गुरु दुई ओटा अक्षरले बनेको एक पूर्ण शब्द हो । गु को अर्थ अन्धकार र रु को अर्थ प्रकाश हुन्छ । सिङ्गो शब्द गुरुले अन्धकारमा प्रकाश फैलाउने व्यक्ति भन्ने बुझिन्छ । अन्धकाररुपी अज्ञानतामा प्रकाशरुपी ज्ञान फैलाएर कुनै व्यक्तिलाई शिक्षित बनाउनेवालाको नाम गुरु हो । शास्त्रमा भनिएको छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।
अर्थात् ब्रह्मा, विष्णु, महेश समान यस्ता साक्षात् परब्रह्म गुरुलाई कोटी कोटी नमन गर्दछु । गुरुपूणिमा हरेक वर्षको असार महिनाको शुक्ल पक्ष पूर्णिमा (पूर्ण चन्द्र) तिथिका दिन पर्दछ । मानव जति सबैका पहिला गुरु माता–पिता नै भएकाले प्रथमतः यस दिन आ–आफ्ना माता–पितालाई श्रद्धापूर्वक प्रणाम गरेर आशीर्वाद थापिन्छ ।
माता–पिता नहुनेहरुले आफ्ना दिवंगत मातापिताको अनुहार स्मरण गर्दै आत्मीय सम्मान अर्पण गर्ने गर्दछन् । त्यसपछि आ–आफ्ना गुरुजनहरुलाई परम्पराअनुसार पूजा, स्मरण गरेर यो पर्व मनाइन्छ ।
हिन्दु धर्मग्रन्थका अक्षय सम्पत्ति वेद, पुराण, श्रीमद्भागवत महापुराण, उपनिषद्, महाभारत आदिका रचयिता वेदव्यासको जन्म यसै पूर्णिमाका दिन भएको हो । वेदवयास अथाह ज्ञानका भण्डार भएकाले पनि यिनलाई सबैले गुरुतुल्य सम्मान गर्दछन् । यी भगवान् विष्णुका १७ औँ अंश अवतार भएका हुनाले यिनलाई भगवान् वेदव्यास भनेर पनि भनिन्छ । यिनको जन्मबारे एक रोचक प्रसङ्ग छ ।
महाभारत, हरिवंश र देवी भागवत पुराणका अनुसार सत्यवती एक स्वर्गकी अद्रिका नाम गरेकी अप्सराकी छोरी हुन् । अद्रिकालाई धर्तीमा जाने एक सराप परेको थियो । सो सरापअनुसार यिनको शरीर एक माछाको शरीरमा परिणत भई त्यो माछा यमुना नदीमा रहन्थ्यो ।
चेदी नरेश वशु वनमा सिकार खेल्दै गर्दा थाकेर एक रुखमुनि आराम गरिरहेको बेलामा श्रीमतीलाई सम्झेर वीर्यपात भएछ । उक्त वीर्य किन खेर फाल्ने भन्ठानेर एक पातमा पोको पारी एक गिद्धलाई यो लगेर मेरी श्रीमतीलाई दिनु भनी दिएछन् ।
गिद्धले उक्त वीर्यलाई लिएर जाँदै गर्दा बीच आकाशमा अर्को गिद्धसँग भेट भएछ र ती दुई आपसमा लड्दा वीर्य यमुना नदीमा खसेछ । उक्त वीर्य त्यहाँको सराप परेमघ्येका माछाले खाएछ । त्यो माछा गर्भिणी भइछन् । त्यही माछालाई एक माझीले आफ्नो जालमा पारेछ । माछालाई बाहिर निकालेर पेट चिरी हेर्दा त पेटमा एक छोरो एक छोरी गरी दुई बच्चा देखिएछन् ।
माझी आश्चर्यचकित भई ती दुवै बच्चाहरुलाई चेदी नरेश कहाँ लगेर बुझाएछ । राजा खुसी भई छोराचाहिँलाई स्वीकारेर त्यसलाई राम्रोसँग हुर्काइ बढाइ उसलाई मत्स्यदेशको संस्थापक राजा बनाएछन् । छोरीचाहिँलाई मत्स्यगन्धा नामाकरण गर्दै माझीलाई फिर्ता दिएछन् । माझीले त्यस बच्चालाई राम्रोसँग लालन–पालन गरी हुर्काएर एक अति सुन्दर युवती बनाएछ ।
ऊ काली काली हुनाले सुरूमा उसको नाम काली राखेछ । पछि जब जब कालीले माझीलाई यमुना नदीमा नाउ चलाएर वारिपारि गरी मद्दत गर्न सक्ने भई, तबदेखि कालीको नाम सत्यवादी अर्थात् सत्यवती रहन गयो । त्यस समयपछि नदीमा नाउ चलाएर यात्रुहरुलाई वारिपारि गराउने काम धेरैजसो सत्यवतीले गर्न थालिन् । संयोगवश एकपटक परासर ऋषि नाउबाट नदी पारी जान भनी नदीकिनारमा पुगेछन् ।
नामा चढिसकेपछि सत्यवतीको रुप–डाल देखेर ऋषि मोहित भएर उनका मनमा कामवासना जागेछ । उनले सत्यवतीलाई भनेछन्, ‘तिमीले मेरो अभिलाषा पूरा गरायौ भने तिमीबाट एक यस्तो पुत्रको जन्म हुनेछ, जसको नाम यस धरतीमा जताततै फैलने छ ।’
ऋषिको यो कुरा सुनी सत्यवतीले भनिछन्, ‘दिनको समय वरपरबाट मान्छेले देख्न सक्छन्, त्यसैमा म यस्ती मत्स्यगन्धा छु, कसरी स्वीकार गरुँ तपाईंको आग्रह ?’ यो सुनी ऋषिले भनेछन्, नकारात्मक कुराहरु सबै मैले मिलाउँछु, तिमीले स्वीकार मात्र गर ।’
ऋषिको यस्तो कुरा सुनेपछि सत्यवती मौन भइछन् । त्यसपछि त ऋषिले आफ्नो योगशक्तिले सत्यवतीको मत्स्यगन्धा हटाइदिए । कुहिरोको सृष्टि गरेर त्यहाँको वातावरण ढपक्क ढाकियो । अनि यसै समयमा ऋषिले कामवासनाको प्यास मेटाएछन् । त्यसपछि ऋषि नाउबाट तल ओर्ली नदीमा स्नान गरेर त्यस ठाउँमा कहिल्यै नफर्कने गरी आफ्नो गन्तव्यतिर गएछन् ।
केही समयपछि सत्यवतीले आफ्नो पेट गरुङ्गो महसुस भएर त्यहाँबाट यमुना नदीको आसपासको कल्पी नाम गरेको एक टापुमा गइछन् । त्यसै दिन उनीबाट एक बच्चाको जन्म भएछ । यहाँनेर आश्चर्य के भएछ भने बच्चा जन्मनेबित्तिकै बढेर एक युवक समानको भएछ । त्यसको वर्ण कालो भएकोले नाम कृष्ण काले राखिएछ । कल्पी नामको एक टापुमा जन्मेको हुनाले त्यसको अर्को नाम द्वैपयणा राखिएछ ।
जन्मदाबित्तिकै आमा मेरो आवश्यक पर्दा सम्झिनु, सहयोगका लागि म तत्काल आउनेछु भन्दै उक्त युवक प्रायःश्चित गर्न भनी जङ्गलतिर लागेको र धेरै वर्षपछि वेदव्यास नामले प्रसिद्ध भएको पौराणिक कथन छ ।
वेदव्यासले घोर तपस्या गरेर दैवी कला र शक्ति आर्जन गरेर देवत्व प्राप्त गरे । वेद, उपनिषद्, १८ ओटा पुराणहरु, महाभारत, यिनले लेखे तर पनि यी आफ्ना कीर्तिहरुबाट सन्तुष्ट थिएनन् । एक पटक यी खिन्न भएर सरस्वती नदी किनारमा टोलाएर बसिरहेको बेलामा देवर्षि नारद टुप्लुक्क त्यहीँ पुगेछन् । त्यसै बेला नारदले वेदव्यासलाई त्रिलोकपति श्रीकृष्णको भक्तिमय रचना गर्न सल्लाह दिएछन् । यिनैको प्रेरणाले वेदव्यासले त्यतिबेला चर्तुश्लोकी भागवतको रचना गरे । त्यही भागवतलाई विस्तारित रुपमा वेदव्यासले भन्ने र गणेशले लेख्ने गरी १८००० श्लोकीय भागवत तयार भयो जुन आज तपाईं हामीसामु छ ।
भागवत वाचनमा पारङ्गत सुकदेव स्वामीले आफ्ना पिताले तयार पारेको यही भागवत वाचन गरेर स्रिङ्गी ऋषिबाट आजका सात दिनका दिन तक्षक नागले डसेर मृत्यु हुने श्राप परेका राजा परीक्षितलाई सप्ताहव्यापी भागवत कथाबाट उन्मुक्ति गराएका थिए । त्यसै समयदेखि यस श्रीमद्भागवत महापुराणको महिमा जतासुकै फैलदै आएको छ । श्रीकृष्ण भगवान् द्वापरयुगमा आफ्नो समयावधि सकिएर वैकुण्ठधाम जाँदा धर्म भागवतमा छ भनी गएका थिए ।
त्यसकारणले गर्दा खेरी पनि यस भागवत पुराण हिन्दु समाजमा नियमित रुपले वाचन र श्रवण गर्ने परम्पराको थालनी हुँदै आएको हो । यस पुराणलाई साक्षात् श्रीकृष्ण भगवानको रुप अर्थात् वाङ्गमयका रुपमा पनि चिनिन्छ । वेदव्यासलाई अजय (चिरञ्जीवी) व्यक्तिको रुपमा मानिएको छ । महाभारत युद्धताक यिनी छुटमुट देखिन्थे, आजकल तपमा लीन छन् तर जीवितै छन् भनेर हाम्रा शास्त्रमा उल्लेख गरिएको छ । यिनले लोककल्याणका लागि गरेका कार्यहरु यसरी समेट्न सकिन्छ :
–परापूर्पकालमा अधम र अज्ञानी व्यक्तिहरुलाई वेद पढ्न निषेध गरिएको रहेछ । त्यस्ताको लागि यिनले महाभारतको रचना गरिदिएर अधम र अज्ञानीहरुलाई ज्ञानार्जन अधिकार र अवसरको प्रादुर्भाव गरिदिए ।
–यिनले वेद, पुराणहरु, उपनिषद्, भागवत, महाभारत आदिजस्ता महान् ग्रन्थहरुको रचना गरे जसलाई पूर्वीय दर्शन र हिन्दु धर्मका अक्षय सम्पत्ति मानिन्छ ।
–आमा सत्यवतीको आदेशानुसार यिनले आफ्नो योगबलद्वारा अम्बिकाबाट धृतराष्ट्र, अंबालिकाबाट पाण्डु, दासीबाट विदुरको जन्म गराएर हस्तिनापुरमा कौरव परम्परा थामिदिए अर्थात अपुताली पर्नबाट जोगाए ।
–महारानी गान्धारीलाई १०० पुत्र र एक पुत्रीको बरदान यिनैले दिएका हुन् ।
–अशोस्थामा र अर्जुनले छोडेका ब्रह्मास्त्रहरुलाई आफ्नो योगबलद्वारा एक–आपसमा जुध्नबाट रोकेर यिनले धरतीलाई ठूलो दुर्घटनाबाट जोगाएका थिए ।
–यिनले धृतराष्ट्रलाई पटक–पटक पाण्डुहरुलाई अन्याय नगर्न, महाभारत युद्ध रोक्न, युद्ध भयो भने परिणति भयंकर डरलाग्दो हुनेछ भनी भविष्यवाणी गर्न प्रयास त गरे तर पुत्र र सम्पत्ति मोहका कारण धृतराष्ट्रलाई यिनको अर्ति विषतुल्य हुन गयो । अन्त्यमा युद्ध भएरै छाड्यो, युद्धबाट सर्वनास भयो ।
–कुरुक्षेत्रमा हुने महाभारत युद्धको प्रत्यक्ष वर्णन धृतराष्ट्रलाई सुनाउनका लागि सञ्जयलाई यिनैले आफ्नो योगशक्तिद्वारा दिव्यदृष्टि प्रदान गरेका थिए ।
–धृतराष्ट्र, गान्धारी, कुन्ती, पाण्डवहरु, द्रौपदी यी सबैलाई दिव्यदृष्टि प्रदान गरेर आफ्नो योगबलद्वारा यिनले गङ्गासागरमा महाभारत युद्धमा मरेका आफन्तहरुको मृतात्माको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिलाइदिएर उनीहरुको मनोकांक्षा पूरा गरिदिएका थिए ।
ज्ञानका भण्डार, साक्षात् त्रिलोकपति परब्रह्म परमेश्वर विष्णु भगवान्का अंश अवतार वेदव्यासलाई आजको यस संसारका प्रायः सबैले गुरुको सम्मान दिन्छन् । यी सबैका गुरु हुन योग्य पनि छन् । दैवी, योग, तप, तपस्या, आराधना, दिव्यज्ञान, आदिका खानी (स्रोत) वेदव्यासलाई भगवान् वेदव्यास भनेर पनि भन्ने गरिन्छ ।
अतः यस गुरुपूर्णिमा जस्तो पावन पर्वले सबैको मनस्पटलमा माता–पिता, गुरुवर्ग, सबैप्रति श्रद्धा, सम्मान, अनुराग पैदा गर्न सकोस् भन्दै अन्त्यमा पुरूष र प्रकृति अर्थात जीवन र जगतको सन्धि गराएर जीवात्मालाई उनै परब्रह्म परमात्मा परमेश्वरसँग लगी मिलन गराइदिने वन्दनीय, पूजनीय, ढोगनीय गुरुवर भगवान् वेदव्यासको जन्मदिन गुरुपूर्णिमाको सुखद् घडीमा हार्दिक मंगलमय शुभकामनासहित श्रद्धा–सुमन ।
प्रतिक्रिया