नेपाल

नारायणी नदीमा खतराको विन्दु पार गर्‍यो, पानीको सतह १०.२८ मिटर नाघ्यो

नारायणी नदीमा खतराको विन्दु पार गर्‍यो, पानीको सतह १०.२८ मिटर नाघ्यो


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

चितवन । नारायणी नदीमा इतिहासमै पहिलोपटक पानीको बहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो ।
 
निरन्तरको वर्षाका कारण नारायणीमा पानीको बहाव राति १०ः३० बजेसम्म १०.२८ मिटर पुगेको छ । केन्द्रका अनुसार नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको मानिन्छ ।  
 
गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो, जुन ४४ वर्षयताकै बढी थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १०.९ मिटर पानीको तह पुगेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ । 
 
नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको बहाव बढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 
 
कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको बहाव बढेका  समयमा दाउरा टिप्न र माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ । यस्तै औषधि, खाद्यान्न र महत्त्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि तटीय क्षेत्रवासीलाई आग्रह गरिएको छ ।
 
 नारायणीका कारण भरतपुर महानगरपालिका वडा नं १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ छिर्न शुरु गरेको छ ।
 
नदीमा पानीको बहाव बढेसँगै मंगलबार प्रभावित क्षेत्रमा  महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र  सुरक्षा निकायका प्रमुखले अनुगमन गरेका छन् । नदी बस्तीमा पस्न सक्ने क्षेत्रको अध्ययनसमेत गरिएको छ । 
 
चितवन जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझसम्म भरतपुर–२६ को केही भाग जमिन कटान गर्नेबाहेक अन्य भौतिक तथा मानवीय क्षति नभएको जनाएको छ । प्रशासनका सूचना अधिकारी पौडेलले भने, ‘बाढीको उच्च जोखिम छ, सबै नदी तथा खोलाहरु बढेका छन्, सुरक्षाकर्मी तैनाथ राखेको अवस्था छ, विपद् जोखिम न्यूनीकरणको टोली हाइअलर्टमा राखिएको छ ।’

Advertisement