मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

टीकाको साइत विवाद (भिडियो सहित)

टीकाको साइत विवाद (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । टेक्ससको नेपाली समुदायमा यस पटक पनि बडादशैंको टीकाको साइत विवादित बनेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाली समुदायहरू रहेको विभिन्न देशहरूमा बडादशैंको टीका लगाउने साइत निर्धारण गर्दा अमेरिकामा नेपालभन्दा अघिल्लो दिन अर्थात् अक्टोबर २५ आइतबार तोकिएपछि र ड्यालासस्थित नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी) ले पञ्चाङ्गा समितिको निर्णय मुताविक दशैंको टीका लगाउनुपर्ने निर्णय गरेपछि दशैं विवादित बनेको हो ।

अमेरिकामा नेपाली भाषी समुदायको ठूलो बसोबास रहेको टेक्ससको ड्यालासस्थित पशुपति तथा बुद्ध मन्दिरका मूल पूजारीले डा. शेखर पण्डितले आफ्नो घरमा दशैंको टीका अक्टुबर २६ सोमबार लगाइने बताउनुभयो । हिमालयखबरसँगको कुराकानीमानले अमेरिकामा २५ तारिक आइतबार टीका खुल्ने कारणले अाफूले सोही दिन लगाउने र परिवारलाइ भने २६ तारिक सोमबार मात्र लगाइदिने उल्लेख गर्नुभयो ।

भारतको भन्दा नेपालको दशैं भिन्न रुपमा मनाउने मात्र नभएर मौलिक पनि भएको उल्लेख गर्दै उहाँले आफ्ना बाबुआमालगायतका अग्रजबाट टीका लगाएपछि मात्र टीका लगाउने र मूल घरमा टीका उठाएपछि मात्र परिवारका अन्य सदस्यले टीका लगाउने परम्परा रहेको स्मरण गरे ।

दशैं विवादले समाजलाई विभाजित हुने चन्ता बढेको नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र, पशुपति तथा बुद्ध मन्दिर तथा नेपाली पाठशालाका संस्थापक तथा सामाजिक अगुवा डा. मुरली अधिकारीको धारणा छ । दशैं मान्यजनबाट आशीर्वाद र टीका थाप्ने पर्व भएको उल्लेख गर्दै उहाँले आफ्नी आमाले मूलघरमा दशैंको टीका उठाएपछि मात्र आमाको आशीर्वादसहित अक्टुवर २६ सोमबार आफूले टीका लगाउने बताउनुभयो ।

नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष कृष्ण लामिछाने दशैंजस्तो पर्वलाई विवादित बनाएर गरिमा घटाउन खोजिएको अर्थमा दशैंको टीका विवादलाई लिनुहुन्छ । दशैंजस्ता हाम्रा मौलिक धार्मिक सांस्कृतिक पर्वलाई कुनै पक्षबाट पनि विवादित बनाउन नहुने उहाँले बताउनुभयो । हाम्रा मौलिक धार्मिक तथा सांस्कृतिक पर्वलाई विवादित बनाएर निहित स्वार्थसिद्ध गर्न नेपालदेखि नै केही व्यक्तिहरु लागेका र उनीहरुकै योजनाअनुसार यस्ता विवाद आउन थालेको उहाँको टिप्पणी छ । ‘त्यसैले म र मेरो परिवारका सबै सदस्यले विगतमा जस्तै परम्परागत रुपमा नेपालमा टीका लगाएपछि अर्थात् सोमबार दशैंको टीका लगाउँछौं’, उहाँले स्पष्ट पार्नुभयो ।

एनअारएनका सल्लाहकार, समाजसेवी तथा व्यवसायी हरिबोल भण्डारी दशैंको टीका लगाउने दिनलाई लिएर अन्योल सिर्जना गराउन खोजे पनि आफू अन्योलमा नपरेको बताउनुहुन्छ । ‘नेपालमा आमाले टीका लगाएपछि मात्र म टीका लगाउँछु । त्यसैले दशैंको टीका लगाउने दिनको बारेमा ममा अन्योलमा छैन’ उहाँले सुनाउनुभयो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)की केन्द्रीय सदस्य यमुना भट्टराई दशैं विवादले आफूलाई पनि दुःखी बनाएको गुनासो गर्नुहुन्छ । आफ्नो घर–माइती दुवैतिरका मातापिता नभएका कारण २५ तारिक आइतबार टीका लगाउने उहाँले सोच बनानुभएको छ ।

‘म दशैंजस्तो पर्व विवादित बनाइएकोमा अत्यन्त दुःखी छु । समाजका अगुवा र गुरुहरुले समाज विभाजन हुन दिनुहुन्न । त्यसका लागि सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ’, उहाँले भन्नुभयो ।  

ड्यालासस्थित नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी)का अध्यक्ष सुरेशचन्द्र पोखरेल अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिकामा आइतबार मात्र दशमी तिथि रहेको र सोही दिन टीका लगाउनुपर्ने निर्णय गरेबमोजिम आइतबार दशैंको टीका लगाउनु उपयुक्त हुने बताउनुभएको छ । ‘हामीले मान्ने भनेको पञ्चाङ्ग निर्णायक समितिलाइ हो । समितिले गरेको निर्णय बमोजिम २५ तारिकमात्र अमेरिकामा दशमी तिथि छ र टीका त्यही दिन लगाउन सकिन्छ भनेर हामीले भनेको हो । दशैंको टीका पूर्णिमासम्म लगाउन सकिन्छ‘ पोखरेलले भन्नुभयो ।  

उहाँले थप प्रष्ट पार्दै भन्नुभयो–‘हामी धर्मशास्त्र र ज्योतिषशास्त्रका आधारमा आइतबार दशैंको टीकाको साइत गर्नुपर्छ भन्ने मान्यता राख्छौं । तर पाँच दिनसम्म दशैको टीका लगाउने परम्परा भएकाले आफ्नो अनुकुलका अन्य दिन पनि आस्थाका आधारमा टीका लगाउन सबैजना स्वतन्त्र छन् ।‘

बहुसंख्यक सोमबारको पक्षमाः 

ड्यालासस्थित एनसीएससीले दशैंको टीका आइतबार लगाउनुपर्ने निर्णयसहित सोही बमोजिम घटस्थापना गरे पनि अमेरिकाका अन्य राज्य र सहरमा अवस्थित नेपाली मन्दिर र सामुदायिक केन्द्रहरुले सोमबार बडादशैंको टीका लगाउने बताएका छन् ।

बोस्टनस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरका पुजारी रमेश पराजुली आफ्नो मन्दिरले अक्टुबर २६ सोमबार टीका लगाउने निर्णय गरेर त्यसैअनुसार तयारी गरेको बताउनुहुन्छ । पशुपति–बुद्ध मन्दिर मेरिल्यान्डका मूल पुजारी खिलराज पण्डित पनि सोमबार नै टीका लगाउने निर्णय गरिएको हुन्छ । ‘मन्दिर सञ्चालक समितिले दशैंको टीका सोमबार नै लगाउने सर्वसम्मत निर्णय गरेको छ’, उहाँले भन्नुभयो ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) कार्यसमिति सदस्य अरुण रुपाखेती आफ्नो अनुकुल दशैंको टीका लगाउन सबै स्वतन्त्र भएको मान्यता राख्नुहुन्छ । आफ्नो संस्थाले सोमबार टीका लगाउने निर्णय गरेको बताउनुभयो ।

क्यालिफोर्नियाको लसएन्जलसस्थित पशुपतिनाथ मन्दिरका मूल पुजारी पं. जीवन बराल पनि सोमबार नै आफ्नो मन्दिरले टीका लगाउने निर्णय गरेको बताउनुहुन्छ ।

नेप्लिज एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष डा. विष्णु नेपाल ह्युस्टनमा दशैं विवाद हालसम्म नदेखिएको जानकारी दिँदै मान्यजनबाट नेपालमा दशैंको टीका लगाएपछि मात्र अमेरिकामा दशैंको टीका लगाउनु व्यावहारिक र उपयुक्त हुने भएकाले सोमबार नै यहाँस्थित मन्दिर र ह्युस्टनको नेपाली समुदायले टीका लगाउने उहाँले बताउनुभयो । ‘हाम्रो मन्दिरले पनि सोमबार नै दशैंको टीका लगाउने निर्णय गरेको छ’, उहाँले भन्नुभयो ।  

युलेस प्रोजेक्टमा असर पर्नेमा चिन्ताः

यसैबीच, युलेसमा बन्ने भनिएको मन्दिर तथा सामुदायिक केन्द्र निर्माणका लागि रकम संकलनमा असर पर्न सक्ने आँकलन गर्न थालिएको छ ।  

ड्यालासस्थित नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी)ले अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको निर्णयको हवाला दिँदै बडादशैं जस्तो ठूलो र सर्वस्वीकार्य पर्वलाई विवादित बनाएका कारण युलेस प्रोजेक्टका लागि प्रतिबद्धता जनाएको रकम रकम दिन आफूहरु अनिच्छुक रहेको केही चन्दादाताले हिमालय खबरलाई बताएकाछन् ।

यसो हुनुमा यात पञ्चाङ्ग निर्णायक समितिले स्पष्ट पार्न नसकेको, यात चन्दादाताहरूले नतिर्नका लागि वहाना खोजेको रूपमा धेरैले लिएका छन् ।

टीकाको साइत विवादलाइ हेरेर बन्न लागेको सामुदायीक भवनमा अहसयोग गर्छु, व्यक्त गरे अनुसार सहयोग अब दिन्न भन्नु चाँही जायज नहुने धारणा सामाजीक अभियन्ताहरूले व्यक्त गरेका छन् ।

‘यसले मन्दिर या परियोजनालाइ असर पर्छ भन्ने मलाइ लाग्दैन । हामीले दशमीको दिन २५ तारिकमात्र रहेछ भनेर पञ्चाङ्ग निर्णायक समितिको निर्णयलाइ नेपाली समुदायसम्म पुर्याएको हो । धार्मिक या सांस्कृतिक हिसाबले समुदायका सदस्यहरू अनुकुलतामा टीका लगाउन स्वतन्त्र हुनुहुन्छ‘ नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी) बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालले भन्नुभयो । मन्दिर र सामुदायिक भवनको निर्माण प्रकृया धेरै अघि बढिसकेकोले सबैबाट पूर्ववत सहयोग, सद्भाव र सकृयताको उहाँले अपेक्षा गर्नुभएको छ ।