काठमाडौँ । नेपालमा आइतबार थप ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा १९ हजार ४३९ जनाको पिसिआर परीक्षण तथा २४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा ७३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपालमा थप १४५ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो समय दोस्रो भेरियन्टको कोरोना संक्रमण व्यापक भएसँग मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ५००१ पुगेको छ ।
यसैगरी, पछिल्लो चौबीसघन्टामा ६६४८ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७४.७० प्रतिशत अर्थात् तीन लाख ३९ हजार ७५६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । आइतबारसम्म देशभर एक लाख १० हजार २६३ सक्रिय सङ्क्रमित रहेका छन् भने कुल संक्रमितको संख्या चार लाख ५५ हजार २० पुगेको छ ।
तीमध्ये एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा र ७ हजार ८०८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ७०१ जना रहेका छन् ।








प्रतिक्रिया