चितवन । पछिल्लो समय सिरियामा भएको नरसंहारप्रति विश्वको ध्यान केन्द्रित भएको छ । हवाई आक्रमण गरेर निर्दोष बालबालिकाको हत्या गरेको भन्दै विश्वभरका न्यायप्रेमी नागरिकले भत्र्सना गरेका छन् ।
घटना भएको खबर पाएदेखि नेपाली जनताले पनि विरोध जनाइरहेका छन् । चितवनमा पनि लगातार विरोधका कार्यक्रम भइरहेका छन् । विभिन्न संघसंस्थाहरूले विगत दुईतीन दिनदेखि विभिन्न तरिकाबाट विरोध जनाउँदै घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
चितवनको क्रियाशील साहित्यिक संस्था ‘अक्षर समूह’ ले ‘युद्ध, सिरिया र कविता’ शीर्षकमा सिरियामा भइरहेको नरसंहार र मानवअधिकार उल्लंघनविरूद्ध कविता वाचन कार्यक्रम गरेर घटनाप्रति खेद प्रकट गरेको छ ।
कार्यक्रममा विभिन्न उमेर समूहका साहित्यकारहरूले गीत, गजल तथा कवितामार्फत दुःख व्यक्त गर्दै न्यायप्रेमी जनताले आक्रमण गर्ने देशलाई एकएक गरेर हिसाब लिने चुनौती नै दिए ।
कवि खनाल रेवतीरमणले भने, ‘सिरियामा यति ठूलो हिंसा भइरहँदा पनि विश्वभरका मानवअधिकारकर्मीहरू किन चुपचाप बसिरहेका ?’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति लक्षित कविता सुनाएर उनले आक्रोश पोखे ।
गजल मञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डितले हिंसा र विध्वंसका ठेकेदारहरूले गरेको अमानवीय कार्यप्रति कडारूपमा विरोध जनाउँदै भने आफ्नो कविताका हरफहरू यसरी सुनाए –
तिमीहरूलाई थाहै होला
जिउँदो बच्चाहरूलाई त
गिद्धले पनि आक्रमण गर्दैैन
अब भन
म तिमीहरूलाई कुन नामले सम्बोधन गरूँ ?
कवि रञ्जना लिम्बुले पनि सिरियाको घटनाले विश्वलाई नै रूवाएको भन्दै घटनाविरूद्ध कविता सुनाइन् । ‘म खासै कविता लेख्ने मान्छे त होइन । तर, यो घटनाले मेरो मनलाई रोक्नै सकेन,’ उनले भनिन् । घटनाले निर्दोष बालबालिकाले ज्यान गुमाउनु परेको भन्दै आक्रमणकारीहरू विरूद्ध ‘कविता आतंक’ फैलाउने उनले चेतावनी दिइन् । साम्राज्यवाद विरूद्ध कविताको मिसाइल बनाएर रूस र अमेरिकाको छातीमा बर्साउने ठूलो चाहना रहेको उनको कवितामार्फत प्रष्ट हुन्थ्यो ।
‘हे आक्रमणकारी हो तिम्रा पनि बाउ आमा होलान्, बालबच्चा होलान् । मानवतालाई नै बिर्सेर बम बर्साउँदा आफ्नै बुबा आमा र बालबच्चाको अलिकति पनि याद आएन तिम्लाई ?’ चितवनका पुराना गीतकार प्रेमविनोद नन्दनले भने ।
राष्ट्र संघ र मानवअधिकारकर्मीहरू देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै उनीहअरूलाई रमिते बनेर नबस्न आग्रह गरे । ‘यति ठूलो हिंसा हुँदा पनि लाज पचाएर बसेको भन्दै मानवअधिकारकर्मीहरूप्रति प्रश्न तेस्र्याए ।
कार्यक्रममा कवि तथा लेखक भूपिन खड्का, ईश्वर कँडेल, एलबी क्षेत्री, लेखराम सापकोटा, विजय विश्वकर्मा, धनराज गिरी, लकाश पौडेल, बालकृष्ण थपलियालगायतका कवि तथा साहित्यकारहरूले सिरियामा भएको नरसंहारप्रति केन्द्रित कविता सुनाएका थिए ।







प्रतिक्रिया