मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य


टेनेसी । अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ ।

राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा टेलिभिजन बहस भएको हो । 

बहसमा बाइडेनले ट्रम्प प्रशासन र त्यसको कार्यशैलीप्रति चर्को आलोचना र टिप्पणी गरेका थिए । उनले विशेष गरेर कोरोना महामारी व्यवस्थापन गर्न तथा जनता र अर्थतन्त्र जोगाउन नसकेको आरोप ट्रम्पमाथि लगाएका थिए । 

जवाफमा राष्ट्रपति ट्रम्पले बाइडेनको आरोपको खण्डन गर्दै आफ्नो कार्यकाल अत्यन्त सफल भएको दावी गरेका थिए । उनले कोरोनाभाइरसका विरुद्धमा लगाइने खोप केही हप्तामा आउने र महामारी पूर्णरुपमा नियन्त्रण हुने जिकिर गरेका थिए ।  

तर, चाँडै नै खोप आएर महामारी नियन्त्रण हुने ट्रम्पको दाबीलाई भने बाइडेनले अविश्वास गर्दै उनले भनेजस्तो जादु नहुने टिप्पणी गरेका थिए । बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरु कोरोनाभाइरस सँगसगै बाँच्न सक्ने भइसकेको बताएका थिए ।  

ट्रम्पको भनाइले महामारीविरुद्ध लड्न वा महामारीको सामना गर्न वा व्यवस्थापन गर्न ट्रम्प प्रशासनसँग कुनै योजना नरहेको पुष्टि भएको पनि बाइडेनको तर्क थियो । 

“उहाँको कुरा सुन्ने हो र मान्ने हो भने उहाँले कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि जादु गर्ने बाहेक अरु केही देखिएन,” बाइडेनले भने । 

टेनेसी राज्यको नेस्भिलमा भएको उक्त बहस कोरोना विरूद्धको लडाइँ, अमेरिकी परिवार, जातियता, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वलगायतका विषयमा केन्द्रित भएको थियो । 

बहसको सुरुमा यसअघिको पहिलो राष्ट्रपतीय बहसपछि पनि अमेरिकामा थप १६ हजार अमेरिकीहरुले कोरोनाका कारण जीवन गुमाएको तथ्यांक प्रस्तुत गरिएको थियो । त्यसपछि नै ट्रम्पको प्रस्तुति खल्लो, हल्का र अपत्यारिलो भएको टिप्पणी गरिएको छ । 

अर्का प्रतिस्पर्धी बाइडेनलाई भने कोरोनाभाइरस उत्पत्ति गराएको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनेर सोधिएको थियो ।

जवाफमा बाइडेनले व्यापार र अर्थतन्त्रलाई जोडेर व्याख्या गर्दै चीनले अन्तर्राष्ट्रिय नियमअनुसार चलोस् भन्ने आफ्नो चाहना हुने बताएका थिए ।  

पहिलो राष्ट्रपतीय बहसभन्दा यस पटकको बहस बढी व्यवस्थित र अमेरिकी मूल मुद्दाहरुमा केन्द्रित भएको थियो । अमेरिकामा राष्ट्रपतिका दुई आकाँक्षीलाई सँगै उभ्याएर प्रश्न सोध्ने प्रचलन छ, र यो निकै लोकप्रिय हुने गरेको छ । एएफपी/एएनआई