मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कांग्रेसको पत्र र झाँक्रीको घर बँधाइ

कांग्रेसको पत्र र झाँक्रीको घर बँधाइ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उँदो अक्टोबरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्टि्य समिति (आइसिसी) को नयाँ नेतृत्व चयन हुने कार्यक्रम छ । त्यसका लागि संसारका ८० को हाराहारीमा रहेका देशहरूबाट  प्रतिनिधिहरू चयन हुने निर्वाचनहरू धमाधम भैरहेका छन् । 
 
यो चुनावमा आफ्नो पक्षमा पार्न नेपालका राजनीतिक दलहरूको आड, भरोसा, सहयोग, समर्थन खोजिने क्रम नौलो होइन । यो संस्थाको नेतृत्व लिनेले सरकारमा सहभागिता जनाउन पाउने पनि होइन, नत संसदमै सहभागिता पाउने गरेको छ । नत यसको परिणामले सरकार गठन, पुनर्गठनमा कुनै हैसियतनै राख्छ । तर पनि दलहरूले आफू निकट व्यक्ति चुनियोस् भन्ने अपेक्षा विगतदेखिनै राख्ने गरेका छन । 
 
तर यसपटक त्यसमा एकै पटक १० कदम अघि बढेर नेपालको सबैभन्दा लोकतान्त्रिक भनेर चिनिने दलले प्रेषित गरेको एउटा पत्रले अहिले अनुचित हस्तक्षेप भएको, मातृभूमिभन्दा फरक परिवेशमा मिलेर बसेका नेपाली समुदायलाई विभाजित बनाउने काम भएको टिप्पणी उठिरहेको छ । नेपाली कांग्रेसको नेतृत्वलाई समेत गुमराहमा पारेर कोही कसैका लागि गोटी बन्दै त, कोही कसैका लागि सिंगो इतिहास बोकेको दल यसरी सती जानेछ भनेर कसैले नगरेको कल्पना यतिखेर यथार्थतामा परिणत भएको छ । 
 
नेपाली कांग्रेस यतिखेर आँखा नभएकोले हात्ति छोएर अनुमान गरे जस्तो भएको छ । हरेक पहुँचवालाहरू आफ्नो स्वार्थ अनुकूल हिँडाउन सफल छन् । यसैको परिणाम नेता धेरै भएर पनि नेतृत्व गतिलो हुन नसकेको दलमा रूपमा कांग्रेस परिचित हुन पुगेको छ । एनआरएनएको चुनावलाई लिएर कांग्रेसका एक नेताले लेखेको पत्र त्यो भन्दा कुनै पनि रूपबाट फरक होइन र छैन । यस्तै पत्रले गर्दा कांग्रेस प्रति जनजनमा वितृष्णा फैलिन गएको तथ्यलाई नढाँटी बताउन सक्नुपर्छ । 
 
एनआरएनएको नेतृत्व लिन चाहने र आँट गर्नेले प्रवासमा रहेका नेपालीहरूको मन जित्ने काम गर्नुपर्ने हो । तर यहाँ त नेपाली कांग्रेस र कम्युनिष्टको सपोर्ट खोज्ने संस्कार बस्दै गएको छ । लाखौं गैर आवासीय नेपालीहरूको मन जित्नुका साटो कुमारले सुमेरू पर्वत परिक्रमा गर्न हानिए जसरी काठमाडौं पुगेर कांग्रेस र कम्युनिष्टका नेताहरूको दैलोदैलो चाहार्ने, चिठ्ठी लेखाउने परिपाटीको विकास हुँदैछ । यसले एनआरएनलाई कतै भोलीका दिनमा क्याम्पसको स्ववियू चुनावको रूप दिने त होइन ? चिन्ता सबै तिरबाट जाहेर भैरहेको छ । तर बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने कस्ले ? 

मेरो विचारमा कांग्रेसको नाममा कसैलाई भोट लिने मन छ भने आफुलाई कांग्रेसको चरित्रमा ढाल्न सक्नुपर्छ । गाली गलैाज, षडयन्त्र, खुरापात विपीले स्थापना गरेको नेपाली कांग्रेसको स्वभाव र चरित्र होइन । जनता (पब्लिक) मा भिज्ने भन्दा कोठे षडयन्त्र गर्ने प्रथा पनि कांग्रेसी स्वभाव होइन । कसैले बनाएको वा चिनाइ दिएको कांग्रेस बनेर चुनाव जित्ने धृष्टता नगरेकै वेश । ह्विप जारी गरेर भोट लिन सकिन्छ भन्ने चिन्तन पनि त्यागेकै वेश । 

एनआरएनए भनेको के हो र यसको बिधानमा के लेखिएको छ भन्ने कुरा लाई बेवास्ता गरेर पार्टीको नेताहरू मार्फत चिट्ठी लेख्न लगाउने कार्य बन्द गरिएन भने यसले बुढी मरी होइन, काल पल्केको संकेत दिनेछ । 
 
पार्टीका नेताहरुले जनसम्पर्क समितिको नाममा बिदेशमा बस्ने कांग्रेसीलाई उर्दी जारी गर्नुभन्दा पहिले पार्टीको बिधान (नेपाली कांग्रेसको) अनुरूप जनसम्पर्क समितिमा कति सदस्य छन भन्ने तथ्यांक लिनुहोस । बिदेशमा बस्ने कांग्रेसीलाई लेख्नुभन्दा नेपाली कांग्रेसको जिल्ला कमिटीलाई यस्ता चिठी लेख्नु बरू बान्छनीय हुनेछ । घात प्रतिघात, गुट उपगुट, छत्तिसे चौहत्तरे नभनी नेपाली कांग्रेसको उम्मेद्वारलाई जिताउ भनेर लेख्नुपर्थ्यो । महाधिवेशन गर्न पहल गर्नु पर्थ्यो। मुखमा राम राम भन्दै बगलीमा छुरा लिएर हिंडेका कम्युनिष्टहरुले कसरी सरकार चलाए भन्ने कुरा नेपाली जनतालाई देखाउँदै आउँदो चुनावमा बहुमत ल्याउने तिर लाग्नुपर्थ्यो ।
 
माधव नेपाल र प्रचन्ड जस्ताको बुई चढेर भन्दा जनमत द्वारा कांग्रेसको एक्मना सरकार बनाउन लाग्नु पर्थ्यो । भ्रष्टाचार निर्मुल गर्ने कार्यक्रम ल्याउने हो भने विदेशमा रहेका नेपाली कांग्रेस समर्थक र शुभेच्छुकले ताली पिट्ने थिए । 
 
कांग्रेसको चिठ्ठी पढ्दा मलाई उहिल्यै मेरो छिमेकी गाउँमा भएको घटना याद आयो । 
 
दुइ वर्ष अघि जबरजस्ती रूख चढ्दा लडेको एक व्यक्तिको उपचार धामी झाँक्रीबाट गराइयो । शरिरमा लागेको घाउ पाक्दै गएपनि अस्पताल लैजानुको वदला धामी झाँक्रीकै भरमा राखियो । वरपरका गाउँका सबै झाँक्रीले झारफुक गर्दा निको हुनुको वदला झनै विरामी शिथिल हुँदै गए । 
पछि अर्कै जिल्लाबाट झाँक्री झिकाइयो । ती झाँक्रीले ढ्यांग्रो ठोक्दै आफूले घर बाँधेको र विरामीलाई केही नहुने बताए । तर त्यसको सात दिनमा दुइ वर्ष अघि रूखबाट झरेर थला परेका विरामी परमधाम गए । 
 
कांग्रेसको पत्र त्यही झाँक्रीले घर बाँधेको छु भन्नेभन्दा बाहेक केही होइन । विदेशमा बसेका, ज्ञान शीप आर्जन गरेका, विवेक धारण गरेका नेपालीलाई कांग्रेसको पत्रले बाँध्न सक्दैन र मिल्दैन पनि । बाँध्न नसकेपछि के हुन्छ ? त्यही थला परेको विरामीको अवस्थाबाट कांग्रेसले र पत्र लेखाइमाग्नेले पाठ सिक्न जरूरी छ ।
  
(लेखक अमेरिकाबाट एनआरएन आइसीसी सदस्य हुनुहुन्छ)