चितवन । होली पर्वलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन गाडी बन्द नहुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले होली पर्वलाई लक्षित गरी बिहीबार र शुक्रबार सडक खुल्ला रहने जनाएको छ ।
सडक विस्तारको काम तीव्र गतिमा गर्ने भन्दै हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो ।
आँपटारी–दासढुंगा, दासढुंगा–सिमलताल र सिमलताल–मुग्लिन गरी तीन खण्डमा बाँडेर सडक विस्तार कार्य भइरहेको छ । कुल ३२.२ किलोमिटर लम्वाईको सो सडकखण्डमा २५ प्रतिशत काम सम्पन्न हुन बाँकी रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।
आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार अन्तिमपटक थपिएको सो आयोजनाको म्याद पूरा भएको छ । निर्माण कम्पनीहरुले समयमा काम सम्पन्न गर्न नसकेपछि पुनः तीन महिना समय थप गरी सडक विस्तार कार्यलाई तीव्रता दिइने उनले बताए ।







प्रतिक्रिया