मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकनायक स्व गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा

लोकनायक स्व गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा


काठमाडौँ । संघीय गणतन्त्र स्थापनामा लोकनायक गिरिजाप्रसाद कोइरालाको योगदानलाई बिर्सन नहुने बुधबार यहाँ आयोजित कार्यक्रममा वक्ताले विचार व्यक्त गरेका छन् । 
 
०६२–६३ सालको जनआन्दोलनका कमान्डर एवं पूर्वप्रधानमन्त्री स्व कोइरालाको आठौँ स्मृति दिवसमा आज आयोजित कार्यक्रममा कोइरालाले नेपालमा गणतन्त्र स्थापना र स्थायी शान्ति कायम गर्न नेतृत्वदायी र साहसिक निर्णय गरेको स्मरण गरे । 
 
‘जिपी कोइराला अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक गणतन्त्र निर्माणमा गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानन्त्री माधवकुमार नेपालले गणतन्त्र ल्याउन स्व कोइराला सहमत नभएको भए यति चाँडो गणतन्त्र आउँदैनथ्यो र हामीले धेरै मूल्य चुकाउनु पर्दथ्यो भने ।  
 
काँग्रेस र कम्युनिष्ट मिल्यो भने अग्रगमन सम्भव छ र गणतन्त्रविना अर्को उपाय छैन भन्ने निष्कर्षमा पुगेपछि स्व कोइराला राजाविरुद्ध उभिएको नेकपाएमालेका नेता नेपालले चर्चा गरे ।  
 
नेता नेपालले नेपाली जनताले चाहेजस्तो आर्थिक रुपान्तरण अझै नभएको बताउँदै अब कुनै बहानाबाजी गरेर विकासका काम अवरुद्ध गर्न नहुने बताए । उनले देशमा राजनीतिक परिवर्तन भए पनि अझै मूल परिवर्तन हुन बाँकी रहेकाले विद्यमान जटिलतालाई पार गर्दै आर्थिक विकास गर्नुपर्ने बताए । 
 
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको प्रारम्भिक दिन नै राम्रो देखिएन भन्दै अहंकारवादले देश अगाडि बढ्न नसक्ने भएकाले हामी सबै सजग हुनुपर्छ भने । 
 
नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली स्व प्रम कोइरालाले सबैभन्दा कम शक्ति प्रयोग गरेको प्रसंग उनले उल्लेख गरे । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको महारोगलाई नेपालबाट अन्त्य गर्न नसकेसम्म देश समृद्ध हुन नसक्ने धारणा व्यक्त गरे । 
 
पूर्वअर्थमन्त्री डा रामशरण महतले उर्जावान् व्यक्तित्व स्व कोइराला जोखिमपूर्ण काम गर्न कहिल्यै नडराउने व्यक्ति हो भन्दै माओवादीलाई १२ बुँदे सम्झौतामार्फत शान्ति प्रक्रियामा ल्याएको चर्चा गरे । 
 
केन्द्रका सल्लाहकार एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले स्व कोइरालाले राजा बोक्न सक्दिन भनेको दिनदेखि नेपालमा गणतान्त्रिक आन्दोलन शुरु भएको चर्चा गरे । 
 
नेवि संघका पूर्वअध्यक्ष गुरुराज घिमिरे, नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलगायतका वक्ताले स्व कोइरालाको विविध व्यक्तित्वमाथि प्रकाश पारेको सो कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीले गरेका थिए । 
 
स्व कोइरालाको सम्झनामा दीप प्रज्वलन
 
यसैबीच, कार्यवाहक राष्ट्राध्यक्षको भूमिकासमेत निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आत्माको चीर शान्तिको कामना गर्दै बुधबार बेलुकी रत्नपार्कस्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरियो । 
 
स्वर्गीय कोइरालाको आठौँ स्मृति दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ केन्द्रीय प्राविधिक समिति र पूर्वाञ्चल विश्वविद्यालय समितिको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो । 
 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि स्व कोइरालाको नेतृत्वमा भएको विसं २०६२ / ०६३ को जनआन्दोलन निर्णायक बनेको स्मरण गरे । 
 
शान्ति स्थापनाका लागि कोइरालाले वृद्ध अवस्थामा पनि युवाले जस्तै भूमिका निर्वाह गरेको उनको भनाइ थियो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कोइरालाले शुरु गरेको सहमति, सहकार्य र एकताको राजनीति संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अझै आवश्यक रहेको बताए ।
 
कोइरालाको विसं २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो । 

शेयर गर्नुहोस:

0
Shares