मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रजातान्त्रिक आन्दोलनका अगुवा एकनाथ रानाभाटको निधन

प्रजातान्त्रिक आन्दोलनका अगुवा एकनाथ रानाभाटको निधन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका नेता प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा पूर्वसांसद् एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा निधन भएको छ । 
 
उच्च रक्तचापका कारण मस्तिष्कघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 
 
विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा जन्मिएका रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गरिसकेका छन् । उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । 
 
उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेसम्म उनको निवास रनपा १४ स्थित पिठुवाबाट शवयात्रा सुरु हुने नेपाली कांग्रेस चितवनले जनाएको छ । शवयात्रा कांग्रेस पार्टी कार्यालय, कमलनगरमा पुगेर ८ः३० बजे श्रद्धाञ्जली अर्पण गरी देवघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । 
 
नेपाली कांग्रेस चितवनका नेता पूर्वसांसद् एकनाथ रानाभाटको उपचारको क्रममा भएको निधनले अत्यन्तै मर्माहत भएको चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले शोक व्यक्त गरेका छन् । उनको निधनले नेपाली कांग्रेसले एक निष्ठावान् नेता गुमाएको भन्दै नेता श्रेष्ठले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । 
 
यसैबीच, नेपाली कांग्रेसका नेता प्रजातान्त्रिक आन्दोलनका अगुवा  एवं पूर्व सांसद् रानाभाटको निधनले असल प्रजातान्त्रिक योद्धा गुमाएको भन्दै नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले शोक प्रकट गरेका छन् । 
 
उनले भनेका छन्, ‘उहाँको निधनले एक सच्चा र इमान्दार योद्धा गुमाएको अनुभूति भएको छ । उहाँको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ 
 
यसैगरी, नेपाली कांग्रेस रत्ननगर नगरसमितिका सभापति रुपनराज घिमिरेले कांग्रेसका धरोहर रानाभाटको निधनले आफू र सिंगो नगरसमिति स्तब्ध भएको बताएका छन् । उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । 
 
यसैबीच, हिमालय खबर डटकमका प्रबन्ध सम्पादक एवं अमेरिका नेपाल पत्रकार संघ (नेजा)का कार्यवाहक अध्यक्ष विकासराज न्यौपानले आदरणीय अग्रज दाजु रानाभाटको निधनले आफू स्तव्ध भएको बताएका छन् ।