हिमालय खबर संवाददाता
पोखरा । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको दुर्घटनामा परी मृत्यु भएपछि पोखरा पृथ्वीनारायण क्याम्पस गेटअगाडि तनाव उत्पन्न भएको छ ।
प्रहरीले आन्दोलनकारी विद्यार्थीलाई तितरवितर पार्न ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ता तथा अन्य विद्यार्थीहरूले बिहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यार्थीले पोखरा १ बगर क्षेत्रमा बिहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन । पिएन क्याम्पसअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केहीबेर मुठभेडसमेत भएको थियो । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ ।
दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरूले पोखराका २५ भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चाबी पनि नियन्त्रणमा लिएका छन् । सोमबार साँझ पिएन क्याम्पस गेटअगाडि नगरबसले ठक्कर दिँदा ढकालको मृत्यु भएको थियो ।
घटनाको छानबिन र तत्कालै क्षतिपूर्तिको व्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरूले बताएका छन् ।







प्रतिक्रिया