चितवनका पुराना कम्युनिष्ट नेता जागृतप्रसाद (जेपी) भेटवालको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवालको बुधबार बिहान उपचारको क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो ।मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता भेटवाललाई अवस्था गम्भीर भएपछि केही दिनअघि बीर अस्पतालको आईसियूमा सारिएको थियो ।
क्यान्सरको अन्तिम स्टेजमा रहेको भेटवालको शरीरका सबै अंगमा क्यान्सर रोग फैलिसकेको थियो । भेटवाललाई ०६२ सालदेखि क्यान्सर रोगले छोइसकेको थियो ।
०६६ सालमा राम्रोसँग उपचार गरेपछि क्यान्सर भएको पुष्टि भएको थियो । नेता भेटवाललाई सुरूमा प्रोस्टेटको क्यान्सर देखिएको थियो । नेता भेटवाल डेढ महिनाअघि काठमाडौंमा नै उपचार गराइरहेका थिए ।
पूर्वी चितवनको राप्ती ५ भण्डाराका नेता भेटवाल ०४८ र ०५१ को आम निर्वाचनमा चितवन क्षेत्र नं बाट सांसदमा निर्वाचित भएका थिए ।
उनी निडर, प्रष्ट वक्ता र जनताको विश्वास जितेका नेता हुन् । एमाले पूर्व जिल्ला अध्यक्ष जे एन थपलियाका अनुसार ०४७ सालमा र ०५० साल राप्तीमा ठूलो बाढी आएका बेला उनी साइकल चढेर घटनास्थलमा उद्धार गर्न पुगेका थिए । साइकल चढेर उनी बाढीबाट जनतालाई जोगाउन माइकिङ गर्दै हिँडे । पछि उनी सांसद हुँदा राप्तीबाट पूर्वी चितवनलाई जोगाउन लोथरमा ड्याम निर्माण गरे ।
‘पूर्वी चितवनलाई सुरक्षित बनाउन भेटवालको ठूलो योगदान छ’ प्रदेश नम्बर ३ का सांसद कृष्ण खनालले भने, ‘भेटवाल जननेता हुन् । जसले साइकल चढेर जनताको दुःखसुखमा साथ दिए । उनले लोथरमा ड्याम निर्माण नगरेको भए पूर्वी चितवन अहिले रहने या नरहने कुनै निश्चित नै थिएन ।’
सांसद खनालका अनुसार पञ्चायतविरुद्ध पहिलोपटक झण्डा बोक्ने नेता हुन् भेटवाल । जसले जनतालाई नजिकबाट हर्न सके र सर्वहारा जीवन जिएर विकास गरे । सुखबोध कहिल्यै गरेनन् । ‘नयाँ पदमपुर भेटवालले नै बसालेका हुन्’ खनालले भने, ‘साइकल पेलेर भए पनि उनी सेवामा हाजिर हुन्थे र सक्दो सहयोग गर्थे ।’
‘राप्ती ४ भण्डाराका स्थायी बासिन्दा भेटवाल पञ्चायती व्यवस्थाविरुद्ध चितवनबाट झन्डा बोक्ने पहिलो नेता हुन्’ खनालले भने, ‘आज पनि पञ्चायती व्यवस्था रहेको भए उनी जेलमै मर्थे होलान् ।’ पञ्चायती व्यवस्थाको विरुद्ध आन्दोलन गर्दा उनलाई तत्कालीन पञ्चायती व्यवस्थाले ३३ वर्षको जेल जीवन सुनाएको थियो । बहुदल आएपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनको मुद्दा फिर्ता भयो ।
एमालेको केन्द्रीय लेखा आयोगका सदस्य, १० वर्षसम्म अञ्चल सदस्य, क्षेत्रीय इन्चार्ज, राज्य व्यवस्था विभागको सदस्य र सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएका भेटवालले २०४० सालबाट कुनै न कुनै पदीय जिम्मेवारीमा रहेर काम गरेका छन् ।
पछिल्लो समय क्यान्सरसँग लड्दा पनि उनी सक्रिय सामाजिक सेवामा लागिरहेका थिए । ‘पदमा बस्दा मात्र होइन, ०५६ सालको चुनावमा भेटवालले हारेका हुन् तर पनि विकास गर्न उनी कहिल्यै हारेनन्’ नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले भने, ‘बहुदलका नायक आज गुमाउनुपर्दा ज्यादै पीडा महसुुस भएको छ । प्रेरणाका स्रोत अस्ताउँदा जिल्ला शोकमा डुबेको छ ।’
काभ्रे जन्मथलो भएका भेटवाल २०२० सालमा चितवनको भण्डारा झरेका हुन् । उनको श्रीमती २ छोरी र १ छोरा छन् । उनको पार्थिव शरीरमा एमालेका शीर्ष नेताहरुले पार्टीको झण्डा ओढाएका थिए । भेटवालको बुधबारै आर्यघाटमा अन्त्येष्टि गरिएको एमालेका जिल्ला उपाध्यक्ष खड्काले जानकारी दिए ।
नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले बुधबार शोक वक्तव्य जारी गरी भेटवालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकलाई शक्तिमा बदल्न आह्वान गरेका छन् । नेता भेटवालको निधनले चितवन स्तब्ध बनेको छ ।







प्रतिक्रिया