काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सरकारले मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट डिआईजीको वरियताका एक नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनाललाई २६ औं महानिरीक्षक बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिने मनस्थिति बनाएका थिए ।
खरेलले फेसबुकमार्फत् लेखेका छन्- ‘नवनियुक्त प्रहरी महानिरीक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै २९ वर्षे सेवा अवधिबाट अलगिने निर्णय गर्दछु । साथै, नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल ।’
सरकारले सहब्याचका खनाललाई आईजीपीमा नियुक्त गरेसँगै असन्तुष्ट बनेका खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो ।
नवनियुक्त प्रहरी महानिरीक्षक खनालले खरेललाई राजीनामा नदिन आग्रह गर्दै मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । तर, खरेलले बाहिरै रहेर प्रहरीलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।
तस्बिर : रमेश खरेलको फेसबुकबाट ।
प्रतिक्रिया