श्रीमद्भगवतगीतामा १८ (अठार) अध्याय र ७०० (सात सय) श्लोक छन् । यो शास्त्र स्वयं श्रीकृष्ण भगवान्को मुखारबिन्दुबाट जन्मेको हो । यसलाई साक्षात् श्रीकृष्णको स्वरुप मानिएको छ । यस अपार एवं गंगामय ग्रन्थका संस्कृत भाषामा लिपिबद्ध प्रत्येक श्लोकहरुमा भगवान् कृष्णको बास छ भन्ने धार्मिक विश्वास छ ।
विश्वका १०० (एक सय) भन्दा पनि बढी भाषाहरुमा अनुवाद भएर प्रकाशित भएको एकमात्र यो श्रीमद्भगवतगीता हो । यस ग्रन्थले दिने सदावहार, अलौकिक एवं ईश्वरीय ज्ञान अहिलेको यस युगमा पनि विश्वविख्यात हुँदै गएको छ । यो ग्रन्थमा यो–यो छ भन्नुभन्दा पनि के–के नहोला र भन्नु सान्दर्भिक होला ।
अद्वैत वेदान्त र भक्ति दर्शनका सर्वश्रेष्ठ चिन्तक स्वामी मधुसूदन (श्रीकृष्ण) ले गीताका अठार अध्यायहरुलाई तीन खण्डमा विभक्त गरेर पहिलो अध्यायदेखि छैटौँ अध्यायसम्मलाई कर्मयोग, सातौँ अध्यायदेखि बाह्रौँं अध्यायसम्मलाई ध्यानयोग या भक्तियोग, तेह्रौँ अध्यायदेखि अठारौँ अध्यायसम्मलाई ज्ञानयोग भनेर निर्देशित गर्नुभएको छ ।
प्रथम खण्डले म ईश्वरको हुँ । द्वितीय खण्डले ईश्वर मेरो हुनुहुन्छ र तृतीय खण्डले अहं ब्रह्मास्मी अर्थात् म नै ब्रह्म वा ईश्वर हुँ भन्ने भावना छर्लङ्ग व्यक्त गर्नुभएको छ ।
गीताचार्य भगवान् श्रीकृष्णले यस शास्त्रको माध्यमद्वारा समन्वयवादी वैदिक दर्शनको मूल मर्मलाई आत्मसात् गरी जे–जे गर्नु भयो त्यो सबै अतिलोकप्रिय र प्रसिद्ध पनि हुँदै गयो । जसका कारणले गर्दाखेरि सहिष्णु र मानवतावादी सनातन हिन्दुधर्म पश्चिमी देशमा समेत झाङ्गिदै, बढ्दै गएर आजको स्थितिमा आइपुग्न सकेको तथ्य हाम्रोसामु छ । यही युगान्तकारी ग्रन्थका कारणले गर्दाखेरि हिन्दुधर्म विश्वव्यापी हुँदै गएको आभास जताततै व्याप्त हुँदै गएको पाइन्छ ।
सनातन वैदिक धर्मको सर्वमान्य र प्रमाणित ग्रन्थ गीता विश्वका जुनसुकै धर्म र सम्प्रदायीहरुका लागि त्यत्ति नै व्यावहारिक र उपयोगीसिद्ध हुँदै जान थालेको छ । जसरी हिन्दुधर्मको यो महान् ग्रन्थ श्रीमद्भगवतगीताले अहिलेको विश्वमा जुन किसिमले आफ्नो लोकप्रियता बढाउँदै जान थालेको छ, यस तथ्यलाई हृदयङ्गम गर्दा केही दशकपछि हिन्दुधर्म विश्वमय हुनसक्ने संकेत यसबाट मिल्न सक्छ । गीतालाई अहिलेसम्मका उपलब्ध कीर्तिहरुमध्ये एक अद्वितीय कीर्ति भनेर विदेशीहरुले वर्णन गर्न थालेका छन् । यसमा निहित सर्वव्यापकत्व र सर्वगुणयुक्त विद्वत्वका बारेमा भनिएको छ–
गीता सुगिता कर्तव्या किममन्यैः शास्त्रविस्तरैः ।
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिःसृ्रता ।।
अर्थात् गीता अध्ययनका लागि अत्यन्य उपयोगी कीर्ति हो । जो ईश्वरका मुखारबिन्दबाट सहसा निस्किएको दिव्य वाणी हो । गीता अध्ययन गर्नका लागि कुनै पनि जात, धर्म, सम्प्रदाय, संस्कारमा आधारित वर्गलाई प्रतिबन्ध छैन । किनकि गीतामा नै श्रीकृष्णले वर्ण विभाजनलाई गुण र कर्मका आधारमा गरेको छु भनेर भन्नुभएको छ ।
चातुर्वर्ण्य मया सृष्टं गुणकर्म विभागशः।
गीताको वास्तविक मर्म बुझ्ने व्यक्ति एकपटक मरेपछि यस संसारमा फेरि फर्केर आउनुपर्ने छैन । ऊ गोलोक (बैकुण्ठ)कै अधिकारी बन्छ भनेर भनिएको छ । यस विषयमा अगाडि भनिएको छ–
गीतागङ्गोदकं पित्वा पुनर्जन्म न विद्यते ।
अर्थात् गीतारुपी गंगाजलको पान गर्ने व्यक्ति पुनः पुनः जन्म–मृत्युको चक्करमा फस्नुपर्दैन । उसका लागि यही जीवन नै यस धरतीको अन्तिम जीवन हुनेछ, अव्यय पद पनि प्राप्त गर्न सकिन्छ भनिएको छ । श्रीकृष्ण भगवान्ले श्रीमद्भगवतगीतामा भएका अध्याय १ (एक) देखि अध्याय ५ (पाँच) सम्मका ५ वटा अध्यायहरु मेरा ५ वटा मुखहरु हुन्, अध्याय ६ (छ) देखि अध्याय १५ (पन्ध्र) सम्मका १० वटा अध्यायहरु मेरा १० वटा भुजाहरु (हातहरु) हुन्, अध्याय १६ (सोह्र) मेरो वक्षस्थल (पेट) हो, अध्याय १७ (सत्र) र अध्याय १८ (अठार) मेरा दुई खुट्टाहरु हुन् भनेर भन्नुभएको छ ।
यसरी १८ (अठार) अध्यायले आवद्ध श्रीमद्भगवतगीतालाई श्रीकृष्ण भगवान्को विराट स्वरुपको सिङ्गो शरीर हो भनेर हिन्दु धर्मशास्त्रहरुमा व्याख्या–वर्णन गरिएको छ । यसकारणले गर्दाखेरि पनि गीतालाई हिन्दु धर्मावलम्बीहरुको अपार, अनमोल एवं साक्षात् भगवान्को स्वरुप रहेको ग्रन्थको रुपमा स्वीकारिँदै आएको अवस्था छ । समस्त हिन्दु धर्मावलम्बीहरुले यस गीतालाई आआफ्नो घरमा राखेर पुज्ने गर्दछन् । अतः गीताको मर्मलाई हामी सबैले आत्मसात् गर्न सक्यौँ भने पक्कै पनि हाम्रो सर्वोपरि कल्याण हुने कुरा निर्विवाद छ । अस्तु !
(भर्जिनिया, अमेरिका)
प्रतिक्रिया