काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पिसिआर परीक्षणका क्रममा १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । जसमा १७ हजार ८७० जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, मकवानपुर, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सर्लाही, बारा, डोटी, बाजुरा, कैलाली, कन्चनपुर, पाल्पा, पश्चिम नवलपरासी, दाङ, बाँके, दैलेख, अछाम र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् । सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा मोरङकी ४३ वर्षकी महिला, नवलपरासीकी ३७ वर्षीया महिला र ५२ वर्षीया महिला, पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौँका ४१, ५९ र ६५ वर्षका तीन पुरुष, तथा रुपन्देहीका ४० वर्षीय रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८० जना पुगेको छ । जसमा २०१ पुरुष र ७९ महिला रहेका छन् ।
शनिबार काठमाडौँ उपत्यकामा ४०८ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ७९०० पुगेको छ । जसमा काठमाडौँका ६३३४, ललितपुरका ८८७ र भक्तपुरका ६७९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ७ लाख ५७ हजार ९६३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ५६१ जना क्वारेन्टाइनमा र १७ हजार ८७० जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार ८६६ र होम आइसोसनमा ८ हजार ४ जना रहेका छन् ।
त्यस्तै, शनिबार एकै दिन कोरोना संक्रमण निको भई १५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ । जुन कुल संक्रमितको ६० प्रतिशत हो ।
प्रतिक्रिया