नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताएका छन् ।
नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले क्रियाशील सदस्यमात्रै भएर निर्वाचन नजितिने ठोकुवा गरे ।
उनले प्रश्न गर्दै भने, “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् । तर, भोट भने जम्मा २०० कसरी खस्छ ?”
अब के यसरी नै पार्टी चल्न सक्छ ? प्रश्न गर्दै उनले भने, “क्रियाशील सदस्यहरुको विषयमा महासमिति बैठकबाटै प्रस्ताव पारित गरी पुनःविचार गर्नुपर्ने बेला आएको छ ।”
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै उनले भने, “अब क्रियाशील सदस्यहरुको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ । र, त्यसको तयारी पनि भइरहेको छ ।”
पार्टीले क्रियाशील सदस्यहरुको जानकारी राख्ने र उनीहरुको योगदानअनुसारको जिम्मेवारी दिने गरी अगाडि बढ्ने उनले स्पष्ट पारे ।
वर्तमान समयमा काँग्रेसमा एकता हुनु जरुरी रहेको महामन्त्री कोइरालाको भनाइ थियो । काँग्रेसभित्र एकता भने भने वाम गठबन्धन पनि डराउने बताउँदै उनले काँग्रेसभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको उल्ल्ेख गरे ।
कार्यक्रममा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल टे«ड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष दानबहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए ।
सोही अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापक, दीर्घसेवी शिक्षकहरुलाई सम्मानसमेत गरिएको थियो ।







प्रतिक्रिया