावलीउपर दाबी विरोध गर्नुभएको र उच्चस्तरीय समितिले गरेको छानबिनले सङ्घको दशौँ महाधिवेशनका लागि मताधिकार प्राप्त प्रतिनिधिको सङ्ख्यामा ठूलो फरक देखिएकाले प्रतिनिधि विवाद समाधान गरेर मात्र निर्वाचन कार्यक्रम अगाडि बढाउन बैठकले आह्वान गरेको छ ।
 
बैठकले निर्वाचन समितिले सेल्फी अनिवार्य गर्ने, विधानमै नभएको वैकल्पिक मतदाताको प्रावधान राख्ने जस्ता काम गर्दा निर्वाचनको निष्पक्षतामाथि गम्भीर आशङ्का उत्पन्न भएको भन्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न आइसीसी र निर्वाचन समितिलाई आग्रह गरेको छ । 
 
भर्चुअल माध्यमबाट बसेको बैठकमा बोल्दै एनसीसी जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग (जापान)ले  संस्था कब्जा गर्ने उद्देश्यले गतिविधि भएको आरोप लगाए । एनसिसी अष्ट्रियाका अध्यक्ष भवानी तिवारीले एनसीसीहरु विरुद्ध निकै विभेद भएको बताए ।  
 
सङ्घका पूर्वकोषाध्यक्ष हिक्मत थापाले अहिलेको नेतृत्व संस्था कब्जा गर्ने नियतका साथ अगाडि बढिरहेको धारणा राखे । सङ्घका सचिव आर के शर्माले अहिले भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गरे । युरोपका क्षेत्रीय संयोजक नारायण आचार्य, एनसीसी इटालीका अध्यक्ष छविलाल कँडेल, आइसीसीका मानार्थ सदस्य शनिकुमार ओलीले धारणा राखेका थिए ।