मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

के एनआरएनए अमेरिका नेपाली राजनीतिबाट अछुतो रहला ?

के एनआरएनए अमेरिका नेपाली राजनीतिबाट अछुतो रहला ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चेल एनआरएनए अमेरिकामा चुनाव लागेको छ। अध्यक्षका आकांक्षीदेखि अन्य पदहरुमा समेत उम्मेदवारीको घोषणा गर्ने होड चलेको छ।
 
प्रमुख पदहरुमा उम्मेदवारी घोषणा गरेकाहरुको चहलपहल आफ्नो बासस्थानको सहरमा भन्दा अन्य राज्य र सहरहरुमा बढी देखिन थालेको छ। एनआरएनए अमेरिकाको चुनावी गतिविधि सुरु भएपछि अमेरिका भरका नेपाली समुदाय पनि चलायमान देखिन्छ। नेपाली-अमेरिकी सञ्चारकर्मीहरुको सक्रियता पनि निकै बढी देखिएको छ।
 
सामाजिक सञ्जाल फेसबुकमार्फत सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दा ह्युस्टनका सामाजिक अगुवा द्रोण गौतमले उठान गरेका विषयहरुले अहिले अमेरिकी-नेपालीहरुबीच एउटा बहस सुरु भएको छ। गौतमले आफ्नो उम्मेदवारीबारे जानकारी गराउन लेखेको फेसबुक स्ट्याटसले एनआरएनए अमेरिकाको चुनावमा चासो राख्ने उम्मेदवार, मतदाता, अमेरिकी-नेपाली सञ्चारकर्मीको मात्र होइन अमेरिकामा बसिरहेका सयौँ सर्वसाधारणहरुको समेत ध्यानाकर्षण गरेको छ।
 
उनले आफ्नो घोषणामा लेखेका थिए- ‘हामी सबै गैरआवासीय नेपाली हौँ । प्रवासमा हाम्रो मजबुत एकताले नेपाल र नेपालीको हितका लागिसमेत हाम्रो आवाज थप सशक्त हुन सक्छ । हामीलाई नेपाली राजनीति अमेरिकामा गरेरभन्दा अमेरिकी मूलधारको राजनीतिमा नेपालीहरुको सक्रियता र सहभागिताले बढी फाइदा हुन्छ भन्ने मेरो दृढ विश्वास रहँदै आएको छ ।’ उनले उम्मेदवार हुने आसयसँगै सार्वजनिक अपिल गरेका थिए कि अमेरिकामा बसेर नेपाली राजनीति नगरौँ । नेपालमै गरिने जस्तो राजनीति यता गरेर समाज भाँड्ने काम गर्नुभन्दा हाम्रा निजी गतिविधिलाई अमेरिकी मूलधारको राजनीतिसँग नजिक हुने गरी तारतम्य मिलाउन सके हामी र हाम्रा सन्तन्तिलाई मात्र नभएर मातृभूमि नेपाललाई समेत फाइदा हुनेछ।
 
उनको अपिलसँगै आएका स्वतःस्फूर्त प्रतिक्रियाहरुले एनआरएनएको चुनाव ताका सतहमै देखिने नेपाली राजनीतिक पार्टीका भातृसंगठनका गतिविधिहरु निस्तेज होलान् कि अझ सक्रिय होलान् भन्ने चासो पनि उत्तिकै देखिएको छ।
 
एनआरएनए अमेरिकाका गतिविधिहरु नेपाली राजनीतिबाट प्रभावित हुने वा नहुने भन्ने यसको नेतृत्व गर्ने व्यक्तिको कार्यशैली र व्यवहारले धेरै हदसम्म निर्धारण हुने निश्चित छ। यो पटक सतहमै देखिएको राजनीतिक चर्चाकाबिच अध्यक्ष पदका सम्भावित प्रतिस्पर्धीहरुका विचार निकै महत्त्वपूर्ण हुने देखेर यो आलेख तयार पार्नुअघि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दाबी गरेका चारै जना उम्मेदवारहरुलाई एउटा प्रश्न सोधेको थिएँ ।
 
प्रश्न यस्तो थियो— एनआरएनए अमेरिकालाई नेपाली राजनीतिबाट टाढा राखिनुपर्छ भन्ने आवाज उठ्न थालेको छ। कतिपय पदहरुमा उम्मेदवारी घोषणा गरेका युवाहरुले समेत नेपालको राजनीति यता गरेर समाज भाँड्ने काम नगरौँ भन्ने अभियान नै चलाउन सुरु गरेका छन्, यस विषयमा अध्यक्षका उम्मेदवारका हैसियतले तपाईंको के धारणा छ ? चुनाव प्रचारप्रसारका बेला नेपालका राजनीतिक पार्टीका भातृसंगठनहरुको आधिकारिक उम्मेदवार हुँ भन्दै भोट माग्ने गरिएको पाइएको छ, तपाईं आफैँचाहिँ त्यस्तो गतिविधिमा संलग्न हुनुहुन्छ कि हुनुहुन्न ?
 
‘मर्दा र पर्दाको साथी’ भनेर टेक्ससको ड्यालास(फोर्टवर्थ नेपाली समुदायमा चिनिएका कृष्ण लामिछानेले मेरो प्रश्नको सीधा जवाफ दिँदै भने- ‘म लोकतन्त्रवादी हुँ र नेपाली जनसम्पर्क समिति अमेरिकाको एउटा संस्थापक पनि हुँ । जनसम्पर्क बनाउँदा होस् या नेपाली समाज टेक्ससको नेतृत्व गर्दा मेरो उद्देश्य समाजसेवा मात्र रह्यो । राजनीतिक चेत भएकाहरुले नै नेतृत्व गर्ने हो । तर, आफू नेतृत्वमा रहँदा वा नेतृत्वमा जाने प्रयास गर्दा राजनीतिक विभाजन गर्ने वा विचारका आधारमा पक्षपात गरिनुहुन्न भन्ने मेरो प्रष्ट विचार छ।
 
नेपाली राजनीतिबाट नेपाली-अमेरिकी समाज वा संघसंस्थाहरु प्रभावित हुनुहन्न भन्ने मान्यता बोकेकाले अध्यक्ष पदमा निर्वाचित हुन कुनै राजनीतिक आग्रहको पक्षपोषण गर्ने छैन, लामिछानेले दृढताका साथ भने । नेपाली राजनीतिक पार्टीको कुनै भातृसंगठन अमेरिकामा सक्रिय हुने कुरा भएन तसर्थ जो कसैले त्यसको आधिकारिक उम्मेदवार हुँ भनेर भोट माग्ने वा त्यस ढंगले प्रचारप्रसार गर्ने त कुरै भएन, लामिछानेले प्रष्ट्याएका छन् ।
 
यसैगरी अध्यक्ष पदका अर्का प्रत्यासी विस्कन्सिनका तिलक केसीले पनि नेपाली राजनीतिको हुबहु गतिविधि प्रवासमा गरिनु मानसिव नहुने विचार राखेका छन् । ‘नेपालको विमानस्थल छोड्नासाथ हामीले त्यहाँको राजनीति पनि त्यतै छोडेर आउने हो । यहाँ हामी नेपाली मात्र हौँ र हाम्रा सबै गतिविधि नेपालीहरुलाई एकताबद्ध गर्ने र सकेको सहयोग नेपाललाई पनि पुऱ्याउने खालको हुनुपर्छ’, केसीले जोड दिएर भनेका छन् । ‘एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित हुन सकेमा एनआरएनएलाई नेपाली समुदाय र नेपालको अधिकतम हितमा लगाउनेतर्फ अग्रसर हुनेछु’, केसीले प्रतिबद्धता व्यक्त गरेका छन् । एनआरएनए राजनीति प्रवासका नेपाली समुदायका लागि गर्ने हो । नेपाली राजनीतिक पार्टीका कुनै संगठनका प्रतिनिधि भनेर भोट माग्ने कार्य जायज हुनै सक्दैन, केसीले भनेका छन्।
 
टेक्ससबाटै अध्यक्षका अर्का प्रत्यासी एनआरएनए अमेरिकाका वर्तमान वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेको विचारमा एनआरएनएले राजनीति त गर्नैपर्छ तर त्यो राजनीति हामी एनआरएनको हित र प्रगतिका लागि हुनुपर्छ । ‘हाम्रो राजनीतिक सक्रियता अझै पुगेको छैन । हाम्रो राजनीतिक पहुँच जति धेरै भयो त्यति बढी हामीले नेपाल सरकारसँग एनआरएनका सन्दर्भमा नीतिगत र कानुनी व्यवस्थाहरु सुधार गराउन भूमिका खेल्न सक्छौँ’, डा. बन्जाडेको तर्क छ । एनआरएनएको आन्तरिक कार्यसञ्चालन र निर्णय प्रक्रियाहरुमा हामीले राजनीति गरेका छैनौँ। नेपालकै राजनीतिक पार्टीले गर्ने जस्तो राजनीति अमेरिकामा गरेर केही फाइदा पनि छैन र त्यो ढंगको राजनीति यता कसैले गर्छ जस्तो लाग्दैन, डा. बन्जाडेले भने । नेतृत्वमा आउने व्यक्तिले व्यक्तिगत लाभ-हानीका लागि अनावश्यक राजनीतिक पहुँच र संलग्नता देखाउन छाड्ने हो भने एनआरएनएलाई राजनीति गऱ्यो भन्ने आरोप नै लाग्दैन, डा. बन्जाडेको निचोड छ।
 
अध्यक्षका अर्का प्रत्यासी विस्कन्सिन राज्यमा बसोवास गरिरहेका बुद्धि सुवेदीको प्रतिक्रिया पाउन सकिएन । प्रतिक्रियाका लागि उनलाई पठाइएको प्रश्नको जवाफमा उनले आफू नेपालमा भएको जानकारी गराएका थिए ।
 
अध्यक्ष पदका उम्मेदवारहरुका प्रतिक्रियाहरुले आगामी एनआरएनए चुनावी गतिविधि नेपाली राजनीतिको झझल्को दिने खालको नहुनु पर्ने हो। एनआरएनए अमेरिकाको हालसम्म प्रमाणित सदस्य संख्या २० हजार ७०० भन्दा बढी छ। आइसिसीको उच्चस्तरीय छानबिन समितिले कुनै फरक विवरणसहित सदस्य संख्यामा तलमाथि पारेन भने आगामी एनआरएमए अमेरिका सबभन्दा धेरै सदस्य संख्या रहेको राष्ट्रिय समन्वय समिति हुने निश्चित छ।
 
गैरआवासीय नेपालीहरुका स्थापित साझा एजेण्डा कार्यान्वयन गर्न नेतृत्व दिन सक्ने र नेपाली समुदायमा परिचित उम्मेदवारहरुले जित्ने परिस्थिति बन्दै गरेको आगामी एनआरएनए अमेरिकाको चुनाव नेपाली समाज भाँड्ने होइन, जोड्ने प्रयासका लागि हुनु पर्दछ। र, मुख्य कुरा एनआरएनएलाई नेपाली शैलीको राजनीतिबाट टाढा राखिनु पर्दछ।