मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

श्वेतसेनाको श्वेत आतंक !

श्वेतसेनाको श्वेत आतंक !

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोनाल्ड ट्रम्प, राष्ट्रपति, अमेरिका ।

डोनाल्ड ट्रम्प, राष्ट्रपति, अमेरिका ।

ट्रम्पज्यू, नमस्कार । तपाईँ अब एक दिन पनि अमेरिकाको सेतो घरमा बस्न लायक हुनुहुन्न । हिजो पनि हुनुहुन्थेन तर चार वर्ष अघि चिनेर अथवा नचिनेर जनताले तपाईँलाई यति विशाल देशको सर्वोच्च पदको बागडोर सुम्पे । तपाईँ सुध्रनुभएन । तपाईँ कुकुरप्रेमी पनि हैन र कुकुरको पुच्छरको कथा तपाईँलाई शायदै था होला ।
 
अस्ति बुधवार अमेरिकाको संसद भवनमा विभिन्न ५० राज्यबाट जनताले चुनेका प्रतिनिधिको प्रमाणिकरणका समयमा हुल हुज्जतसाथ जनमतको वर्खिलाप जुन धावा बोलियो, त्यो निरंकुश र तानाशाही प्रवृत्ति हो । यो जनमतको अवहेलना पनि हो । त्यसको सूत्रधार तपाईँ हो र त्यो अमेरिकी इतिहासको एउटा पन्नामा कलंकका रुपमा युग युगसम्म दर्ज भइरहनेछ । त्यसैले आजै देशवासीका नाममा संवोधन गर्दै अमेरिकी जनताले मतदानद्वारा गरेको, दिएको अभिमतलाई सहर्ष स्वीकार गरेर उक्त वर्वर घटनाको जिम्मेवारी लिएर माफी माग्नु र ११ दिन अगावै सेतो घरको मोह त्यागेर राष्ट्रपति पदबाट राजीनामा दिई ट्रम्प टावरतिर बसाइ सर्नु प्रजातन्त्रमा विश्वास गर्ने तमाम अमेरिकी नागरिकको माग हो र यो नै श्रेयस्कर बाटो पनि हो । 
 
अमेरिकाका पूर्ववर्ती महान् स्वप्नद्रष्टाहरुले कोरेको पथबाट तपाईँ च्यूत हुनुभएको यो भन्दा अरु कुनै प्रमाण खोजिरहनुपर्छ र ? अमेरिकाको साख र इज्जत यो घटनाले धूलिसात भएको छ । समयले तपाईँलाई पर्खदैन न त तपाईले चुकाउनुभएको यत्रो अक्षम्य अपराधमा अमेरिकी सांसदहरुले उन्मुक्ति नै दिनेछन् । उनीहरुले महाभियोगको अस्त्र प्रहार गरेर तपाईलाई सेतो घरबाट घोक्रेठ्याक लगाउनेछन् । त्यसबेला तपार्इँका आफ्ना भनिएका मानिसहरु वरपर हुने छैनन् । किनकि उनीहरु तपाईलाई छोडेर आफ्नो दुनो सोझ्याउनतिर लागिसक्नेछन् । 
 
हुनत चार वर्ष अघि तपाई सेतो घरमा प्रवेश गर्दा पनि तपाईको आनीबानी, छलछाम र कस्पिरेसी थ्योरीका बारेमा जानकार अमेरिकीहरुलाई तपाईले यो विशाल देशलाई सही गन्तव्यमा पुर्याउनुहुन्न भन्ने लख काटेका थिए, अन्ततः त्यो सही नै सावित भयो । त्यसैको परिणामस्वरुप तपाईलाई गत नोभेम्वर ३ मा अमेरिकीहरुले सजाय दिए र अरु चार वर्ष सेतो घरमा बस्ने अधिकारबाट वञ्चित गरे । यो नै प्रजातन्त्रको सुन्दर पक्ष पनि हो । तर तपाईले यसलाई अनेकन् अपुष्ट प्रमाण दिएर धाँधलीको संज्ञा दिइरहनुभयो, अमेरिकी जनताले रोजेको प्रजातन्त्रको खिल्ली उडाइरहनुभयो, त्यो वास्तवमा हरुवा गोरुको छेरुवा दाउ मात्र थियो ।
 
वर्वर र विध्वंशक आक्रमणकारीहरु किम जोंग उन, सी जिनपिंग वा पुटिनका लाल सेना थिएनन् । यिनीहरु त श्वेत सेना थिए, ट्रम्पका । तपाईँकै उक्साहटमा भएको यो श्वेत सेनाको श्वेत आतंक थियो । यो धुन्धुकारी चरित्र थियो । त्यहाँ आदिम कालीन मानवीय हिंसाको प्रतिरुप झल्किएको थियो । जुन अमेरिकाजस्तो संसारलाई मानवाधिकार, प्रजातन्त्र र कानुनी राज्यको वकालत गर्ने र आफूलाई यसको मसिहा ठान्ने राष्ट्रका लागि अत्यन्तै नसुहाउने र लज्जाले शिर निहुराउने प्रकृतिको थियो ।
 
ट्रम्पज्यू, तपाई अब त्यो सेतो घरमा बस्न केबल ११ दिन बाँकी छ । यो ११ दिनमा पोटोम्याक नदीमा धेरै पानी बग्नेछ । विगतमा राष्ट्रपतिहरुले नवागन्तुक राष्ट्रपतिप्रति गरेका प्रजातान्त्रिक र उदार चरित्रको हृदयंगम गर्दै आगन्तुक राष्ट्रपतिलाई ससम्मान सेतो घरको तालाचाबी जिम्मा दिनुहोस् र वहिर्गमनको बाटो अवलम्वन गर्नुहोस् । यसमा नै अमेरिकी जनताको सर्वोत्तम हित हुनेछ । अन्यथा बलवान समयका अगाडि तपाईको चेष्टा केवल आत्मप्रवंजना मात्र हुनेछ । समयले आफ्नो कोर्स त पूरा गर्छ गर्छ । तस्बिर: सामाजिक संजाल